शेयर बजारमा सुधार, कारोबारमा भने गिरावट

काठमाडौं, २४ चैत । नेप्से परिसूचकमा यो साता सुधार आएपनि कारोबारमा भने गिरावट आएको छ । साताभर कारोबारमा आएका सबै समूहका उपसूचक सकारात्मक देखिएसँगै बजार ५४.१५ अंकले वृद्धि भएर १२५०.३९ को विन्दूमा पुगेको छ । तर, बजार बढेपनि कारोबार भने १० प्रतिशतले गिरावट आएको छ ।गत साता १ अर्ब ८८ करोड ९९ लाख ७९ हजारको शेयर किनबेच भएको बजारमा यो साता १ अर्ब ६९ करोड ७७ लाख ९२ हजार बराबरको ५४ लाख ५० हजार २६० कित्ता शेयर किनबेच भएको छ । जुन गत साताको भन्दा १०.१७ प्रतिशतले कमी हो ।सातभर कारोबारमा आएका १८१ कम्पनी मध्ये सबैभन्दा बढी नबिल बैंकको शेयर किनबेच भएको छ । नबिलको ७ करोड ६७ लाख ३० हजारको शेयर किनबेच भयो ।त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६ करोड ८६ लाख, नेपाल इन्स्योरेन्स कम्पनीको ६ करोड ७२ लाख, नेपाल लाईफ इन्स्योरेन्स ६ करोड २३ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ५५ लाख भन्दामाथिको शेयर कारोबार भएको छ ।त्यसैगरी कारोबार शेयर संख्याको आधारमा भने जनता बैंक नेपाल अगाडि रहेको छ । बैंकको एक लाख ५० हजार कित्ता शेयर किनबेच भयो । केही समय अगाडि मात्रै नेप्सेमा सुचीकृत भएको राधी विद्युत कम्पनी लिमिटेडको कारोबार संख्या उच्च रहेको छ । कम्पनीको २ हजार १ सय १५ वटा कारोबार भएको छ ।यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?