‘डा. गोविन्द केसी मेरो आइडल हुन्’ : आशिक झा (अन्तर्वार्ता)

लोकपथ
28
Shares

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बारम्बार प्रश्न उठिरहँदा सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण आशिक झाले एमबीबीएसमा सर्वोत्कृष्ट नतिजा हासिल गर्दै ११ हजारमध्येबाट एक नम्बरमा नाम निकाल्न सफल भए । २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका उनले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।

जनकपुरको श्री माध्यामिक विद्यालयबाट एसईई तथा काठमाडौंका विश्व निकेतन माविबाट कक्षा १२ को पढाइ सकेको झाको दैनिकी फेरिएको छ । अहिले बधाई थाप्ने तथा धेरै वटा फोन म्यासेज आउँदा खुशी त छँदै छ रेस्पोन्स गर्न समेत सकेका छैनन् ।

उनको नाममा जनकुपरको न्यू भिजन स्कुलले कक्षा १ देखि १० सम्म आफ्नो स्कुलमा पढेको भनेर प्रचार गर्दै व्यापार गर्न खोजेको छ । यसै सन्दर्भमा लोकपथले उनीसँग गरेको संवादको सम्पादित अंश प्रस्तुत गर्दै छौँ ।

तपाईंले उत्कृष्ट हुँदै एक नम्बरमा नाम त निकाल्नुभयो, एमबीबीएसमा पनि यस्तै नतिजा दिन प्रेसर छ ?
मैले प्रेसरभन्दा पनि आफ्नोे लक्ष्य लिएको छु, त्यो हो पढाइ पूरा गर्दा पनि म सर्वोत्कुष्ट नै हुन सकूँ । म सर्वोत्कृष्ट डाक्टर बन्छु कि बन्दिनँ त्यो त अध्ययनको सिलसिलामा हुने वातावरणले पनि निर्धारण गर्छ । म सबल डाक्टर बन्छु र यो देशको चिकित्सा क्षेत्रमा अवश्य पनि केही न केही सुधार ल्याउनेछु ।

यो सफलता कसरी पाउनुभयो ?
मेरो सफलता भनौँ, काम भनौँ सबैमा ईश्वरलाई साक्षी राखेको छु । उहाँले नै गरेर आज म यहाँसम्म पुगेको छु । यही खुशीलाई आफ्नो आमाबुबा र दाइसँगै साटेको छु । हिजोआज अन्तरवार्ता दिन भ्याइनभ्याइ छ, खुशी लागि रहेको छ ।

सामुदायिक विद्यालयको पढाइ राम्रो छैन भनिन्छ, धेरैको लागि तपाईं प्रेरणाको पात्र बन्नुभएको छ । अन्य सामुदायिक विद्यालयका पदाधिकारीहरूले कत्तिको चासो दिनुभएको छ ?
सामुदायिक विद्यालयबाट आफ्ना गुरुहरूले मात्र सम्पर्क गरेर बधाई दिनुभएको छ ।

आफन्त तथा साथीहरूबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
सबै गौरवान्वित हुनुहुन्छ कि सबै नेपाली विद्यार्थीको लागि म प्रेरणा बनेँ । सबैको विश्वास र आशीर्वादले म आगामी दिनमा पनि राम्रो गर्नेछु । सबैको शुभकामना र बधाई पनि लिन चाहन्छु ।

सर्वोत्कृष्ट हुँदा आफूले आफूलाई कस्तो पाइरहनुभएको छ ?
यो सर्वोत्कृष्टता पहिले नै भनेको छु कि मेरो त हुँदै होइन । यो भनेको ममाथि लगानी लगाउनुभएका गुरुहरू, परिवारजन र अन्य शुभचिन्तक तथा ईश्वरको आशीर्वाद नै हो । त्यसैले यसमा मेरो आफ्नो स्वामित्वभन्दा पनि मैले उहाँहरूको आदेश आज्ञालाई महसुस गरिरहेको छु ।

विद्यार्थीले सफलता पाउन के कुरामा ध्यान दिनुपर्ने रहेछ ?
सबैभन्दा पहिलो कुरा त आत्मविश्वास र दृढ निश्चय, त्यसपछि आफ्नो धर्म र कर्मप्रतिको समर्पण अनि आउँछ पढ्ने शैली । शैलीको विषयमा म के भन्न चाहन्छु भने गुरुदेवले दिनुभएको मार्गदर्शन, गर्नुभएको तरिकालाई विशेष ध्यान दिनुपर्ने हुन्छ । यदि पढाइमा सफल हुनु छ भने धेरै अभ्यास गर्नुपर्छ । धेरै पटक दाहोर्‍याउनु पर्छ । राम्रो बुभाइ हुनुपर्दछ, त्यसले गर्दा आउने चुनौती पार गर्न सकिन्छ र सर्वोत्कृष्ट हुन सकिन्छ ।

सीमित पढाइमा केन्द्रित हुनुहुँदैन सकेसम्म किताबका कुरामा बढी ध्यान दिनुपर्छ । पढ्दा हाम्रो दिमागले भिज्वललाई सबैभन्दा बढी ग्रहण गर्ने गर्दछ । सकेसम्म आफूले पढ्ने कुरालाई चित्रको रूपमा वा रेखाचित्र होस् कि त्यसमा सम्झने कोसिस गर्नुपर्छ । चलचित्रभन्दा रेखाचित्रमा तपाईंको ध्यान बढी छ भने पढाइलाई नयाँ दृष्टिकोणमा लैजानुहुनेछ।

सम्मान त सबैबाट पाउनुभएको छ, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातबाट यहाँले सम्मान पाउनुभयो यो कुराले कतिको खुशी मिलेको छ ?
यो कुराले मलाई अझ के विश्वास भयो भने जति दोष आरोप लगाए पनि नेपालमा नेताहरू हुनुहुन्छ, उहाँहरू शिक्षा क्षेत्रबाट टाढा जानुभएको छैन । शिक्षा क्षेत्रलाई नै आधार कुरा मान्नुहुन्छ । उहाँहरूको साथ विद्यार्थीलाई भयो भने आगामी दिनमा हाम्रो देशले दक्ष जनशक्ति पाउनेछ र विकसित देशलाई समेत उछिन्नेछ ।

तपाईंको एसईई र प्लस टूको नतिजा कस्तो थियो ?
मैले एसईईमा ३.७ जीपीए ल्याएको थिएँ । प्स टूमा ११ र १२ दुवैमा ३.७३ जीपीए ल्याएको थिएँ ।

अबको योजना के छ ?
योजनाभन्दा पनि कर्ममा विश्वास गर्नुपर्छ । अब पढ्ने एमबीबीएसमा ध्यान केन्द्रित हुनेछ । स्वास्थ्य शिक्षामा नयाँ बाटो देखाउन चाहन्छु देशको लागि केही गर्न चाहन्छु । जसको लागि सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।

पछिल्लो समय ‘मेमोरी किङ’ भन्दै उनीहरुका विधिले सर्वोत्कृष्ट पढाइ गर्न सकिन्छ भन्ने सुनिन्छ, उनीहरूको विधिले साँच्चै नतिजा निकाल्न सकिएला ?
मैले कुनै विधि सिकेको छैन । तपाईंले धर्मको पालना र परिश्रम गर्नुभयो भने विधिले केही हुँदैन । तपाईंले नै नयाँ विधि बनाउनुहुनेछ र सबैलाई सिकाउनुहुनेछ । छोटकरीमा नलिनुस् किनकि जीवन लामो छ । यो म्याराथन हो, म्याराथन दौडनुस् र तपाईं विजेता बन्नुहुनेछ ।

मलाई पढ्नै आउँदैन भनेर कतिपय विद्यार्थीहरू तनावमा हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ ?
म उहाँहरूलाई के भन्न चाहन्छु भने बन्चरोले एकचोटी हानेर रुख ढाल्न सकिन्छ र ? बारम्बार प्रहार गरेपछि मात्र रुख ढल्छ । त्यसो भए पछिल्लो प्रहारले रुख ढल्यो भनेर पहलोपटक गरेको प्रहारको अर्थ रहँदैन ? अवश्य नै हुन्छ, प्रारम्भिक बन्चरोको प्रहारले नै यस्तो ठाउँ दिएको हुन्छ जहाँ हाम्रो प्रयास अडिन सकेको हुन्छ । तपाईंको आजको असफलताले भविष्यको सफलतालाई कहिल्यै पनि चुनौती दिँदैन । यसले तपाईंमा नयाँ–नयाँ अनुभव थप्दै जाने हो ।

सामुदायिक विद्यालयको पढाइ राम्रो हुँदैन भनिन्छ, तपाईं त सामुदायिक विद्यालयबाटै सर्वोत्कृष्ट बन्नुभयो नि !
मेरो बुझाइ के भने नेपाल सरकारले तोकेको पाठ्यक्रम जहाँ पनि उही हो । पढाइ जहाँ पनि एउटै हुने हो । तपाईंको आस्था सामुदायिक विद्यालयमा छ भने त्यहाँ पनि राम्रो गर्नुहुन्छ । परिश्रमले नतिजा दिने हो । यो राम्रो त्यो नराम्रो भन्ने होइन । हामीले चुनको बाटोले हाम्रो लक्ष्य देखाउने हो । सामुदायिक विद्यालयमा हामीलाई सजिलो हुन्छ किनकि त्यहाँ हाम्रो लगानी पर्दैन । निजी विद्यालयमा राम्रो किन भनिएको जस्तो लाग्छ भने त्यहाँ अनुशासन कायम गर्न खोजिएको हुन्छ । सामुदायिक विद्यालयमा अनुशासन भैदियो भने हामीलाई सफलता दिलाउँछ ।

तपाईंका आइडल को हुनुहुन्छ ?
मेरो घरपरिवार र गुरु नै मेरो आइडल हुनुहुन्छ । ईश्वरको पनि कृपा रहिरह्यो ।

मेडिकल क्षेत्रको अध्ययन गर्दै हुनुहुन्छ, मेडिकल क्षेत्रको आइडल को हुनुहुन्छ ?
मेडिकल क्षेत्रमा डा. गोविन्द केसी मेरो आइडल हुनुहुन्छ । उहाँलाई सम्मान गर्छु, भेट्न त पाएको छैन । उहाँले आफ्नो जीवन नै बिर्सेर समाजको लागि त्याग र योगदान गर्नुभएको छ । चिकित्सा क्षेत्रमा उहाँको योगदान अतुलनीय छ ।

जनकपुरको न्यू भिजन स्कुलले तपाईं कक्षा १ देखि १० सम्म अध्ययन गरेको भनेर प्रचार गरिरहेको छ, तपाईंको नाममा व्यापार गर्न खोज्दै छ जस्तो लाग्दैन ?
मैले पढेको, एसईई दिएको श्री माध्यामिक विद्यालय हो । कुनै पनि शिक्षक शिक्षिकबाट लिएको सहयोगलाई जाहेर गर्नु, प्रचारप्रसार गर्नु राम्रो होइन, यस्ता कामहरूलाई प्रोत्साहन नगर्न म सबैलाई अनुरोध गर्छु । ज्ञान लिइन्छ भने त्यसमा दुःख मान्नुपर्ने कुरै छैन । मेले पढेको सरकारी स्कुलबाट हो, सहयोग गर्ने शिक्षक शिक्षिका अरुबाट भए पनि अहिले पनि आदार र सम्मान गर्दछु । म तपाईंको मिडियाबाट के कुरा स्पष्ट पार्न चाहन्छु भने कसैले कहीँबाट ज्ञान प्राप्त गर्‍यो भने त्यसमा कुनै प्रकारको अवरोध छैन । आफ्नो व्यापारको लागि अरुको अविष्यलाई नहेर्ने मानसिकताका मानिसहरू पनि हुनुहुन्छ, उहाँहरूलाई एउटै कुरा भन्न चाहन्छु– ‘ए हजुर मिहिनेत गर्नुस् । अरुको मिहिनेतलाई चोरी गर्ने काम नगर्नुस् ।’

आशिकका बारेमा विश्व निकेतन माविका प्राचार्य हेम्बरराज कँडेल
आशिक अत्यन्तै सिर्जनशील र मिहिनेती विद्यार्थी हुन् । उनको सफलताले सामुदायिक विद्यालयप्रतिको धारणामा सकारात्मक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । आफ्नो काममा शतप्रतिशत योगदान दिने हो भने सामुदायिक विद्यालय पनि अब्बल हुन्छन् र त्यहाँको विद्यार्थी पनि सर्वोत्कृष्ट हुन्छन् भन्ने देखाएको छ । उनको आगामी यात्रा पनि यस्तै उत्कृष्ट रहोस् ।

अमरेश झा– आशिकका दाजु
एकदम खुशी छु, उसको सफलतामा सबैभन्दा म खुशी छु । आज होइन भोलि होइन एक दिन त अवश्य गर्छ भन्ने लागेको थियो । ऊ एकदम मिहिनेती थियो, मिहिनेतअनुसारका फल पनि पायो । कतिपय समयमा हामी कर्म गछौँ तर त्यसको फलचाहिँ पाइँदैन । गीतामा भगवान् श्रीकृष्णले भन्नुभएको छ, ‘कर्म गर फलको आश नगर ।’ फलको आश गर्ने भन्दैमा जीवन खेर फाल्नु् हुँदैन ।
सफलताको पछाडि मिहिनेत नै सबैकुरा होइन, त्यहाँ चाहियो संस्कार । मानिस कस्तो संस्कारी छ ? त्यहाँ चाहियो परिवारको साथ, सहयोग र राम्रो वातावरण । यी सब कुरा मिल्यो भने प्रकृतिले स्वतः हाम्रो भलाइ गर्छ अनि हामी सफल हुन्छौँ । आशिक पनि सानैदेखि एकदमै संस्कारी थियो । मिहिनेत गरेर पढ्थ्यो, अप्ठ्यारो भए मलाई सहयोग गर्न भन्थ्यो । कहिलेकाहीँ मेरै किताब पढ्थ्यो । मैले जानेको कुरा भाइलाई सिकाउथेँ, त्यसले मलाई पनि अभ्यास हुन्थ्यो र भाइले पनि सिक्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?