काठमाडौं। इटालियन सिरी-एको सन् २०२१/२२ सिजनअन्तर्गत आफ्नो पहिलो खेलमा दावेदार टोली युभेन्टसले उडिनेसेसँग २-२ गोलको बराबरी खेलेको छ।
उडिनेसेको घरेलु मैदानमा आईतवार राति खेलिएको खेलमा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सुरुवाती ११ मा शामिल थिएनन्। यद्यपि युभेन्टसले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो।
पाउलो डिबालाको गोलले अग्रता लिएको युभेन्टसले खेलको २३औं मिनेटमा दोस्रो गोल थपेको थियो। यस पटक भने डिबालाको पासमा जुवान क्वाड्राडोले गोल गर्न सफल भएका थिए।
पहिलो हाफमा दुई गोलले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा शानदार पुनरागमन गरेको थियो। खेलको ५१औं मिनेटमा रोबर्टो परेराले पेनाल्टी मार्फत गोल गर्दै उडिनेसेलाई खेलमा फर्काएका थिए।
खेलको ६०औं मिनेटमा रोनाल्डोले मैदान प्रवेश गरेका थिए। तर गोल भने उडिनेसेले नै थप्यो। खेलको ८३औं मिनेटमा जेरार्ड डोलेफिउले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा लगेका थिए।
खेलको इन्जुरी समयमा रोनाल्डोले निर्णायक गोल गरेका थिए तर भीएआरले सो गोललाई अफसाइड भनेर खारेज गरेको थियो। यससँगै युभेन्टसले नयाँ सिजनको सुरुवात बराबरीबाट गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया