काठमाडौं । ‘मसँग मानिसहरू गुणगान मात्र गाउँछन् । मेरो कमजोरी कसले देखाइदिन्छ ? त्यसैले पत्रिकाका साथी तपाईंहरूले मेरो सभ्य आलोचना गरिदिनुपर्यो । जसले गर्दा म गलत बाटो हिँड्न नसकूँ’
लोकतन्त्रपछिका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले दिएको अभिव्यक्ति हो यो । राजनीतिसँगै सञ्चार क्षेत्रलाई राम्रोसँग बुझेका वीपी सञ्चार क्षेत्रले तिखो आलोचना गरिदिएमा आफू गलत बाटो हिँड्न नपाउनेमा विश्वास गर्दथे । तर भर्खरै सत्ताबाट बर्हिगमित केपी शर्मा ओलीले जहिले पनि सञ्चार क्षेत्रलाई तुच्छ शब्द प्रयोग गरिरहे । आफूविरुद्ध उभिने मिडियादेखि व्यक्तिसम्मलाई ठेगान लगाउने उनको स्वभाव रह्यो ।
ओली प्रधानमन्त्री भएको बेला बालुवाटारमा आयोजित एक कार्यक्रममा आफूले धेरै काम गरे पनि सञ्चार क्षेत्रले प्रचारप्रसार नगरिदिएको आरोप लगाए । राम्रो काम गर्ने सरकारको गुणगान गाउन सम्पादकको मुटु नै नभएको उनको भनाइ थियो । उनले भनेका थिए, ‘हामीले काम गरेका छौं । त्यस्ता कामहरूको प्रशसांमा लेख्ने, प्रसारण गर्ने त्यस्ता कामको प्रशंसा गर्ने मुटु भएका सम्पादक नै छैनन् ।’ ओलीका सञ्चार विज्ञले त सरकारविरुद्ध लेख्ने अनलाइन पोर्टललाई कब्जामा लिएर समाचार नै हटाइदिएको आरोप समेत लागेको थियो ।
ओलीले आफूविरुद्ध उभिने मिडियादेखि व्यक्तिसम्मलाई भित्तामा पर्याउन कुनै कसर बाँकी राखेनन् । ओलीको यो स्कुलिङ पछिल्लो पुस्तामा महेश बस्नेत, गोकुल बाँस्कोटा र सूर्य थापालगायतले अनुशरण गरेको देखिन्छ । जसको पछिल्लो उदाहरण युथफोर्सको ‘उपत्यका कमान्ड फोर्स’ गठन गर्ने सिलसिलालाई लिन सकिन्छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महेश बस्नेतले विपक्षीलाई गालीगलौज गर्दै ठेगान लगाउने चेतावनी दिएका थिए । बौद्धिक क्षेत्र, मिडिया सानो रहेको र तिनलाई सम्झाउन युथफोर्सले बन्दुक बोकिरहन नपर्ने बस्नेतको भनाइ थियो । ‘हाम्राविरुद्ध बौद्धिक अराजकतावादी शक्तिहरू, केही सीमित मिसन बोकेका मिडियाहरू सानो संख्यामा लागि परेका छन् । यो संख्यालाई सम्झाउन युथफोर्सले कुनै बन्दुक बोक्नुपर्दैन । कुनै लडाकु र जुझारु खालका अभियान चलाउनु पर्दैन ।’
उनले यस्ता पात्रलाई ठेगान लगाउन ‘युथफोर्स’ को मुठी कसेको लोगो नै काफी भएको बताए । उनले थपेका थिए, ‘तपाईंहरूले युथफोर्सको मुठी कसेको चित्र देख्नुभएको छ ? हात फिँजाउँदा यो हात सलाम हुन्छ भने मुठी कस्दा यो हात बैरीहरूको निमित्त बम भएर निस्किन सक्छ । त्यो भएर युथफोर्सलाई मुठी नै काफी छ भन्न चाहन्छु ।’ साथै उनले बुद्धिजीवीका नाममा अराजकता बढेको भन्दै युथफोर्सले ठेगान लगाइदिने चेतावनी समेत दिए । त्यसका लागि युथफोर्सले ‘साइबर सेना’सँग मिलेर काम गर्ने बस्नेतको भनाइ थियो ।
त्यस्तै नेता बस्नेतले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई परिआएमा हात गोडाले समेत सम्झाउन पछि नपर्ने धम्की थिए । उनले चेतावनी दिँदै भनेका थिए, ‘पार्टी नेताले आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनुभन्दा केपी कमरेडलाई बडामहाराजको संज्ञा दिनुभयो । मुखले सम्झाउँछौँ । मलाई लाग्छ मुखले सम्झाउँदै काफी हुन्छ । यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाहीँ हातगोडाले पनि सम्झाउनुपर्ने हुन सक्छ ।’
ओलीले आफ्नै पार्टीभित्र असन्तुष्टि राख्ने वा विरोधीलाई तह लगाउन वा तर्साउन साइबर सेना, युथ फोर्स, आईटी आर्मीजस्ता संगठन विस्तार गरिरहे । त्यतिले मात्र नपुग्ने ठानेर राज्यका शक्तिशाली संयन्त्रलाई आफू मातहतमा ल्याए । व्यक्तिगत गोपनीयता सजिलै हात पार्न सकिने विधेयक अगाडि बढाए । लोकतन्त्रमा आस्था राख्ने वा राखे जस्तो गर्ने ओली किन आफैले माओवादीलाई विगतमा गिज्याउँदै आएको शैली अपनाइरहेका छन् ? १० वर्षे सशस्त्र द्वन्द्वबाट आएको माओवादी आफूलाई लोकतान्त्रिक पार्टी बनाउन भरमार प्रयास गरिरहेको छ । तर मुलुककै प्रजातान्त्रिक पार्टीको दुहाइ दिने एमालेका अध्यक्ष ओली माओवादीको विगतलाई किन पच्छ्याइरहेका छन् । ओलीले किन यस्तो प्रवृत्ति देखाइरहेका होलान् भन्ने यतिबेला आम चासोको विषय बनेको छ । ओलीसँग लामो समय सङ्गत गरेका एमालेका पूर्वनेता राधाकृष्ण मैनाली जसरी पनि सत्ता कब्जा गर्ने हुटहुटी हुँदा यस्तो अवस्था आएको बताउँछन् । उनले भने, ‘जसरी पनि सत्तामा जाने हुटहुटीका कारण यस्तो प्रवृति मौलाएको हो ।’
नेकपा एमालेको नेपाल पक्षका नेता मेटमणि चौधरी पछिल्लोे समय यस्ता अभिव्यक्ति आउनुमा सत्तामा बसेर रसपान गरिरहेकाहरूले एक्कासि छोड्नुपर्दाको पीडाका रूपमा लिन्छन् ।
उनले भने, ‘सत्ताको रसपान गरिरहेको बेला सर्वोच्च अदालतले खोसिदिएको छ । जसका कारण उहाँहरू होसमा हुनुहुन्न । होसमा नभएपछि वा कमजोर भएपछि बर्बराउने हो । पछिल्लो समय उहाँहरूबाट जुन अभिव्यक्तिहरू आइरहेका छन् । त्यसलाई म बर्बहराहटका रूपमा मात्र लिन्छु ।’
ओलीको राजनीतिक जीवनका तीन आयाम
पहिले र अहिलेको ओलीमा आमूल परिवर्तन आएको उनीसँग लामो समय सहकार्य गर्दै आएका सहकर्मी बताउँछन् । नेता मैनाली ओलीको राजनीतिक जीवनलाई तीन तहबाट हेर्नुपर्नेमा जोड दिन्छन् । नेता मैनाली भन्छन्–‘एमाले अध्यक्ष एवं निर्वतमान अध्यक्ष ओलीको राजनीतिक जीवनमा तीन आयाम देखिन्छ । झापा आन्दोलनताकाको ओली, महाकाली सन्धिभन्दा अगाडिका ओली र अहिलेका ओली ।’
झापा आन्दोलनतिरका ओली सामान्य कार्यकर्ता मात्रै थिए । त्यति बेलाका ओली कामभन्दा कुरा बढी गर्ने तर गर्दै नगरेको काम पनि गरेजस्तै गरेर विश्वास दिलाउन सक्ने क्षमता राख्दथे । त्यति बेलाका उनका सहकर्मीहरू उनलाई कामभन्दा पनि कुरा मात्रै गर्ने छट्टु भन्दै आलोचना गर्नेगरेको मैनाली सम्झन्छन् ।
त्यस्तै अर्का पुराना कम्युनिस्ट नेता प्रदीप नेपाल ओलीलाई आफ्नो अडानमा रहने पात्रको रूपमा लिन्छन् । आफूले ओलीसँग लामो समयदेखि सहकार्य गर्दै आएको भन्दै नेता नेपालले समयको मागअनुसार व्यवहार देखाउन सक्ने खुबी ओलीमा भएको बताउँछन् । नेता नेपालले भने, ‘मैले अध्यक्ष ओलीसँग लामो समयदेखि सहकार्य गर्न पाएँ । उहाँको अडानमा कायम रहने र परिस्थितिअनुसार चल्नसक्ने खुबीका कारण आजको ठाउँमा हुनुुहुन्छ ।’
महाकाली सन्धिपछाडि ओलीको राजनीतिक जीवनमा छलाङ आएको पाइन्छ । महाकाली सन्धि पास गर्नका लागि तत्कालीन संविधानअनुसार दुई तिहाइ मत आवश्यक पथ्र्यो । त्यतिबेला कांग्रेसको सरकार थियो । कांग्रेसको कमजोर अंकगणितका कारण एमालेको साथ र सहयोगबिना महाकाली सन्धि पास हुन सम्भव थिएन । एमालेमा त्यतिबेला माधवकुमार नेपालले नेतृत्व गरिरहेका थिए । महाकाली सन्धिको प्रारूप तयार पार्ने भूमिकामा नै नेपाल थिए । जुन पछि खुल्दै आएको छ । महाकाली सन्धि एमालेको बहुमत संख्याले अस्वीकार गर्ने निश्चित नै थियो । तर नेता नेपालको चतु¥याइँका कारण ओलीलाई साथ लिन सफल भए । ओलीको साथ र सहयोगका कारण एमालेको केन्द्रीय कमिटीमा एक मत बढी ल्याएर महाकाली सन्धि पास भएको थियो ।
महाकाली सन्धि पास गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेसँगै ओलीको भारतीय नेतासँग गहिरो सम्बन्ध बनेको बताइन्छ । साथै महाकालीजस्तो राष्ट्रघाती सन्धि भएको भन्दै देशभित्र चर्को आलोचना भइरहँदा ओलीलाई नेता तथा कार्यकर्ताले चिन्ने मौका पाएका थिए । यही अवस्थामा ओलीले पार्टीभित्र गुट सञ्चालन गर्नका लागि आवश्यक आर्थिक स्रोत संकलन गर्न सफल भएको दाबी गरिन्छ ।
दासढुंगा प्रकरणपछि ओलीलाई सचिव बनाउने चर्चा चलेको थियो । तर त्यतिबेला ओली आफैँले सचिव बन्ने हैसियत बनिनसकेको आकलन गर्दै अस्वीकार गरेका थिए । माधवकुमार नेपाल महासचिव बनेको समयमा ओलीले संकलन गरेको आर्थिक शक्तिको प्रयोग गरेर पार्टीभित्र गुट बनाउन सफल बनेका थिए । उक्त सफलताकै कारण बुटवलमा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा ओली झिनो मतान्तरले अध्यक्ष पदमा विजयी भएका थिए ।
अहिलेका ओलीमा सिद्धान्त र नैतिकता हराउँदै गएको मैनालीको आरोप छ । कामभन्दा पनि कुरा गर्न मात्र खप्पिस भएको उनको भनाइ छ । घर–घरमा पाइप लाइनबाट ग्यास पु¥याउने, मेची–महाकाली रेल ल्याउने र नेपालकै पानीजहाज सञ्चालन गर्नेजस्ता गफ दिनमा मात्र सीमित भएको मैनाली बताउँछन् । अहिलेका ओली विशेषगरी तीन तत्वको वरिपरि घुमिरहेका छन् । ती तीन तत्व मनि, मसल र पावर हुन । मनि भनेको चुनावमा जसरी पनि जित सुनिश्चित गर्न पैसा कमाउने ध्यये, मसल भनेको ‘ओलीबा !’ भन्ने समूह र पावर भनेको सत्ता हो । ओली विभिन्न तिकड्म गरेर वा विदेशीलाई भुक्काएर जसरी पनि सत्ता कब्जा गर्ने उद्देश्यमा लागेको मैनालीको आरोप छ ।
अंहकार सिकाउने ओली
खासगरी ओली पछिल्लो उचाइ बनाउन सफल हुनुमा तीनवटा काम महत्वपूर्ण रहेको मैनाली बताउँछन् । पहिलो भारतीय नाकाबन्दीका विरुद्ध कडारूपमा उभिनु दोस्रो वामपन्थी आन्दोलनको नेतृत्व गर्ने नाममा प्रचण्डसँग सहकार्य गर्नु र तेस्रो पहिलेका कुनै पनि सरकार स्थायी बन्न नसकेको अवस्थामा आफूले स्थायी सरकार बनाउने आश्वासन बाँड्नु । ती आवश्वासन बाँडेकै भरमा उनको लोकप्र्रियता बढेको नेता मैनालीको बुझाइ छ । तर पछिल्लो समय ती तीनवटै काम गर्न नसकेका कारण ओलीको लोकप्रियता ओरालो लागेको उनको भनाइ छ ।
नाकाबन्दीताका जागेको ओलीको राष्ट्रवाद भारतीय गुप्तचरी निकाय ‘रअ’ का प्रमुखसँगको भेटले खुस्किएको छ । साथै वाम एकताका नाममा पाएको शाख समेत तहसनहस पार्ने काम भएको छ । यो सबै ओलीको स्कुलिङकै कारण भएको बुझ्न कठिन छैन ।
स्थायी सरकार दिने आश्वासन बाँडेका ओलीले दुई–दुई पटक प्रतिनिधिसभा भंग गरिदिए । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको बेला तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएमा प्रधानमन्त्री र आफूले नैतिकताका आधारमा राजीनामा दिने अभिव्यक्ति दिए । तर सर्वोच्च अदालतले दुई–दुई पटक प्रतिनिधिसभा पुनस्र्थापना गरिदिँदा समेत कुर्सीमा लिसो टाँसिएजस्तो टाँसिएका ओलीले कुर्सी छोड्न नमानेपछि प्रदीप ज्ञवालीजस्ता शालिन व्यक्तिलाई आफ्नै अभिव्यक्ति गलपासो बनेको थियो ।
संविधानसभाबाट संविधान जारी भएपछि पटक–पटक प्रधानमन्त्रीले सनकका भरमा सदन भंग गरेकाले त्यसलाई सुधार गर्दै आगामी दिनमा प्रधानमन्त्रीले सदन भंग गर्न नसक्ने अभिव्यक्ति दिएका अर्का शालिन नेता सुवासचन्द्र नेम्वाङ दुई–दुई पटक प्रतिनिधिसभा भंग हुँदा मुसो दुलोभित्र पसेजसरी पस्न बाध्य हुनुपर्यो । माथि उल्लिखित जति पनि समस्या देखापरेका छन् । ती सबै ओलीको अहम् र उनले अँगाल्दै आएको स्कुलिङको उपज हो भन्दा अनुपयुक्त नहोला ।
कुनैबेला करिब दुई तिहाइको समर्थनमा सत्ताको बागडोर सम्हालेका ओली सर्वोच्चको आदेशसँगै तीन वर्षमा नै राजीनामा दिने मौका समेत नपाई बहिर्गमन हुनुप¥यो । अध्यक्ष ओलीले तीन वर्षको अवधिमा आफूलाई सर्वश्रेष्ठ सावित गर्न भरमग्दुर प्रयास गरिरहे । यो तीन वर्षको अवधिमा ‘केपी ओली आई लव यू, आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’ भन्ने नारा लगाउन लगाए । विश्वभर कोरोना भाइरसले तवाही मच्चाइरहेका बेला प्रधानमन्त्रीले बेसारपानी खान सुझाव दिए । नेपालीले चिसो हिमाली हावा खाएकाले उनीहरूको इम्युनिटी पावर बढी भएको कपोकल्पित अभिव्यक्ति दिए । पछि अनुसन्धानले त्यस्तो नदेखिएको तपार्इंलाई कसले भन्यो भनेर प्रश्न गर्दा ‘मैले भनेको’ भन्ने खालको अहंकारी रूप प्रस्तुत गरे । पछि मुलुकमा दिन दुई गुणा रात चौगुणा कोरोनाको संक्रमण फैलिएपछि नेपाली कांग्रेसका सांसद गगन थापाले भन्नुपरेको थियो, ‘हाम्रा प्रधानमन्त्रीलाई सबै कुरा थाहा छ । तर मलाई केही पनि थाहा छैन भन्ने कुराचाहिँ थाहा छैन ।’
नेता नेपाल भन्छन्, ‘कुनै बेला करिब दुई तिहाइको नेतृत्व गरिरहेका ओली, अहिले नेकपा एमालेको पनि एउटा समूहको नेतृत्व गरिरहनुभएको छ । अहिलेको परिस्थिति निर्माण हुनुमा ओलीको व्यक्तिवाद प्रवृत्ति र अहंकार दोषी छ । साथै उहाँले अंगीकार गर्नुभएको स्कुलिङ पनि दोषी छ । अझै पनि सुध्रिनुभएन भने अवस्था झन् भयावह बन्न सक्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया