काठमाडौं। स्पेनिश क्लब भिल्लारियललाई पराजित गर्दै इंग्लिश क्लब चेल्सीले ४६औं संस्करणको युईएफए सुपर कपको उपाधि उचालेको छ।
नर्थर्न आयरल्यान्डको विन्डसर पार्कमा गए राती खेलिएको सुपर कपको फाइनल खेलमा युईएफए च्याम्पियन्स लिग विजेता चेल्सीले युईएफए युरोपा लिग विजेता भिल्लारियललाई पेनाल्टी शूटआउटमा ६-५ गोलले पराजित गरेको थियो। हरेक वर्ष च्याम्पियन्स लिग तथा युरोपा लिग विजेताबीच खेलिने यस सुपर कपको गए राती भएको खेलमा दुवै टोलीले निर्धारित समयसम्म निर्णायक गोल गर्न सकेका थिएनन्।
पहिलो हाफको २७औं मिनेटमा चेल्सीले खेलमा अग्रता लिएको थियो। चेल्सीका स्ट्राइकर काई हाभर्जको पासमा अर्का फरवार्ड हाकिम जिएचले गोल गर्दै इंग्लिश टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको खेल सकिँदासम्म चेल्सीको अग्रता कायम नै थियो।
दोस्रो हाफको खेलमा पनि चेल्सीको बल पोसेसनमा हैकम जारी नै रह्यो। ६२ प्रतिशत बल पोसेसन आफ्नो कब्जामा राख्न सफल चेल्सीले खेलमा कुल २० शट प्रहार गरेको थियो। तर दोस्रो हाफको ७३औं मिनेटमा भिल्लारियलका स्ट्राइकर जेरार्ड मोरेनोले बराबरी गोल फर्काए। उनले बौलाए दियको पासमा सरल तर शानदार गोल गर्दै स्पेनिश टोलीलाई बराबरीमा पुर्याएका थिए।
खेलको निर्धारित ९० मिनेटको समयसम्म दुवै टोलीबाट निर्णायक गोल हुन नसक्दा खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। थप अतिरिक्त समयको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। त्यस्तै दोस्रो हाफमा पनि दुवै टोलीबाट गोल हुन नसक्दा खेल पेनाल्टी शूटआउटतर्फ जाने निश्चित भएको थियो। खेलको ११९औं मिनेटमा दुवै टोलीबाट गोल हुन नसक्दा चेल्सीका प्रशिक्षक थोमस टुचेलले पेनाल्टी शूटआउटकै लागि भनेर गोलरक्षक केपालाई मैदानमा प्रतिस्थापन गरेका थिए।
उनको यो निर्णय सही सावित हुन पुग्यो। केपाले भिल्लारियलको दुई पेनाल्टी प्रहारलाई उत्कृष्ट बचाउ गर्न सफल भए। जसमध्ये एक बचाउ खेलमा निर्णायक सावित भएको थियो। चेल्सीले प्रहार गरेको ७ पेनाल्टी मध्ये ६ पेनाल्टी गोलमा परिणत भएको थियो। काई हाभर्ज भने पेनाल्टीमा गोल गर्न चुकेका थिए।
उता भिल्लारियलले प्रहार गरेको ७ पेनाल्टी मध्ये केपाले ऐसा मान्डी तथा भेट्रान रक्षक राउल आलबियोलको पेनाल्टी बचाउ गरिदिएका थिए। यस जितसँगै चेल्सीले दोस्रो पटक सुपर कपको उपाधि उचालेको छ। पाँच पटक सुपर कपमा प्रतिस्पर्धा गरिसकेको चेल्सीले यसअघि सन् १९९८/९९ मा यो उपाधि उचालेको थियो।
त्यस्तै पहिलो पटक सुपर कपको फाइनलमा प्रतिस्पर्धा गरेको स्पेनिश क्लब भिल्लारियलले भने उप-विजेतामै चित्त बुझाउनु परेको छ। भिल्लारियलले दोस्रो हुँदा ३८ लाख युरो बराबरको पुरस्कार राशि प्राप्त गरेको छ भने चेल्सीले ५० लाख युरो प्राप्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया