काठमाडौं । कथा, पात्र, प्रप्स, क्यारेक्टर, लाइट, साउन्ड आदि आदि । घण्टौँको रिहर्सल, मञ्चमा साँच्चै हो कि लाग्ने प्रस्तुति। कलाकारको चरित्र उतार्ने जीवन्त अभिनय । साँघुरो ठाउँको ठूलो सम्भावना । कोरोना कालले थिएटरका यी सम्भावनालाई अहिले एकादेशको कथा बनाइदिएको छ ।
कहिलेसम्म यस्तो अवस्था रहन्छ, यसको उत्तर कसैसँग छैन । कुनै बेला काठमाडौंका अधिकांश थिएटरमा खचाखच दर्शक हुन्थे । अग्रीम बुकिङमा टिकट बिक्री भएर नपाइने अवस्था थियो । नेपाली फिल्मको लागि नर्सरी नै साबित भएको छ रंगमञ्च ।
विपिन कार्की, दयाहाङ राई, सौगात मल्ल रंगमञ्चकै उत्पादन हुन्, जसले फिल्मको एकधारको नेतृत्व सम्हालिरहेका छन् । नाटकघरको ढोकामा ताला लागेपछि रंगकर्म विधामै क्षति पुग्ने पो हो कि भन्ने आशंका जन्माएकोे छ । अधिकांश कलाकार जीविकोपार्जन गर्न पेसा परिवर्तन गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
कुञ्ज थिएटरका सञ्चालक कमल ढकाल निराश छन् । उनी भन्छन्, ‘एक त महामारी, यस्तो अवस्थामा कला साहित्य चलेन भनेर के चलेन भनौँ, भन्ने समय पनि होइन । तै पनि भन्न मन लाग्दा डेढ वर्ष भयो थिएटर परिसरमा नै आउन मन लाग्दैन । के गर्ने कोही मान्छे आउने होइन, केही चल्ने होइन । नाटक हेर्ने मान्छेको मुड पनि छैन ।’
मानवीय चहलपहल हुनुपर्ने थिएटरमा फोहोरका डंगुुर तथा मुसा कुद्ने गरेका छन् । कलाकार केदार श्रेष्ठ यो पेसाबाट पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाप्रति दुःख मान्छन् । उनी भन्छन्, ‘आफ्नो जीविकोपार्जनका लागि कति साथीहरूले पेसा परिवर्तन गर्दै छन् । धेरै साथीहरू कृषि पेसामा आकर्षित भएका छन् । अन्य व्यववसाय पनि अँगालिरहेका छन् । नयाँ व्यवसाय स्थापित गर्ने समयमा तत्काल त्यो छोडेर रंगमञ्च फर्कन पनि गाह्रो होला उहाँहरूलाई ।’
अपवाद मान्नुपर्छ शिल्पी थिएटर भने काममा जुटेको छ । उसले भर्चुअल माध्यमबाट रंगकर्मलाई निरन्तरता दिएको छ । शिल्पी थिएटरका सञ्चालक घिमिरे युवराज भन्छन्, ‘हामीले अघिल्लो लकडाउन खुलेपछि एक चरण नाटक ग¥यौँ । फेरि पनि फिजिकल्ली नै प्रस्तुत गर्ने योजना हो । नाटक भनेको सामूहिक रूपमा दर्शक अगाडि राखेर मञ्चन गर्ने हो नि त । फेरि दोस्रो वेब आएपछि हामीलाई संकट भयो ।’
नेपाली फिल्मको टे«न्ड सेटर निर्देशक मानिन्छन् निश्चल बस्नेत । उनी पनि रंगमञ्चको नर्सरीबाट हुर्केका हुन् । जसले युवा पुस्ताका निर्देशकलाई आकर्षण गरेको छ । युवा निर्देशक किरण विक भन्छन्, ‘मूल्यांकन गर्ने समय यो हो, परिवर्तन नै संकटको समयमा आउँछ । नयाँ कलाकार, नयाँ प्राविधिक, नयाँ कन्सेप्ट आउनुपर्छ, अर्को निश्चल बस्नेतभन्दा खतरा मान्छे आउने समय हो यो । निश्चल बस्नेतहरूको पालामा पनि संकट थियो अहिले अर्को संकट आयो ।’
शिल्पी थिएटरकी कलाकार पवित्रा खड्का भन्छिन्, ‘अहिले समाजिक सञ्जाल यति ठूलो भएर आयो । अब त्यो विकल्पमा गएर पनि आफ्नो कामहरू निरन्तरता दिनुपर्छ । सधैँभरि यस्तै अवस्था त रहँदैन नि जे कुरा पनि आउँछ जान्छ, निरन्तर भइरहन्छ । विकल्प खोज्दै कामलाई चलायमान बनाउनुपर्छ । कलाकार मानहाङ लावती, ‘पिँजडाबाट उठेको चरा स्वतन्त्र भएर उड्छ, हामीलाई नि अहिले त्यस्तै भएको छ । तर, त्यति धेरै स्वतन्त्र तरिकाले दर्शकसँग परिचित हुन पाइएको छैन । दर्शकसँगको भेटघाटको लागि इच्छुक छौं ।’
समान्य अवस्थामा नाटक डिजिटल रूपमा देखाउँदा यसको महत्व कम हुने वा घट्ने सोच राखिन्थ्यो । प्रिन्ट तथा अनलाइन मिडियाको लागि फोटो खिच्न पाइए पनि टेलिभिजनको लागि दृश्य खिच्न मनाहीजस्तै हुन्थ्यो । तर अहिले नाटक युट्युब र फेसबुक पेजमा प्रत्यक्ष प्रशारण तथा सम्पादन गरी राखिएको हुन्छ । शिल्पी थिएटरले दर्शसँग सामीप्यता बढाउन नाटक ‘अनुपस्थित तीन’ सम्पादन गरी युट्युबमा राखेको छ । यो विकल्प र बजार खोज्ने दुवै तरिका हो । साउन १७ बाट सुरु भएको नाटकमा भौतिक रूपमा नाटक हेर्न सीमित दर्शकको उपस्थिति रहेको थियो ।
नाटक हेरिसकेपछि झण्डै २ वर्षको प्रतीक्षापछि नाटक हेर्न पाउँदा खुशी लागेको साधना भण्डारी बताउँछिन् । उनी भन्छिन्, ‘नाटक हेरेपछि इनर्जी फिल भयो, एकदमै आनन्द लाग्यो ।’ अर्का दर्शक सुजन लुइँटेल नाटकको प्रतीक्षा समाप्त गरिदिएकोमा खुशी छन् ।
अन्य नाटकघरको अवस्था भने न खोल्न सकिन्छ, न बन्द गर्न सकिने अवस्थामा छन् । घरभाडा तिर्न सकस छ, पेसा छोडेर कहाँ जाने यस्तै अलमल र चेपुवामा थिएटर सञ्चालकहरू छन् । कोरोनालाई घाटा हैन, अवसरका रूपमा लिएर रचनात्मक भई अघि बढ्नु नै अहिलेको बुद्धिमानी विकल्प हो । समयको माग पनि यही हो । रंगमञ्चको पर्दाबाहिर र अन्य माध्यमबाट गए नाटकको अस्तित्व नै सिद्धिहाल्छ भन्ने मानसकिता राखिराख्ने हो भने रंगकर्म भुलभुलैयाभित्र हराउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया