नेकपा एमालेभित्रको आन्तरिक कलह समाधान हुन अझै सकेको छैन । नेपालका कम्युनिस्ट पार्टीहरू फुट्दै जुट्दै आएका छन् । साना कम्युनिस्ट पार्टीहरूको भूमिका पनि आम मानिसका समस्यामा खासै प्रभावकारी हुन सकेको छैन । एमालेभित्रको आन्तरिक कलहकै कारण नेपाली कांग्रेसले सत्ताको साँचो हात पारेको छ । यिनै विषयमा केद्रित रहेर लोकपथका लागि रामेश्वर सापकोटाले देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलसँग गरेको कुराकानीको सम्पादित अंश :
पाँच दलीय गठबन्धनको सरकार जसरी बन्यो, त्यसमा तपाईंहरूको पार्टीको धारणा के हो ?
विशेष कारणले गर्दा कांग्रेस नेतृत्वमा यो सरकार बनेको हो । कांग्रेसको आफ्नै बहुमत पनि थिएन र संसदमा सिटसंख्या पनि धेरै थिएन । कांग्रेसको चरित्रको कुरा गर्दा दलाल, पुँजीपति र नोकरशाही वर्गको सबैभन्दा विश्वासिलो प्रतिनिधि हो । उसैको नेतृत्वमा सरकार बनेको छ । त्यसकारण यसअघिको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारभन्दा यो सरकार पनि खासै राम्रो होइन । वर्गीय र सामाजिक हिसाबले पनि ओली नेतृत्वको भन्दा फरक होइन ।
यो सरकारमा कांग्रेस, कम्युनिस्ट अनि मधेशकेन्द्रित दलहरू पनि छन्, त्यसो भए ओली सरकारको विकल्प बन्न सक्दैन त यो गठबन्धन ?
ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई प्रतिगमनतर्फ लान खोजेपछि पाँच दलीय गठबन्धनले आफूलाई ओलीको विकल्पमा प्रस्तुत गरे । हामी पनि प्रतिगमनको विरोधमा लाग्यौँ । ओलीको पतन भएर त्यसको ठाउँमा आएको यो सरकार ओलीको विकल्प हुनसक्छ जस्तो लाग्दैन । किनकि एउटा पार्टीको व्यक्तिको सट्टा अर्काे पार्टीको व्यक्ति असली विकल्प हुन सक्दैन । खै त यो सरकार बनेको पनि यतिका दिन भइसक्यो, जनताको लागि केही काम गर्न सकेको छैन ।
अनि यो सरकार कांग्रेस, माओवादी, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चा समेत सम्मिलित गठबन्धन भएकाले राष्ट्रिय सरकार हो भनेर पनि कतिपयले भनिरहेका छन् त !
ओलीको भन्दा के फरक छ र यो सरकारमा ? हिजो ओलीले पनि मधेशकेन्द्रित दललाई सरकारमा हुलेकै हुन् । नेकपा हुँदा त सबै एउटै थिए । कांग्रेस मात्रै प्रतिपक्षमा थियो । संसदभित्रका पार्टीलाई बटुल्दैमा सबैको प्रतिनिधित्व भयो भन्ने भ्रममा पर्नु हुँदैन । संसदभित्र भएका कहिले मिल्छन्, कहिले मिल्दैनन् ।
केपी शर्मा ओली नेतृत्वको झण्डै दुई तिहाइको सरकारले पनि नेपालमा राजनीतिक स्थिरता दिन सकेन । आम मानिसका समस्या र आकांक्षा सम्बोधन गर्न सकेन । नेपालमा कहिले होला त स्थिरता अनि आम मानिसको समस्याको सम्बोधन ?
निर्वाचनमा झण्डै दुई तिहाइ आउनु भनेको धेरै ठूलो कुरा थियो । मानिसहरूले अब देशमा स्थिरता आयो, राजनीतिक समस्या समाधान भयो, रातारात विकासै विकास हुन्छ भनेर सोचेका थिए । दुई तिहाइको सरकारले ३ वर्षमा के गर्यो अब त सबैलाई छर्लङ्ग भएको छ नि, ओलीले उदाङ्गो पारे । हामीले त यो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले जनताका समस्या हल गर्दैन भनेर भनेकै हो ।
त्यसो भए तपाईंहरूले खोजेको व्यवस्था कस्तो हो ?
हामीले दश वर्ष जनयुद्ध गर्दा पनि लोकतान्त्रिक गणतन्त्र मागेका थिएनौँ, हामी लडेको जनगणतन्त्र नेपालका लागि हो । पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई अर्काे पक्षसँग गएर मिले । जनगणतन्त्र बेवारिसे भयो । पछि पार्टीमा कुरा मिलेन । हामी संसदीय लोकतन्त्रका लागि नभई जनगणतन्त्रका लागि लडेका थियौँ । प्रचण्ड र बाबुरामले विश्वासघात गरे । अहिले पनि माओवादी केन्द्रले जनताका लागि केही गरेको छैन । अब जनता मैदानमा उत्रिने बेला भइसक्यो । हुँदाहुँदै खोप पनि बेचेर खान थालिसके । अब अर्काे आन्दोलनको आवश्यकता छ । हामीलाई आन्दोलन गर्न कोरोनाले रोक्यो । अब अर्काे राष्ट्रियस्तरको जनआन्दोलनको खाँचो छ ।
तपाईंले किन माओवादी केन्द्र छाड्नुभयो ? अहिले सोच्दा पश्चात्ताप लाग्छ कि लाग्दैन ? सानो पार्टीमा खुम्चिनु भाछ !
माओवादीलाई हामीले बनाएका थियौँ । जुन उद्देश्यले जनयुद्ध गरिएको थियो, प्रचण्ड र बाबुराम त्यसको विपरीत गए । त्यसकारण हामीले विद्रोह गरेर माओवादी छाड्यौँ । माओवादी छोडेकोमा पश्चात्ताप छैन । प्रचण्डले धोका दिएर विश्वासघात गर्ने काम गरे । जनगणतन्त्र चर्काे रूपमा उठेपछि त्यतिबेलाका प्रधानमन्त्री बाबुराम भट्टराईले नै पहिलो संविधानसभा विघटन गरे । प्रचण्ड र भट्टराई अमेरिका र भारतको मतियार बने ।
तपाईंको पार्टीको त आम जनमानसमा उपस्थिति नै देखिँदैन । धेरैलाई त तपाईंहरूको पार्टीको नाम पनि थाहा छैन, काम पनि थाहा छैन !
हामी मूलधारबाट अलग भयौँ । हामी विद्रोही शक्ति भयौँ । मूलधार भनाउँदाहरूकै हातमा मिडिया, भारतीय र अमेरिकीहरूको पनि उनीहरूलाई संरक्षण छ । न उनीहरूलाई आर्थिक अभाव छ । त्यसैले त भारत र अमेरिकासामु उनीहरूले आत्मसमर्पण गरेका छन् । हाम्रो पार्टीलाई पनि पटक–पटक फुटाउने काम भयो । हामीलाई सानो भयौँ भन्ने चिन्ता छैन ।
बेला–बखत नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने कुरा पनि उठ्ने गर्छ । के यो सम्भव छ ?
विचार र नीति मिलेमा न एउटै पार्टी बन्ने हो । त्यसकारण एउटै कम्युनिस्ट पार्टी बनाउने कुरा सम्भव छैन । तर कार्यगत एकता गरेर अघि बढ्न भने सकिन्छ । एकता गर्नेहरूको हालत कस्तो छ हेर्नुस् त माओवादीबाट अन्तै लाग्नेहरू रुँदै हिँडेका छन् ।
तपाईंहरू जनयुद्ध लडेर विकृति, विसङ्गति हटाउँछौँ भनेर आउनुभयो । दलाल पुँजीपति, भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद भनेर आलोचना गर्नुहुन्थ्यो, तर अहिलेका नेपालका अधिकांश पार्टीलाई दलाल पुँजीपतिले प्रभावित गरेका छन् अनि अधिकांश कम्युनिस्ट पार्टी भारतको गोडामुनि छिरेका र अमेरिकीको कोटको गोजीमा छन् भनेर आलोचना हुने गरेको छ । नेपालका कम्युनिस्ट पार्टीहरूको वास्तविकता के हो ?
पार्टीको साइनबोर्ड कम्युनिस्ट छ । साइनबोर्ड टाँगेर जम्मैले पुँजीपति दलाल र साम्राज्यवादको चाकडी गरिरहेका छन् । ओलीले पनि भारतीय रअ प्रमुख सामन्त गोयल राति १२ बजे भेट्न आउँदा कम्युनिस्ट पार्टीको झण्डा टाँगेर बसेका थिए । प्रचण्डहरू पनि त्यस्तै हुन् । कोही अमेरिकी साम्राज्यवादको दौरा र कोही भारतीय विस्तारवादको फेर समातेर हिँडेका छन् ।
कांग्रेस नेतृत्वको गठबन्धन कतिको टिकाउ होलाजस्तो लाग्छ तपाईंलाई ?
मलाई त लामो समय टिक्लाजस्तो लाग्दैन । किनकि यो गठबन्धनको मुख तीनतिर फर्केको छ । संविधान नै मान्दैनौँ भन्ने मधेशकेन्द्रित दल पनि सहभागी छन् । त्यसैगरी कांग्रेस र माओवादीका पनि आ–आफ्ना एजेण्डा होलान् । तर पनि चुनाव गर्नुपर्ने बाध्यात्मक अवस्था छ । त्यसका लागि मिलेर जालान् । तर जनताका लागि काम गर्दैनन् ।
अब डेढ वर्षमा त चुनाव होला, तपाईंहरू चुनावमा भाग लिनुहुन्छ कि हुन्न ?
परिस्थिति हेरेर हामी भाग लिन्छौं । विगतमा पनि निर्वाचनलाई हाम्रो पार्टीले प्रयोग गर्दै आइरहेको छ । चुनावको उपयोग गरेर क्रान्तिको तयारी गर्न सकिन्छ भने त्यो राम्रो हुन्छ । नत्र बहिष्कार । त्यो मूल्यांकन हामी अन्तिममा गर्छाैँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया