काठमाडौं। इंग्लिश प्रिमियर लिगको सन् २०२१/२२ सिजनअन्तर्गत आफ्नो पहिलो खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-० गोलले पराजित गरेको छ।
नर्विचको घरेलु मैदान क्यारो रोडमा शनिबार खेलिएको खेलमा लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहले शानदार प्रदर्शन गरेका थिए। उनले खेलमा दुई असिस्ट तथा एक गोलको योगदान दिन सफल भएका थिए। पहिलो हाफको २६औं मिनेटमा लिभरपुलले खेलमा अग्रता लिएको थियो। सालाहको पासमा स्ट्राइकर डिएगो जोटाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-० गोलले पछिपरेको नर्विचले दोस्रो हाफमा अर्को दुई गोल खान पुग्यो। खेलको ६५औं मिनेटमा सालाहको पासमा रोबर्टो फर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए। त्यस्तै खेलको ७४औं मिनेटमा लिभरपुलले तेस्रो गोल गर्यो। यस पटक सालाह आफैँले शानदार गोल गर्दै लिभरपुललाई विजयी सुरुवात दिलाउन सफल भए।
यस गोलसँगै मोहम्मद सालाहले इंग्लिश प्रिमियर लिगमा नयाँ किर्तिमान समेत रचेका छन्। लगातार पाँच सिजनसम्म हरेक शुरुवाती खेलमा गोल गर्ने सालाह प्रिमियर लिगकै पहिलो खेलाडी हुन पुगे। सन् २०१७/१८ सिजनमा इटालियन क्लब रोमाबाट लिभरपुल आएका सालाहले त्यस बेलादेखि हरेक सिजनको शुरुवाती खेलमा गोल गरेका छन्।
सन् २०१७/१८: वाट्फोर्ड (१ गोल)
सन् २०१८/१९: वेस्ट ह्याम युनाइटेड (१ गोल)
सन् २०१९/२०: नर्विच सिटी (१ गोल)
सन् २०२०/२१: लिड्स युनाइटेड (३ गोल)
सन् २०२१/२२: नर्विच सिटी (१ गोल)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया