ट्रोयेलाई पराजित गर्दै पीएसजीको विजयी शुरुवात

काठमाडौं। फ्रेन्च लिग-१ अन्तर्गत २०२१/२२ सिजनको शुरुवातसँगै पीएसजीले आफ्नो पहिलो खेलमा ट्रोयेलाई २-१ गोलले पराजित गरेको छ।

ट्रोयेको घरेलु मैदान स्टेड डे आउबेमा शनिवार खेलिएको खेलमा पीएसजी शुरुवाती १० मिनेटमै पछि परेको थियो। खेलको ९औं मिनेटमा घरेलु टोलीका रक्षक आउवालिद एल हज्जमले गोल गर्दै ट्रोयेलाई अग्रता दिलाएका थिए।

त्यसको १० मिनेटमा नै पीएसजीले खेलमा बराबरी गोल गर्न सफल भयो। पीएसजीमा यसै सिजन आबद्ध भएका राईट ब्याक असरफ हाकीमीले खेलको १९औं मिनेटमा गोल गर्दै पीएसजीलाई बराबरीमा पुर्याए।

त्यसको दुई मिनेट पनि नबित्दै पीएसजीले खेलमा अग्रता लिन सफल भयो। स्टार खेलाडी किलियन एमबाप्पेको पासमा स्ट्राइकर माउरो इकार्डीले गोल गर्दा पीएसजीले खेलमा एक गोलको अग्रता कायम गर्न सफल भएको थियो।

पहिलो हाफमा २-१ गोलले अग्रता लिएको पीएसजीले दोस्रो हाफमा भने कुनै गोल गर्न सकेन। ट्रोयेले पनि खेलको दौरान १५ शट प्रहार गर्दा पनि बराबरी गोल गर्न भने सकेन।

यससँगै पीएसजीले नयाँ सिजनको शुरुवात जितबाट गरेको छ। गए राती खेलिएको खेलमा पीएसजीका स्टार खेलाडी नेयमार तथा नयाँ आगमन सर्जियो रामोस र जियानलुइगी डोनारुम्मा भने मैदानमा देखिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?