काठमाडौं । गायक प्रकाश सपूतको ‘बोल माया’ गीतको एउटा अन्तरा छ,- ‘धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा।’
गीतमा भने जस्तै आफ्नो आर्थिक अवस्था सुधार्न, सुन्दर भविष्यको खोजी र परिवारलाई सुखी राख्ने अनेकौं सपना बोकी नपालबाट विश्वका विभिन्न देशमा पुगेका युवा-युवती काठको बाकसमा फर्किरहेका छन् ।
आज (९ साउन) मलेसियाबाट २४ वटा शव र तीन वटा अस्तु नेपाल आयो । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ वटा शव र तीन वटा अस्तु आइपुग्दा २४ जना बुढा बाबु र आमाको बुढेसकालको साहारा भाचिएको थियो । तीन जनाको त मलेसियामै अन्त्यष्टी भएको थियो । अन्तिम पटक अनुहार हेर्नसम्म पाएनन् परिवारले।
विदेश गएर छोराले धन कमाएर आउँछ भन्ने आशमा बसेका बृद्ध बाबु बुढेसकालमा छोराको शव आफ्नो काधमा हाल्न बाध्य भए ।
रेमिट्यान्सले धानेको हाम्रो देशको अर्थतन्त्र अचेल निकै महङ्गो हुँदै गइरहेको छ । देशमा रोजगारीको अवसर नभएका कारण नै लाखौं युवाहरु विदेशिन बाध्य छन् ।
मलेसियाबाट २४ वटा शव र तीन वटा अस्तु बोकेर आएका नेपाल एअरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले आफ्नो सामाजिक सञ्जालमा दु:ख व्यक्त गरेका छन् ।
क्याप्टेन लामाले विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दु:ख , पीडा अरु कुनै पनि उडान गर्दा नहुने बताएका छन्।
“जुलाई १७ अर्थात गएको शनिवार १२ वटा, बुधबार एउटा र आज २४ वटा गरी एक हप्ताभित्रै ३७ वटा शव र ३ वटा अस्तु विदेशबाट नेपाल ल्याएको र अझै १८ वटा लिन जानुपर्नेछ। ” उनले दुख व्यक्त गर्दै भनेका छन् ।
सरकारको लागि तथ्याँकमा मात्रै सीमित भए पनि मृतक व्यक्तिका आश्रित परिवारको सर्वस्व गुमेको भन्दै क्याप्टेन लामाले देशमा राजनीतिक खिचातानी छाडेर युवाहरुलाई श्रम र पसिना बेच्न विदेश जानुपर्ने बाध्यता हटाउन दल र नेतासँग आग्रह पनि गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया