दोस्रो टी-ट्वेन्टी खेलमा भारत पराजित

काठमाडौं। श्रीलंका भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले दोस्रो टी-ट्वेन्टी खेलमा ४ विकेटले पराजय भोगेको छ।

भारतीय क्रिकेट टोलीका अलराउन्डर क्रुनल पान्ड्यालाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग ‘क्लोज कन्ट्याक्ट’मा रहेका हार्दिक पान्ड्या, इशान किशन, सूर्यकुमार यादव, पृथ्वी श, मनिश पाण्डे, युज्वेन्द्र चहल र दिपक चहरलाई आइसोलेसनमा राखिएको थियो।

कोलम्बोस्थित राजपक्ष प्रेमदासा स्टेडियममा ७ नयाँ खेलाडीलाई मैदानमा उतारेको भारतले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। भारतले निर्धारित २० ओभरमा मात्र १३२ रन बनाउने क्रममा कप्तान शिखर धवनले सर्वाधिक ४० रन जोड्दा ओपनर रितुराज गाइकवाडले २१ रन बनाउन सफल भएका थिए। त्यस्तै देवदत्त पडिकलले २९ रनको पारी खेलेका थिए।

घरेलु टोलीका लागि अकीला धनन्जयले २ विकेट लिंदा हसरंगा, चमिरा र शनाकाले समान १-१ विकेट लिएका थिए। जवाफी ब्याटिङमा १३३ रनको सामान्य लक्ष्य लिएर क्रिजमा उत्रेको श्रीलंकाले १९.४ ओभरमा ६ विकेट गुमाएर जित प्राप्त गरेको थियो। घरेलु टोलीका लागि धनन्जय डे सिल्भाले अविजित ४० रन बनाउँदा विकेटकिपर मिनोद भानुकाले ३६ रन जोडेका थिए। भारतका स्पिनर कुलदीप यादवले २ विकेट लिन सफल भएका थिए।

यस जितसँगै श्रीलंकाले तीन टी-ट्वेन्टी खेलको शृंखला मा १-१को बराबरी गरेको छ। खेलमा धनन्जय डे सिल्भा ‘म्यान अफ दि म्याच’ घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?