दाङ । दाङबाट १२ हजारभन्दा बढी विद्यार्थी माध्यमिक शिक्षा परीक्षा एसईईको आन्तरिक मूल्यांकनमा सहभागी भएका छन् ।
कोरोना महामारीका कारण यस पटक पनि आन्तरिक मूल्यांकनका आधारमा परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भएको माध्यमिक शिक्षा परीक्षा बोर्डले जनाएको छ ।
देशभरबाट २०७७ को एसईईमा करीव ५ लाख १७ हजार विद्यार्थी सहभागी भएकोमा दाङबाट १२ हजार १ सय ६६ जना विद्यार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय ईकाई दाङका प्रमुख मित्रप्रसाद गौतमले जानकारी दिए । शिक्षा विकास तथा समन्वय ईकाई दाङले जिल्लाभरबाट एसईईमा सहभागी भएका १ सय २१ संस्थागत विद्यालय र ९९ वटा सामुदायिक विद्यालय गरी २ सय २० वटा विद्यालयका विद्यार्थीको नतिजा रुजु गरी असार अन्तिम साता केन्द्रमा पठाएको हो भने हार्ड कपी साउनको पहिलो साता पठाईएको शिक्षा विकास तथा समन्वय ईकाई दाङका प्रमुख गौतमले बताए ।
जिल्लाभरका २ सय २० विद्यालयका कुल १२ हजार १ सय ६६ विद्यार्थीको नतिजा अबको हप्ता दश दिनभित्रमा सार्वजनिक हुने भएको हो । शिक्षा विकास तथा समन्वय ईकाई दाङका प्रमुख गौतमले एसईईमा सहभागी भएका विद्यार्थीको कुल संख्या अनुपातमा छात्र भन्दा छात्राको संख्या ५ सय १४ ले धेरै रहेका बताए । जसमा ६ हजार ३ सय ४० जना छात्रा एसईईमा सहभागी भएकोमा ५ हजार ८ सय २६ जना छात्र रहेका छन् ।
परीक्षामा सहभागी भएकामध्ये नियमिततर्फ ३ हजार ९ सय ९६ जना छात्रा र ३ हजार ५९ जना छात्र गरी ७ हजार ५५ जना विद्यार्थी सामुदायिक विद्यालयअन्तर्गतका रहेका छन् भने २ हजार ३४ जना छात्रा र २ हजार ४ सय ३९ जना छात्र गरी ४ हजार ४ सय ७३ जना संस्थागत विद्यालयका विद्यार्थी रहेका प्रमुख गौतमले जानकारी दिए ।
यसैगरी, नियमिततर्फकै प्राविधिक धारमा ३ सय ८३ जना विद्यार्थीमध्ये १ सय ९४ जना छात्रा र १ सय ८९ जना छात्र रहेका छन् । अक्षरांकन पद्दतिबाट नतिजा सार्वजनिक हुने हुँदा अहिले विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । जसमा यस पटक १ सय १६ जना छात्रा र १ सय ३९ जना छात्र गरी २ सय ५५ जना विद्यार्थी ग्रेड वृद्धिमा सहभागी भएका शिक्षा विकास तथा समन्वय ईकाई दाङकी प्राविधिक सहायक प्रमिला शर्माले बताइन ।
जेठ १३ गतेबाट एसईई परीक्षा गर्ने गरी तालिका सार्वजनिक भएको थियो । तर, कोरोनाको दोश्रो लहर तीव्र रुपमा बढ्दै जाँदा जोखिम बढेको भन्दै बैशाख दोश्रो साताबाट लकडाउन भएपछि परीक्षा स्थगित हुन पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया