राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले नै जनाए एसईईको नतिजाप्रति असन्तुष्टि

लोकपथ
112
Shares

काडमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् ।

एसईईको नतिजा सार्वजनिक भएपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाइस्कुल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताए ।

उनले शिक्षकलाई सुधारिएका विषयहरुको तालिम नदिनुले पनि उचित किसिमको मूल्यांकन हुन नसक्ने बताए । विद्यार्थीहरुमा पनि पढे पनि पास र नपढे पनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उनले बताए ।

शिक्षक र विद्यार्थीको भेट नै नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता रहेको अध्यक्ष पौडेलले बताए । उनले परीक्षा बोर्डले को–कस्तो विद्यार्थी भनेर नचिनेको २ वर्ष भइसकेको टिप्पणी गरे ।

उनले भने, ‘यो किसिमको निर्णय पोल्टिकल लिडरशीपले गर्ने हो भने, निरक्षर मानिसले हाईस्कूल पढेको सर्टिफिकेट प्राप्त गर्छ, कतै पनि कन्ट्रोल मेकानिजम सिस्टम विकास गरिएन अवस्था डरलाग्दो छ, तल्लो लेभलमा क्लास अपग्रेड गर्ने पोलिसी लिएर आउने, त्यहाँ टिचरलाई तालिम नदिने, लिभरल प्रमोशन सिस्टम लागू गरिएको छ, त्यो कसरी गर्ने शिक्षकलाई थाहै छैन, नजानेपछि भनेजसरी पठनपाठन हुँदैन, सबैलाई पास गर्ने भनेकोले पास गरेको भन्छ, पढेपनि पास र नपढेपनि पास गर्दै उ हाईस्कूलसम्म पुग्छ ।’

उनले आन्तरिक मूल्यांकनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आउने बताए । उनले आन्तरिक मूल्यांकनले दिने नतिजाले अपजस भन्दा पनि धेरै विकराल हुने समेत बताए। यसले देशको शिक्षा प्रणाली र मुलुकको विकाश प्रक्रियामा गम्भीर असर पार्ने बताए । यसको पहिलो जिम्मेवारी देश भएकोले राजनैतिक नेतृत्वहरुले बेलैमा नसोच्ने हो भने यसबाट देश र समाजलाई ठूलो क्षति हुने धारणा व्यक्त गरे ।

उनले भने, ‘बोर्डले अब्जस बोक्दैमा राज्यको अवस्थामा परिवर्तन आउने भएत अब्जस लिनु हुन्थ्यो, तर यो यथार्थ हो कि, त्यसले दिने रिजल्ट अब्जस भन्दा धेरै विकराल छ, त्यो विकराल रिजल्ट देशले व्यहोर्नुपर्छ, तत्काललाई त बोर्डले अब्जश लेला तर देशले दिने रिजल्टको भागिदार मुलुक हुन्छ, मुलुकको शिक्षा प्रणाली हुन्छ, डेभलपमेण्ट प्रक्रिया हुन्छ, यो डरलाग्दो छ, पोल्टिकल लिडरशीपहरुले यो बारेमा बेलैमा सोच्नुभएन भने ठूलो क्षति हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?