काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत आईतवार खेलिएको खेलमा टोटनह्याम हटस्परले वुल्भ्सलाई १-० गोलले पराजित गरेको छ।
वुल्भ्सको घरेलु मैदान मोलिनिउमा खेलिएको खेलमा टोटनह्यामले सुरुवाती १० मिनेट भित्र अग्रता लिन सफल भएको थियो। टोटनह्यामका फरवार्ड डेले आलीले ९औं मिनेटमा पेनाल्टी मार्फत पाहुना टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-० गोलको अग्रता लिएको स्पर्सले दोस्रो हाफमा निकै डिफेन्सिभ फुटबल खेल्यो। खेलमा ५८ प्रतिशत बल आफ्नो कब्जामा राख्दै कुल २५ शट प्रहार गरेको वुल्भ्सले गोल भने गर्न सकेन।
स्पर्सका लागि स्ट्राइकर ह्यारी केन दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। त्यस्तै गत सिजनसम्म वुल्भ्सका प्रशिक्षक रहेका नुनोले टोटनह्याम आए पश्चात् दुई खेलमा शत प्रतिशत नतिजा निकालेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया