नेपालीका हाइकु जापानमा विमोचन

काठमाडौँ, १९ चैत – हाइकु उत्पति भएको देश जापानमा नेपालीहरुद्वारा लिखित ‘तातेसिना हाइकु सङ्ग्रह’ को विमोचन गरिएको छ । जापानमा लोकप्रिय हानामी पर्व (साकुरा फुल हेर्ने पर्व) का अवसरमा नागानो प्रिफेक्चरअन्तर्गत तातेसिना भन्ने ठाउँको हाराज्युकु पार्कभित्र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको आयोजनामा भएको कार्यक्रममा स्रष्टाहरुले साकुरा फूलको मजा लिनाको साथै साहित्यिक खुराक पनि प्रस्तुत गरेका थिए । उनन्चालीस हाइजिन(हाइकुकवि) ले स्थलगत रुपमा लेखेका हाइकु समेटी सङ्ग्रहको आकार दिइएको हो । कृतिमा प्रा रामकुमार पाडे र प्रकाश पौडेल माइलाको हाइकुका बारेमा लेखिएको खोजमूलक सैद्धान्तिक कार्यपत्र पनि समाविष्ट छन् । अनेसास जापान शाखाले प्रकाशनमा ल्याएको सङ्ग्रहका सम्पादकमा हाइजिन पौडेल हुनुुहुन्छ । तेह्र वर्षदेखि जापानमै रही हाइकुका क्षेत्रमा कलम चलाइरहनुभएका उहाँ अनेसास केन्द्रीय कार्यसमितिका उपाध्यक्षसमेत हुनुहुन्छ । अनेसास जापानका अध्यक्ष दीप पाठकको सभापतित्वमा सम्पन्नसमारोहको प्रमुख अतिथि साकुराको रुखलाई मानिएको थियो । कार्यक्रममा जिज्ञानकुमार थापा, शालिकराम भण्डारी, पीताम्बर पदमपानी, पुष्करजङ्ग थापा, आलोक चालिसे, दिनेशराज ज्ञवाली, बाबुराम भण्डारी, शरद गौचन, मैदेली घिमिरे, दीपक सुवेदी, पदम ठगुन्ना, अरुण पौडेल, रवीन शर्मा र सङ्गीता कुँवरले हाइकुको देश जापानबाट नेपालीको हाइकु कृति निस्कनु सुखद पक्ष भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?