‘सामुदायिक विद्यालयले गरेको काम मार्केटमा सेल गर्न सकेका छैनौँ’

लोकपथ
91
Shares

झण्डै २५ हजार सामुदायिक विद्यालयमा देशभर ५० लाखभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । निरन्तर खस्कँदो नतिजा र शिक्षकहरूले जागिर मात्र खाइदिने आलटाले प्रवृत्ति रहेको भन्दै चर्को आलोचना खेप्न बाध्य छन् । तर, एकाध सामुदायिक विद्यालयहरू देशमा सर्वोत्कृष्ट भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने बाटोमा छन् ।

काठमाडौंको विश्व निकेतन मावि अब्बल सामुदायिक विद्यायको एक नमूना हो । यो पटक–पटक सर्वोत्कृष्ट भइसकेको विद्यालय हो । हालै चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस परीक्षामा सर्वोत्कृष्ट हुन सफल आशिक झा पनि सोही विद्यालयमा कक्षा ११–१२ अध्ययन गरेका विद्यार्थी हुन् । काम गर्न चाहने हो भने सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सक्छ भन्ने उदाहरण बनेको छ विश्व निकेतन । प्रस्तुत छ लोकपथले सोही विद्यालयको प्रधानाध्यापक हेरम्बराज कँडेलसँग गरेको कुराकनीको सम्पादित अंश :

तपाईंले सामुदायिक विद्यालयले राज्य कोषको दोहन मात्र गर्छन्, उपलब्धि केही गर्दैनन् भन्ने आरोपलाई त चिर्दिनुभयो है ?

सामुदायिक विद्यालय पनि अब्बल छन्, उम्दा छन् उनीहरूले पनि निजी विद्यालयले भन्दा राम्रो नतिजा ल्याउने हैसियत राख्छन् । गुणस्तरीय शिक्षा दिन सक्षम छन् । हाम्रा अन्य १० जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्ति पाएका छन्, त्यसबाट पनि पुष्टि भयो कि हाम्रो गुणस्तर कम छैन । सामुदायिक विद्यालयले पनि त्यत्तिकै नतिजा ल्याएका होइनन् उनीहरूले पनि कोसिस गरिरहेका छन्, मिहिनेत गरिरहेका छन् । हामीले गरेका काम मार्केटमा सेल गर्न सकेका छैनौँ । विज्ञापन गर्न सकेका छैनौँ, प्रचार गर्न मात्र सकेका छैनौँ ।

तपाईंको विद्यालयले कहिले पनि बन्द नभएको विद्यालयको परिचय बनाएको छ, त्यो कसरी सम्भव भयो ?

२०७६ चेत ११ बाट लकडाउन भयो । त्यसको १० दिनपछि कक्षा ११/१२ लाई जुमबाट पढाउन थाल्यौँ । ७७ वैशाखबाट कक्षा १० लाई पढाउन थाल्यौँ । अहिले त कक्षा १ देखि १२ सम्म अनलाइनबाट पठनपाठन गरिराखेका छौँ । विश्व निकेतनमा असार १ बाट सरकारको घोषणाअनुसार नै पढाइ जारी राखेका छौँ, अहिले त हाम्रो प्रथम त्रैमाासिक परीक्षा सकिइसकेको छ । जसमा हामीले हाइब्रिड मोडल अवलम्बन ग¥यौँ । तल्ला कक्षालाई भौतिक दूरी पालना गरी विद्यालयमा उपस्थित भएर दिन सकिने र माथिल्लो कक्षामा अनलाइनबाट परीक्षा लियौँ । ११÷१२ मा ९० प्रतिशत उपस्थिति छ । ९÷१० मा ८० प्रतिशत उपस्थिति छ । साना कक्षामा त्यति प्रभाावकारी छैन । उनीहरूको रुचिअुनसार पढाएपछि राम्रो छ ।

कहिलेबाट कार्यभार सम्हाल्नुभयो ?

म प्रधानाध्यापक भएको पौने ६ वर्ष भयो । त्योभन्दा पहिले शिक्षक थिएँ, पछि सहायक प्रअ भएँ । शिक्षक हुँदा अरुले अह्राएको कामहरू गर्ने हुन्थ्यो भने अहिले आफ्नो योजना, विचार निर्दिष्ट गरी भिजनअनुसार काम गर्न पाइने भयो । यो मेरो मात्र कोसिसभन्दा पनि टिमवर्क हो । म एक्लै दोडिएँ भने दिनको ८–१० घण्टा दौडिन्छु । विश्व निकेतनमा अहिले १३० जना शिक्षक र कर्मचारी छौँ । सबैलाई दौडाउन सकियो भने २४सै घण्टा दौडाउन सकिने भयो । टिमवर्कको काम भएकाले सफलता मिलेको हो ।

शिक्षक सेवा आयोग कहिले उत्तीर्ण गर्नुभयो ?

२०५१ देखि अस्थायी शिक्षकको रूपमा कार्यरत थिएँ । २०६३ मा आयोगमा नाम निकालेँ र यही विद्यालयमा पदस्थापना भयो । २०७२ साल पुस २१ गतेबाट म प्रधानाध्यापकको जिम्मेवारीमा छु । त्यो बेला माध्यामिक तृतीय श्रेणीमा थिएँ । २०७४ बाट माध्यामिक द्वितीय श्रेणीमा छु ।

विद्यालयले प्राप्त गरेका उत्कृष्ट नतिजाहरू के–के छन् ?

२०७२ मा हाम्रा विद्यार्थी आशिष सापकोटा र सक्षम वाग्लेले सामुदायिकतर्फ सर्वोत्कृष्ट जीपीए ३.९ ल्याउन सफल भए । ७३ मा रोजी अधिकारी पनि सामुदायिकमा देशभरि नै सर्वोत्कृष्ट भइन् । ७५ मा भेषराज उपाध्याय ४ जीपीए ल्याएर सर्वोत्कृष्ट भए । त्यो बेला अहिले जस्तो आफ्नो हात जगन्नाथवाला मूल्यांकन थिएन । २०७४ र ७५ मा राष्ट्रिय शिक्षा पुरस्कार नै पायौँ । सम्भवतः लगातार २ पटक राष्ट्रिय शिक्षा पुरस्कार पाउने सरकारी विद्यालय भनेका हामी नै हौँ ।

उत्कृष्ट नतिजा ल्याउन के गुर्नपर्ने रहेछ ?

यो बीचमा राम्रो प्रगति गरिहेको भएर अहिले अभिभावक र विद्यार्थीको फ्लो छ । पहिलो कुरा टिमवर्क हो, दोस्रो कुरा हाम्रो विशेषता भनेको सबै शिक्षकले आफ्नो बालबच्चा यहीँ पढाएका छौँ । सबैभन्दा ठूलो विज्ञापन त्यो हुँदोरहेछ । अरुको बालबच्चालाई गुणस्तरीय शिक्षा दिन्छौँ ल्याउनुहोस् भन्ने आफ्नो बालबच्चालाई महँगो निजीमा पढाउने भनेको ‘दाल मे कुछ काला हे’ किन पढाएनन् भन्छन् नि ! तेस्रो भनेका हामी प्रयोगात्मक, जीवन उपयोगी, व्यावहारिक सीपमूलक र व्यावसायिक ढंगले पढाउँछौँ । नवीनतम विधि प्रयोग गर्छौँ परियोजना कार्य, खोजी कार्य, छलफल कार्य, गछौँ । मुख्य त अनुशासनमा जोड दिन्छौँ । कक्षा खाली हुन दिँदैनौँ, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा पढाउछौँ । धेरै परीक्षा हुन्छ, ४ वटा ठूला परीक्षा हुन्छ, एकाइ परीक्षा भइरहन्छ । बिदा कम हुन्छ । यसैले प्रतिफल मिलेको छ ।

कति विद्यार्थी छन् अहिले ?

यसवर्षको कक्षा ११ मा भर्ना हुन बाँकी छ, २०७७ सालमा तीन हजार २ सय २० विद्यार्थी थिए । धेरै विद्यार्थी लिनै सकिएन । पूर्वाधार पर्याप्त छैन । सरकारले कोटा पूरा दिँदैन । लिने हो भने यसपाली ३ हजार ५ सय हुन्छन् ।

विद्यार्थीले प्रवेश कसरी पाउँछन् ?

हामी प्रवेश परीक्षा लिन्छौँ, भर्ना लिन नसकिनेलाई क्षमाप्रार्थी छौँ पछि कोसिस गर्नुहोला भन्छौँ । विद्यार्थी थेगिनसक्नु हुन्छ । साउन २४ गते एसईईको नतिजा आयो, त्योभन्दा अगाडि नै बाध्य भएर अनलाइनबाट प्रवेश परीक्षा लिँदा पनि १२ सय जना सहभागी हुनुभयो ।

विद्यार्थीको आकर्षण हेर्दा त तपाईंले विश्वविद्यालय नै चलाएजस्तो हुनेरहेछ त ?

त्यस्तो छ आकर्षण ।

पूर्वआधारभूत कक्षामा कसरी हुन्छ प्रवेश परीक्षा ?

ईसीडीमा उमेर पुगको बालबालिकाहरूलाई सिधै लिन्छौँ । कक्षा १,२ ३ मा शिक्षकहरूबाट अन्तर्वार्ता लिन्छौँ । कक्षा ५ बाट प्रवेश परीक्षा अनि अन्तर्वार्ता लिन्छौँ । भर्ना कक्षा ९ सम्म र ११ कक्षामा भर्ना लिन्छौँ । १ देखि ३ सम्म ग्रेड टिचिङ छ ।

अन्य सेवाहरू के–के छन् ?

राष्ट्रिय सेवा दलको एनसीसी कार्यक्रम पनि छ । त्यसले गर्दा अनुशासन पनि हुन्छ । सेनाको तालिम पनि हो । त्यो कक्षा ११ सिनियर क्याडेटको लागि हो ।

त्यो भनेको कस्तो हो ?

कक्षा ११/१२ का विद्यार्थीलाई नेपाली सेनाले छनोट गर्छ । ४ महिनाको तालिम हुन्छ यहीँ आएर तालिम दिन्छन् ।

कक्षाकोठाहरूमा सीसी टीभी छ । अनलाइन पढाइरहँदा माइक्रोसफ्ट टिमबाट पढाइरहेका छौँ । हामीले कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तो कोरोनाचाहिँ शिक्षकहरू प्रविधिसँग जोडिने अवसर बुझेर सबै शिक्षकहरूले तालिम लिनुभयो । प्रविधिमैत्री बन्न अभ्यास गरिरहेका छौँ । कतिपय विद्यालयहरूमा पढाइ नै सुरु नहुँदा हामीले पहिलो त्रैमासिक परीक्षा सकिसक्यौँ ।

आगामी दिनको योजना के छ ?

उच्चतम उपलब्धि हाँसिल गरेका हुनाले यसलाई टिकाइराख्ने चुनौती छ । अहिले भूकम्पले भत्काएपछिको भौतिक निर्माण भइरहेको छ । अहिले तपाईं विश्व निकेतन आउनुभयो भने पुनर्निर्माण भइरहेका पाउनुहुन्छ । त्यसले गर्दा हामीलाई कक्षाकोठा पुगेको छैन । प्रयोगात्मक प्रयोगशाला पुगेको छैन । कम्प्युटर ल्याब ३–४ वटा हुनुपर्ने त्यो पुगिरहेको छैन । पूर्वाधार थप्नुपर्ने चुनौती छ । करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ छन त । भवनै भवन हुँदा खु्ला ठाउँ छैन कि जस्तो देखिन्छ ।

सफल भएपछि अर्को स्तरमा जाऊँ भन्ने त हुन्छ नि ?

हामी क्वान्टीटीभन्दा पनि क्वालिटी खार्नेमा केन्द्रित छौँ । कक्षा ९ मा इन्जिनियरिङ प्राविधिक धारको पनि अनुमति पायौँ । अब हरेक ल्याबदेखि म्युजियम बनाउने योजना छ । नेपालको मौलिक जनजीवन झल्कियोस् । गणित ल्याब बनाउँदै छौँ, कोठा अपुग छ । देशभरिकै अब्बल युरोपीयन मापदण्डको विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने विद्यालय बनाउने हाम्रो लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?