कम उमेरमा हृदयाघात हुने जोखिम बढ्दो

जुम्ला, २४ चैत । वरिष्ठ मुटुरोग विशेष डा भगवान कोइरालाले जुम्लामा कम उमेरमा हृदयाघात हुने रोगको जोखिम बढेको बताएका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौँद्वारा आयोजित दुईदिने मुटुरोग शिविरमा डा कोइरालाले भने, “शिविर सञ्चालनका क्रममा एक हजार १६८ बिरामीलाई उपचार सेवा दिइयो । त्यसमा अधिकांश बिरामी उच्च रक्तचापका छन्, जो कम उमेरका पर्छन् ।” दमका रोगी पनि त्यत्तिकै बढी भएको तथा बढीजसो यहाँ धूमपान सेवन गर्ने कारणले दम र मुटुरोग धेरै देखिएको तथा फोक्सो बिग्रने समस्या पनि त्यत्तिकै रहेको उनको भनाइ थियो ।शिविरमा जाँच गरिएकामध्ये जटिल समस्याका ५० बिरामीलाई काठमाडौँ सिफारिश गरिएको छ । सिफारिश भएका बिरामीलाई शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा रु एक लाख बराबरको उपचार सहयोग हुने बताउँदै उहाँले केही समयपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको सेवा जोडिने जनाए । हिमाली जिल्लामा नवनिर्मित ३०० श्ययाको अत्याधुनिक भवन सञ्चालन भएको देख्न पाउने इच्छा रहेको बताउँदै उनले यसको विकासका लागि स्थानीयदेखि केन्द्रीय सरकारले प्रथामिकता दिनुपर्नेमा जोड थियो ।शिविरबाट एक हजार २०० सेवाग्राहीले लाभ लिएकामा ६२ प्रतिशत महिलाले उपचार सेवा लिएको प्रतिष्ठानका डीन मोदनाथ मरहट्ठाले जानकारी दिए । प्रतिष्ठान जुम्लासँगको समन्वयमा सञ्चालित शिविरबाट जुम्लीको रु दुई करोड ४० लाख खर्च हुन जोगिएको छ ।शिविर समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानको संस्थागत विकासका लागि स्थानीय सरकार प्रतिबद्ध भएको धारणा व्यक्त गरे । प्रतिष्ठानका डीन प्रा डा मरहट्ठाले कार्डियो भास्कुलर थेरापीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर सेवा निरन्तरताका लागि अनुरोध गरेका थिए। मुटुरोग विशेषज्ञ डा कोइरालासहित सात जनाको टोलीले सेवा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?