स्थानीय तहलाई महिला हिंसामुक्त बनाउन सुर्खेत घोषणापत्र जारी

सुर्खेत, २५ चैत । कर्णाली प्रदेशका जनप्रतिनिधि महिला र महिला मानवाधिकार रक्षकले स्थानीय तहलाई महिला हिंसामुक्त बनाउनका लागि सुर्खेत घोषणापत्र जारी गरेका छन् ।कर्णाली प्रदेशस्तरीय तीनदिने भेलामा सहभागी कर्णाली प्रदेशका अगुवा महिलाले कर्णाली प्रदेशका स्थानीय तहलाई महिला हिंसामुक्त बनाउन पहल गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।स्थानीय तहलाई महिला हिंसामुक्त बनाउनका लागि सुर्खेत घोषणापत्र जारी गरिएको महिला मानवाधिकार रक्षक राष्ट्रिय सञ्जालका अध्यक्ष डाक्टर रेणु अधिकारीले बताए । महिला जनप्रतिनिधिको क्षमता बढाउने, सामाजिक न्यायका मुद्दामा अडिग रहने, सबै प्रकारका हिंसा, शोषण, दुव्र्यवहार र विभेदका घटनाप्रति शुन्य सहनशीलताको वातावरण सिर्जना गर्दै, अपांगता भएका, यौनिक अल्पसंख्यक, विपन्न तथा पछाडि पारिएका सिमान्तकृत समुदायका लागि मैत्रीपूर्ण बनाउने योजनालगायतका विषय घोषणापत्रमा रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।त्यस्तै एचआइभी संक्रमित, द्वन्द्व प्रभावित, एकल, बेचबिखनबाट प्रभावित, दलित, जनजाति, राउटे, वादी महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि पहल गर्ने सुर्खेत घोषणापत्रमा उल्लेख छ ।स्थानीय तहका जनप्रतिनिधि महिलाले स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा केन्द्रको स्थापना गर्ने, महिला हिंसाका घटनामा शुन्य सहिष्णुता, प्रजनन् र यौन स्वास्थ्यका क्षेत्रमा विशेष पहल गर्ने, प्रसूति गृहलाई सुधार गर्नेलगायतका विषयमा तत्काल काम शुरु गरिने भेरी नगरपालिका जाजरकोटकी उपप्रमुख भावना भण्डारीले बताए ।बोक्सी, बालविवाह, छाउपडीलगायतका समस्याबाट ग्रसित कर्णाली प्रदेशका महिलाका लागि प्रदेश सरकारले विशेष नीति र कार्यक्रम ल्याउनुपर्नेमा भण्डारीले जोड दिए । सुर्खेतको विरेन्द्रनगरमा आज समापन गरिएको तीनदिने भेलामा कर्णाली प्रदेशका स्थानीय सरकारका महिला उपप्रमुख÷उपाध्यक्ष र गैरसरकारी संघसंस्थामा क्रियाशील अधिकारकर्मीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?