काठमाडौं । इंग्लिश प्रिमियर लिगको सन् २०२१/२२ सिजन अन्तर्गत गत सिजनको उप-विजेता म्यान्चेस्टर युनाइटेडले आफ्नो पहिलो खेलमा लिड्स युनाइटेडलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिएको खेलमा घरेलु टोलीका मिडफिल्डरद्वय पल पोगबा र ब्रुनो फर्नान्डेजको शानदार प्रदर्शनीमा लिड्स स्तब्ध भएको हो। पहिलो हाफको ३०औं मिनेटमा ब्रुनोको गोलले घरेलु टोलीलाई अग्रता दिलाएको थियो।
पल पोगबाको शानदार पासमा ब्रुनोले उत्कृष्ट फिनीशिङ गर्दा म्यान्चेस्टर युनाइटेडले खेलमा अग्रता लिएको थियो। पहिलो हाफमा १-० गोलले पछाडि रहेको लिड्सले दोस्रो हाफको शुरुवातमा नै बराबरी गोल फर्काएको थियो। लिड्सका राईट ब्याक लुक अवलिङले प्रहार गरेको ‘लङ रेन्जर शट’ सिधै गोल्पोस्टमा छिरेको थियो। तर पाहुना टोलीको अग्रता धेरै बेर टिकेन। पल पोगबाको शानदार पासमा स्ट्राइकर मेसन ग्रिनउडले उत्कृष्ट गोल गर्दा खेलमा युनाइटेडले पुनः अग्रता लिएको थियो।
त्यसपछि खेलमा म्यान्चेस्टर युनाइटेडले अरु तीन गोल गर्न सफल भयो। पल पोगबा तथा रक्षक भिक्टर लिन्डेलफको पासमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। ६० मिनेटको खेल सम्ममा ४-१ गोलले अग्रता लिएको म्यान्चेस्टर युनाईटेडले खेलको ६८औं मिनेटमा पाँचौं गोल गर्न सफल भयो। यस पटक फेरि पल पोगबाकै पासमा ब्राजिलियन खेलाडी फ्रेडले गोल गर्दै म्यान्चेस्टर युनाइटेडको जित सुनिश्चित गरे।
म्यान्चेस्टर युनाइटेडको शानदार जितमा पोर्चुगिज मिडफिल्डर ब्रूनोले यस सिजनको पहिलो ह्याट्रिक प्रहार गरे भने अर्का मिडफिल्डर पल पोगबाले चार असिस्ट दर्ता गरे। खेलको ७०औं मिनेटमा विंगर ड्यानियल जेम्सलाई प्रतिस्थापन गर्दै म्यान्चेस्टर युनाइटेडले आफ्नो नयाँ खेलाडी जेडन सान्चोलाई मैदानमा उतारेको थियो।
इंग्लिश प्रिमियर लिगमा शनिवार राति बलियो टोली लिभरपुल र बढुवा भएर आएको टोली नरविच सिटी प्रतिस्पर्धा गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया