अरू मौसमको तुलनामा वर्षा मौसममा धेरै किसिमका रोगब्याधिहरू बढी मात्रामा देखा पर्ने गर्छ । वर्षा मौसममा वरिपरिको वातावरणमा ओसिलो हुन्छ र ओसिलो वातावरणमा ब्याक्टेरिया लगायत अन्य जीवाणुहरू चाडै फैलने समेत गर्छ ।
वर्षा मौसममा एकै छिनमा गर्मी हुने र एकै छिनमा पानी पर्ने किसिमको हुन्छ । गर्मीको कारण शरीरमा आएको पसिनामा वर्षाको पानी परेमा छाला बढी चिलाउने गर्छ । कतिपय मानिसहरूले धेरै पसिना आयो भनेर पाउडरको प्रयोग गर्ने गर्छन् । पाउडरले छालामा पसिना आउने प्वाललाई टालिदिने गर्छ । जसको कारण पसिना बाहिर निस्कन पाउँदैन । यस्ता किसिमको पाउडरको प्रयोगले तत्काल छाला चिलाउने समस्या हटे पनि दीर्घकालसम्म यो उपाय उपयोगी भने हुँदैन ।
त्यसैले वर्षाको पानी शरीरमा पर्दा होस् वा अन्य कारणले वर्षा महिनामा छाला चिलाउने समस्या छ भने केही घरेलु उपायहरू अपनाएर छाला चिलाउने समस्यालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । यो उपाय अहिले वर्षा महिना भएको कारण वर्षामा भनिए पनि अरू बेला पनि तपाईँको छाला चिलाउने समस्या छ भने यही उपाय गरेर छाला चिलाउने समस्यालाई हटाउन सक्नुहुनेछ ।
कागती र बेकिङ सोडा
वर्षाको पानीले छाला चिलाउने समस्या छ भने नुहाउँदा एउटा कचौरामा दुई चम्चा बेकिङ सोडा र एक चम्चा कागतीको रस हालेर पेस्ट बनाउनु होस् । उक्त पेस्टलाई शरीरको छालाको सबै भागमा दल्नुहोस् । यसरी दलेपछि सफा पानीले दैनिक नुहाउनु भयो भने तपाईँलाई छाला चिलाउने समस्या हट्दै जान्छ ।
चन्दनको लेप
चन्दन छालालाई धेरै कुरामा फाइदाजनक मानिन्छ । चन्दनले छालालाई शीतलता दिने गर्छ । यदि तपाईँको शरीर वर्षाको मौसममा धेरै नै चिलाउँछ भने बजारमा चन्दनको पाउडर वा चन्दनको काठ पाइन्छ । पाउडर हो भने ६–७ घण्टा अगाडी पानीमा भिजाएर पेस्ट बनाउन सक्नुहुन्छ भने काठ पाउनु भयो भने सिलौटो वा ढुङ्गामा घोटेर लेप बनाउन सक्नुहुन्छ । यदि चन्दनको पाउडर पाउनु भयो भने गुलाब जलमा हालेर लेप बनाउनु भए झनै राम्रो हुन्छ । यदि गुलाब जल छैन भने सफा पानी हालेर पनि बनाउन सक्नुहुन्छ । यसरी बनाएको लेपलाई शरीरमा चिलाउने भागको छालामा दलेर केही समय राखेर पानीले नुहाउँदा, छाला चिलाउन निकै कम हुँदै जान्छ ।
निमको लेप
निममा एन्टि ब्याक्टेरियल गुण धेरै रहेको हुन्छ । निमको पात वा डाँठ छालालाई धेरै नै उपयोगी मानिन्छ । यदि तपाईँलाई छाला चिलाउने समस्या धेरै नै छ भने तपाईँले निमको पातलाई पिनेर चिलाउने भागमा दलेर केही समय राखेर नुहाउँदा चिलाउने समस्यामा धेरै कमी आउने छ ।
नरिवलको तेल
नरिवलको तेलमा एन्टि इन्फ्लामेसन र एन्टि ब्याक्टेरियल गुण रहेको हुन्छ । यसको प्रयोगले छालालाई धेरै पक्षबाट राम्रो गर्ने किसिमको हुन्छ । यदि वर्षा मौसममा तपाईँलाई छाला धेरै नै चिलाउने समस्या छ भने नुहाउनु भन्दा अगाडी शरीरमा नरिवलको तेलले मालिस गर्नुहोस् र बढी चिलाउने भागमा नरिवलको तेल अझ राम्ररी दलेर नुहाउनु भयो भने वर्षा महिलामा छाला चिलाउने समस्याबाट छुटकारा पाउनु हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया