विश्व स्तनपान सप्ताह : दुई वर्षसम्म निरन्तर स्तनपान गराउनुका फाइदा

लोकपथ
42
Shares

आमाको दुध बच्चाहरूको लागि सबैभन्दा महत्वपूर्ण र पोषक तत्व हो । यो केवल पोषक तत्व मात्र नभएर आमा र बच्चाबीचको मीठो सम्बन्ध महसुस गराउने माध्यम पनि हो ।

यसले आमा र बच्चा दुवैलाई फाइदा गर्छ । तर पछिल्लो समय खासगरी सहरी क्षेत्रमा काम गर्ने महिलाले समय अभावका कारण र शरीरको बनावट बिग्रिने डरले पनि बच्चालाई स्तनपानभन्दा बट्टाको दुधमा जोड दिएको पाइन्छ ।

यसै विषय र विश्व स्तनपान सप्ताहको सन्दर्भमा केन्द्रित भएर विरेन्द्र सैनिक अस्पताल छाउनीकी डाक्टर सुमी तामाङसँग लोकपथले गरेको संक्षिप्त कुराकानी :

बच्चालाई स्तनपान किन आवश्यक छ ?

स्तनपान बच्चाको लागि मात्र नभएर आमा र बच्चा दुवैको लागि महत्वपूर्ण छ । स्तनपानले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ । आमाको दुधको अगाडि गाईभैँसीको दुध केही पनि हैन । विभिन्न अध्ययन र अनुसन्धानअनुसार स्तनपानले बच्चालाई कुपोषण हुनबाट बचाउँछ । दुई वर्षसम्म निरन्तर स्तनपान गराएका बच्चाहरूमा कुपोषण हुने चान्स एकदमै थोरै हुन्छ । यो सँगसँगै बच्चाहरूमा इन्फेक्सन हुने सम्भावना पनि एकदमै कम हुन्छ ।

जन्मेदेखि एक वर्षसम्म हुने बाल मृत्युदरलाई समेत स्तनपानले घटाउने गर्दछ । अझ नेपालजस्तो भर्खर विकास हँुदै गरेको देशहरूमा त स्तनपानको महत्व झनै बढी रहेको छ । दुई वर्षसम्म स्तनपान गराएका बच्चाहरूमा नगराएका बच्चाहरूमा भन्दा ५ गुणाले छिटो शारीरिक र बौद्धिक विकास हुने गर्दछ ।

बच्चाहरूलाई न्यूनतम पनि कति वर्षसम्म स्तनपान गराउन आवश्यक छ ?

बच्चा जन्मिसकेपछि ६ महिनासम्म बच्चालाई अनिवार्य स्तनपान गराउनैपर्छ । आमाको स्वास्थ्य अवस्था राम्रो छ भने यो अवधिमा सकेसम्म आमाको दुध मात्र खुवाउनु पर्छ । यो अति नै आवश्यक छ । ६ महिनापछि विस्तारै गाईभैँसीको दुध खुवाउन थाल्ने हो । ६ महिनापछि बच्चाले विस्तारै अरु खानेकुराहरू खान थाल्छ । बच्चा विस्तारै बढ्दै जाने भएकोले ६ महिनापछि आमाको दुधले मात्र क्यालोरी पुग्दैन त्यसैले अरु खानेकुराहरू सँगसँगै २ वर्षसम्म स्तनपान गराइरहनुपर्छ ।

दुई वर्षभन्दा माथिको बच्चाहरूलाई स्तनपान गराउनै पर्छ भन्ने छैन । आमालाई मन छ भने गराए पनि हुन्छ नभए नगराउँदा पनि खासै फरक गर्दैन । तर बच्चा जन्मेदेखि २ वर्षको नभएसम्म निरन्तर स्तनपान गराउन अति नै आवश्यक छ । यो अवधिमा बच्चालाई कुनै रोग लाग्यो वा औषधि प्रयोग गर्नुप-यो भने डाक्टरहरूसँग सल्लाह लिएर मात्र प्रयोग गर्ने गर्नुपर्छ ।

स्तनपान नगराउँदा बच्चामा के–के समस्याहरू आउने गर्दछन् ?

भर्खर जन्मेको बच्चा आमाको दुधमा नै पूरा निर्भर रहन्छ । बच्चाले आमाको दुधबाट कार्बोहाइडेड, प्रोटिन, फ्याटजस्ता उसलाई चाहिने सबै तत्वहरू पाउने गर्दछ । साथै बच्चाको लागि पानीको स्रोत समेत आमाको दुध नै हो । योबाहेक बच्चाले आमाको दुधबाट जुन पोषक तत्व पाउँछ त्यो कुरा गाईभैँसीको दुधमा पाउँदैन ।

कुनै पनि इन्फेक्सनसँग लड्नसक्ने तत्वहरू : ल्याक्टोफेरीयन, लाइसोजायन, आईजीयजस्ता इम्युनोग्लोबिनहरू आमाको दुधमा नै हुन्छन् । यी तत्वहरू बच्चाले आमाको दुधबाट पाउने गर्दछ । आँखा, कानको इन्फेक्सन, डाइरीया, बच्चाको तौल घट्ने शारीरिक विकास ढिला, समयमा बोल्न नसक्ने, समयमा हिँड्न नसक्नेजस्ता समस्याहरू पनि स्तनपान नगराएका बच्चाहरूमा धेरै चान्स हुन्छ ।

सानो बच्चा भएका तर शरीरको बनावट बिग्रिन्छ भनेर स्तनपान नगराउने आमाहरूलाई के भन्नुहुन्छ ?

एकदमै गलत । त्यस्ता आमाहरूले स्तनपानको फाइदाहरू बुझेकै छैनन् । कि त बुझेर पनि बुझपचाएको हुन् । यो बालबालिकाको अधिकार हनन गर्नु पनि हो ।

स्तनपानका बेफाइदाभन्दा पनि फाइदाहरू धेरै छन् । जस्तैः कुनै आमाले आफ्नो बच्चालाई स्तनपान गरायो भने छ महिनासम्म महिनावारी हँुदैन जसले गर्दा दोस्रो बच्चा पेटमा आउने चान्स नै हुँदैन । अर्को फाइदा भनेको स्तनपान गराएका आमाहरूलाई स्तन र ओभरीको क्यान्सर हुने सम्भावना एकदमै कम हुन्छ । शरीरको बाहिरी बनावटलाई हेर्ने उनीहरूले यसको भित्री फाइदाहरू नबुझेर नै स्तनपान नगराएका हुन् । स्तनपानले बच्चा र आमाबीचको सम्बन्धलाई समेत सुमधुर बनाउँछ ।

स्तनपान गराउने आमाहरूलाई कस्तो पौष्टिक तत्वहरूको आवश्यकता पर्दछ ?

गर्भावस्थामा आमाहरूले जे खान पर्ने वा खाइरहेका हुन्छन् त्यसलाई नै निरन्तरता दिनुपर्दछ । गर्भावस्थामा जस्तै सुत्केरी अवस्थामा पनि त्यत्तिकै शक्तिको आवश्यकता हुन्छ । अझ बढी सुत्केरी अवस्थामा आमाको खानपानमा धेरै ख्याल गर्नुपर्छ । आमाको दुधबाट नै बच्चाको लागि आवश्यक सबै कुरा पुर्याउनुपर्ने भएकाले आमाले प्रशस्त मात्रामा माछामासु, फलफूल, दुध अण्डा, झोलिलो खानेकुरा निरन्तर खानुपर्ने हुन्छ ।
स्तनपान गराउने आमाहरूले मादकपदार्थ सेवन भने गर्न हँुदैन । अरु सबै खानेकुरा खान हुन्छ । अझ सम्भव भए आमाले दिनमा एक लिटर दुध खानुपर्छ ।

एउटा बच्चालाई स्तनपान गराउँदै गरेको अवस्थामा अर्को बच्चा पेटमा आयो भने के गर्ने ? स्तनपान गराइरहने कि छोड्ने ?

यदि बच्चा ६ महिना पूरा भएको छैन भने जसरी पनि स्तनपान गराउनै पर्छ । बरु ६ महिनाभन्दा पछाडि कार्बोहाइडेड, प्रोटिन, भिटामीनहरू बहिरबाट ल्याएर खुवाउन सकिन्छ । तर छ महिना नभएसम्म अर्को बच्चा पेटमा आयो भन्दैमा स्तनपान गराउन छोड्न मिल्दैन ।

स्तनपानले बच्चामा देखिने सकारात्मक फाइदाहरू के–के हुन् ?

स्तनपान नगराएका बच्चाभन्दा गराएका बच्चाहरूमा शारीरिक र बौद्धिक शक्ति बढी हुन्छ । स्तनपानले बच्चाको शारीरिक विकास पनि समयमै हुन्छ । विभिन्न इन्फेक्सन हुनबाट बचाउँछ । आमा र बच्चाबीचको सम्बन्ध सुमधुर भएर जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?