फलेवास, पर्वत, २२ असोज ।यहाँको एक विकट गाउँका कृषकले मौरीपालन व्यवसायबाट वार्षिक रु २५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।पर्वत सदरमुकाम कुश्मासँगै जोडिएको बलेवास्थित अमलाचौर–३ का डिलबहादुर खत्रीले व्यावसायिक मौरीपालनबाट सो आम्दानी गर्न सफल भएका हुन् ।विगत डेढ दशकदेखि मौरीपालन व्यवसाय गर्दै आएका खत्रीको परिवारमा अहिले झण्डै १०० घार मौरी रहेका छन् । अमलाचौरमै बलेवा मौरीपालन उद्योग खोलेर व्यवसाय शुरु गरेको खत्री परिवारले मौरीका घार, खाली घार र मह बिक्री गरेर वार्षिक रु २५ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको हो ।आफ्नै घर वरिपरिको पाँच रोपनी क्षेत्रफलमा व्यवसाय गरेका खत्रीले यसलाई अझै बढाउने योजना बनाएका छन् । उनी धौलागिरि अञ्चलकै नमूना मौरीपालक कृषकका रुपमा चिनिएका छन ।उक्त उद्योगबाट वार्षिकरुपमा झण्डै साढे छ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्ने गर्दछन् । अहिले प्रतिकिलोग्राम महको मूल्य रु ७५० छ ।त्यस्तै मौरीसहितको घारलाई रु सात हजार र प्रति खाली घार रु तीन हजारका दरले बिक्री हुने गरेका छन् । वार्षिकरुपमा १०० देखि २०० वटासम्म बिक्री गर्ने गरेको खत्रीका छोरा जीवनबाबु खत्रीले जानकारी दिए । वैदेशिक रोजगारीका लागि कतार पुगेका खत्री पनि गाउँमा जति कमाइ गर्न नसकेपछि पुनः घरमै फर्केर बाबुकै पेशा अँगालेर बसेका छन ।दश जनाको संख्यामा रहेको खत्रीको परिवार अहिले पूरै मौरीपालन व्यवसायमा सक्रिय छन् । मौरीको हेरचाह गर्ने, घार निर्माण गर्ने, दाना खुवाउने र मह काढ्ने कामले उनीहरुलाई भ्याइनभ्याइ छ । घरमै बसेर वार्षिक रु २५ लाखसम्म आम्दानी हुन्छ, किन विदेश जानुप¥यो जीवनबाबु भन्छन, “अब यही व्यवसायलाई आधुनिकीरण गरेर अझै बिस्तार गर्ने योजना छ ।”सो व्यवसायका लागि जिल्ला कृषि विकास कार्यालयले समेत विभिन्न समयमा तालीम तथा प्राविधिक सहयोग र घारसमेत दिने गरेको उनले बताए । “आफ्नो उद्योगमा उत्पादित मह र घार गाउँमै तथा कुश्माबजार, बागलुङ बजार र पोखरासम्म पनि जाने गरेको जीवनबाबुले जानकारी दिए ।“उत्पादन भएदेखि बजारको कुनै समस्या छैन”– उनले भने, “ग्रामीण क्षेत्रका फूल र जडीबुटी खाएर बनेको मह भएकाले स्वस्थ्यकर र स्वादिलो छन् ।” प्रत्येक तीन/तीन महिनामा मह काढ्ने गरेका छन् । जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको खत्रीले जानकारी दिए । एकपटकमा एकदेखि डेढ क्विन्टलसम्म मह उत्पादन हुने गरेको उनले बताए ।परिश्रम गर्ने हो भने जुनसुकै व्यवसायबाट पनि सफलता प्राप्त गर्न सकिँदो रहेछ २७ वर्षीय जीवनबाबु खत्री भन्छन, “यो व्यवसायबाट हाम्रो परिवार निकै सन्तुष्ट बनेको छ ।” उक्त व्यवसायबाट भएको कमाइले विभिन्न शहरबजारमा घरघडेरीसमेत जोडिसकेको पनि उनले बताए ।मौरीमात्र हैन उक्त परिवारले गाउँमै माछापालनसमेत गरेको छ । दुई वटा पोखरीमा कमन, नैनी र ग्रास जातका माछापालन गरेका छन् ।त्यस्तै व्यावसायिक तरकारी र गोँलभेडा खेती पनि गर्दै आएको खत्री परिवारले विकट गाउँका बासिन्दालाई सेवा दिने उद्देश्यले खाद्यान्न कुटनीपिसानी मिलसमेत सञ्चालन गर्दै आएको छ ।आफ्नो परिवारमात्र नभई यो व्यवसायमा अन्य चार जनालाई रोजगारीसमेत दिएको खत्री अहिले जिल्लाकै नमूना कृषक बन्न सफल भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया