यो हो, विद्यार्थी आन्दोलनको परीक्षण समय

लोकपथ
224
Shares

दिपेन्द्र अधिकारी
विद्यार्थी आन्दोलन गर्नेहरू नेपालको शिक्षामा एकरूपमा ल्याउने भन्दै चर्को नाराबाजी गरिरहेका छन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली भन्छन्, ‘नेपालमा निजी र राज्यको दुई किसिमका शिक्षा प्रणाली छ, त्यसको अन्त्यका लागि अबको विद्यार्थी आन्दोलन अघि बढ्छ । हुनेखानेले राम्रो शिक्षा र हुँदाखानेले शिक्षा नै नपाउने र पाए पनि गुणस्तर नभएको शिक्षा पाउने विभेदको अवस्था अन्त्य हुनुपर्छ।’

यसै विषयमा अनेरास्ववियु क्रान्तिकारीको अध्यक्ष रञ्जित तामाङ भन्छन्, ‘शिक्षा स्वास्थ्य र रोजगार नागरिकका मौलिक अधिकार हुन् जसलाई राज्यले पूरा गर्नुपर्छ, हामी देशका शीर्ष नेताहरूलाई एकै मञ्चमा उभ्याएर यसप्रति प्रतिबद्धता जनाउने माहोल बनाउँदै छौँ । विभेदकारी शिक्षा प्रणालीको अन्त्य हुनुपर्छ ।’

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का ४२ हजारभन्दा बढी विद्यार्थीमा गरेको एक अध्ययनले शिक्षाको गुणस्तरमा ठूलो अन्तर रहेको देखाएको छ । केन्द्रले सातवटै प्रदेशका १ हजार ८ सय विद्यालयका प्रधानाध्यापक, ३ हजार ६ सय शिक्षक र ४२ हजार विद्यार्थीमाथि अध्ययन गरेको थियो । कक्षा १० मा अध्ययन गर्ने आधा विद्यार्थीको सिकाइ उपलब्धि औसत र आधाको पाठ्यक्रममा रहेका विषयवस्तुको न्यून सिकाइ समेत हासिल गर्न सकेको छैनन् । सो अध्ययनमा समावेश विद्यार्थी अहिले कक्षा १२ मा अध्ययनरत छन् । यसअघि सन् २०११ मा कक्षा १० को सामाजिक विषयसहित विज्ञान, अंग्रेजी, गणित र नेपाली विषयमा अध्ययन गर्दा सिकाइ उपलब्धि ४१ पतिशत रहेको शैक्षिक गुणस्तर अध्ययन केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले जानकारी दिए । ‘१० वर्षको अवधिमा ४१ बट कबि ५० प्रतिशतमा सिकाइ उपलब्धि पुग्नु भनेको हाम्रो शिक्षा सुधारोन्मुख रहेको देखाउँछ । यति नै प्रर्याप्त छ भन्ने पनि होइन । हामी त शतप्रतिशत नै होस् भन्ने चाहान्छौँ’, उनले भने ।

आधा विद्यार्थीले मात्र सिकाइ उपलब्धि हासिल गर्दा सन्तुष्ट हुने अवस्था नरहेको शिक्षाविद् डा. कृष्णप्रसाद पौडेल बताउँछन् । ‘शिक्षामा खर्च गरेको बजेटलाई हेर्दा यसको उपलब्धि उच्चस्तरमा भएको छैन, राष्ट्रपति शैक्षिक कार्यक्रमदेखि अन्य योजनाहरू छन्, जसको प्रतिफल कम छ । ५० प्रतिशत प्राप्तांक भनेको न्यून हो, ७० प्रतिशतको तहमा पुगे मात्र सन्तोष गर्ने ठाउँ रहन्छ ।’

अध्ययनमा गाउँभन्दा सहर, सामुदायिकभन्दा निजीका विद्यार्थीको सिकाइ उपलब्धि राम्रो देखिएको अध्ययन केन्द्रको निष्कर्ष छ । ‘हामीले अध्ययन गर्दा सामुदायिकभन्दा निजी विद्यालयको सिकाइ उपलब्धि राम्रो रहेको देखियो । सायद हामीले छनोट गरेका निजी विद्यालय राम्रा परे होलान् । सामुदायिक विद्यालय पनि राम्रा छन् । जहाँ स्रोत साधन सम्पन्न छ, जहाँका अभिभावक शिक्षित छन्, जो विद्यार्थी शिक्षकसँग नजिक छन् उनीहरूको सिकाइ उपब्धि राम्रो रहेका पाइयो । गाउँभन्दा सहरमा राम्रो सिकाइ उपलब्धि रहेका देखियो, अब कम रहेका ठाउँमा सुधार्नुपर्छ’, केन्द्रका महानिर्देशक सापकोटाले भने ।

राज्यको विभेदकारी शिक्षा नीतिका कारण गरिबका छोराछोरी राम्रो शिक्षादीक्षा पाउने अवसरबाट वञ्चित भएको शिक्षाविद् डा. पौडेलको भनाइ छ । संविधानमा शिक्षालाई मौलिक हकको रूपमा उल्लेख गरिसकेपछि यस क्षेत्रमा हुने विभेदलाई अन्त्य गर्दै समान सिकाइमा राज्यले जोड दिनुपर्ने उनको भनाइ छ । विद्यालयको समान वितरण हुन नसक्नु सहरमा सामुदायिक विद्यालय कम रहनु पनि असमान शिक्षाको कारण रहेका ठान्छन् शिक्षाविद् । ‘सरकारले सामुदायिक विद्यालय गाउँ–गाउँमा त खोल्यो त्यहाँ विद्यार्थी कम छन् । उदाहरणका लागि ललितपुरको हात्तिवन क्षेत्रमा सरकारी विद्यालय खोज्न तीन किलोमिटर हिँड्नुपर्छ, यस्तो ठाउँमा त निजी विद्यालयमा पढाउन बाध्य हुन्छन् अभिभावक । निजी विद्यालय वरिपरि नै छन् । विद्यार्थीको चापलाई समेत ध्यान नदिएका पाइयो’, शिक्षाविद पौडेल भन्छन् ।

यसैगरी अध्ययनले विज्ञान विषयमा विद्यार्थी कमजोर रहेको देखाएको छ, त्यसपछि अंग्रेजी, गणित र नेपाली विषयमा विद्यार्थी कमजोर छन् । कक्षा १० मा प्रत्येक शैक्षिक सत्रमा करिब साढे ४ लाख विद्यार्थी अध्ययन गर्छन् । कक्षा १० को अध्ययन भए पनि आम विद्यार्थी र अभिभावककको अवस्था उस्तै भएकाले यसले समग्र शिक्षा प्रणालीमा प्रश्न उठाएको छ ।

सामुदायिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका विषयगत शिक्षकको अभाव छ । यिनै विषयमा विद्यार्थीको सिकाइ स्तर खस्किएको पाइएको छ  । सामुदायिक विद्यालयमा करिब ५८ हजार शिक्षक अभाव रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांक छ । शिक्षक सेवा आयोगले शिक्षक पदपूर्तिको प्रत्रिया अघि बढाएकाले केही वर्षमा सुधार हुने अपेक्षा गर्न सकिने शिक्षाविद् बताउँछन् ।

संविधानले नै ग्यारेन्टी गरेको कुराबाट कसैलाई वञ्चित गरिनु गलत रहेको राज्यले सबैलाई समान व्यवहार र समान अवसर दिनुपर्ने अनेरास्ववियुका अध्यक्ष तामाङ बताउँछन् । शिक्षामा असमानता भएको प्रतिवेदन आइरहँदा शिक्षामा समानताको लागि विद्यार्थी आन्दोलन गर्ने विद्यार्थी नेताको ल्याकतको परीक्षण गर्ने समय आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?