काठमाडौं। पछिल्लो समय निकै विवादित बनेको एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र नेपाली फुटबलका राष्ट्रिय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको मनमुटाव बारे आज एन्फा कार्यालयमा आपातकालीन बैठक बसेको छ। प्रशिक्षक अल्मुताइरी र उपाध्यक्ष नेम्बाङबीच आरोप प्रत्यारोप चलिरहेको अवस्थामा सो विषयको छिनोफानो गर्न एन्फाले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनको जिम्मेवारी दिएको छ।
वरिष्ठ उपाध्यक्ष नेम्बाङ तथा प्रशिक्षक अल्मुताइरी दुवैले छानबिनको लागि दुई अलग अलग निवेदन दिएपछि एन्फाको आपातकालीन बैठकले स्वतन्त्र छानबिनको लागि मन्त्रालयलाई आग्रह गरेको हो। प्रशिक्षक अल्मुताइरीले निवेदनमा वरिष्ठ उपाध्यक्षको नेतृत्वमा आफूलाई दुई सञ्चारकर्मीले टर्चर दिएको र सो विषयले आफू असुरक्षित महसुस गरेको उल्लेख गरेका थिए।
त्यस्तै प्रशिक्षक अल्मुताइरी माथि पनि उपाध्यक्ष नेम्बाङसहित दुई सञ्चारकर्मीले दुर्व्यवहार तथा झूटा आरोपको आरोप लगाएर निवेदन पेश गरेका थिए। आज बसेको केन्द्र कार्यसमितिको बैठकमा उपाध्यक्ष तथा सञ्चारकर्मीको निवेदन बाचन गर्दा प्रशिक्षक अल्मुताइरीले रिसाएर बैठक छाडेका थिए। उता प्रशिक्षक अल्मुताइरीलाई कारवाही गर्दा साफ च्याम्पियनशिपको मुखमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सकस हुने कुराको उल्लेख हुँदा नेम्बाङ पनि बैठक छाडेर निस्किएका थिए। वरिष्ठ उपाध्यक्ष नेम्बाङसहित उपाध्यक्ष कृष्ण बहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामाले पनि बैठक छाडेका थिए।
दुवै पक्षबीच सहमतिको टुङ्गो नलाग्दा एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई स्वतन्त्र छानबिनको आग्रह गरेको छ।
विस्तृत जानकारीका लागि: पछिल्लो समय राजनीतिमा अल्झिएको नेपाली फुटबलको गाँठो के आज फुक्ला त ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया