सुर्खेत–काठमाडौं उडान सेवाको परीक्षण सम्पन्न

सुर्खेत, २१ चैत । कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ ।बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण सम्पन्न गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले जानकारी दिए ।“जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन भने बाँकी छ, तर पनि अब सुर्खेत–काठमाडौँ सिधा हवाई सेवा शुरु हुन्छ”, कार्यालय प्रमुख पन्तले भने ।नागरिक उड्डयन कार्यालय सुर्खेतका वरिष्ठ अधिकृत विद्या शाहले एनएआइएन कल साइनको जहाज बिहान ९ः४५ बजे धावन मार्गमा अवतरण गरेको र ११ः०० बजे यहाँबाट उडान भरेको जानकारी दिए । उनका अनुसार सम्भवतः नव वर्ष २०७५ वैशाख १ गतेदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ नियमित उडान शुरु हुनेछ ।कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई सेवा नजोडिएको भन्दै यसका लागि प्रदेश सरकारलाई यहाँका नागरिकले माग गर्दै आएका थिए । त्यही विषयलाई लिएर दुईसाताअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको ध्यानाकर्षण गराउनाका साथै निजी कम्पनीसँग पनि पहल गरेका थिए । उनीहरुकै सहमतिमा हवाई उडान सेवा जोडिएको छ ।परीक्षण सेवा गरिएको हवाईको सुर्खेत–काठमाडौँ भाडादर कति भन्ने अहिले कायम नगरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?