काठमाडौं। जर्मन फुटबल लिगअन्तर्गत डिएफबी पोकाल सन् २०२१/२२ सिजनको पहिलो चरणबाट वोल्फ्सबर्ग बाहिरिएको छ।
वोल्फ्सबर्गले पहिलो चरणको खेलमा प्रिउसेन मुन्सटरविरुद्ध छ खेलाडी प्रतिस्थापन गरेपछि कारबाहीमा परेको हो। चौथो डिभिजनको प्रतिद्वन्दी मुन्सटरमाथि वोल्फ्सबर्गले ३-१ गोल अन्तरको जित दर्ता गरेको थियो।
तर खेलको अतिरिक्त समयमा वोल्फ्सबर्गका प्रशिक्षक मार्क भ्यान बोमेलले मैदानमा छैटौं खेलाडी प्रतिस्थापन गरेका थिए। बोमेलले माक्सिमिलान फिलिपको स्थानमा अडमिर मेहमेदीलाई प्रतिस्थापन गरेका थिए।
खेलमा अफिसियलहरु बोमेलले पहिले नै पाँच खेलाडी प्रतिस्थापन गरिसकेको कुरामा अज्ञात रहेको कारण खेलमा छैटौं खेलाडी प्रतिस्थापन भएका थिए। यद्यपि मुन्सटरले खेल पश्चात् डिएफबीलाई सो कुराको जानकारी गराएको थियो।
सोमवार जर्मन फुटबल एसोसिएसन (डिएफबी)ले छानबिन पूरा गरेपछि मुन्सटरलाई खेलमा २-० गोलले विजेता घोषित गर्दै वोल्फ्सबर्गलाई प्रतियोगिताबाट बहिर्गमन गर्ने निर्णय गरेको छ। सन् २०१५ को डिएफबी पोकाल विजेता वोल्फ्सबर्ग प्रतियोगिताबाट बाहिरिँदा मुन्सटरले आगामी अगस्ट २५ मा दोस्रो चरणको खेल खेल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया