इरानमा ५.३ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते

इरान, १८ चैत – इरानको केरमानशाह प्रान्तमा आइतबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।भूकम्पमा परी दर्जनौँ मानिस घाइते भएकोे प्रारम्भिक जानकारी इरानका वरिष्ठ स्वास्थ्य अधिकारीले तस्निम न्यूज एजेन्सीसँग बताउनुभएको छ । “भूकम्पमा परी २३ जना घाइते भएका र यो तथ्याङ्क प्रारम्भिक भएकाले घाइतेको सङ्ख्यामा थपवृद्धि हुनसक्ने अनुमान गरिएको छ,” वरिष्ठ चिकित्सक मजियार तहमासेवीले बताउनुभयो ।दिउसो १ बजेर ३५ मिनेटको समयमा गएको भूकम्पको केन्द्रविन्दु सारपोल जहाव शहरमा रहेको इरानले जनाएको छ ।भूकम्प ३४.४२१ डिग्री उत्तरी अक्षांश र ४५.८०७ डिग्री पूर्वी देशान्तरमा ८ किलोमिटरको गहिराइमा गएको जनाइएको छ ।गत नोभेम्बरमा इरानमा ७.३ म्याग्निच्युडको भूकम्प जाँदा ५३० जनाको मृत्यु भएको थियो भने आठ हजार व्यक्ति घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?