दिवंगत आत्मालाई बाटो देखाउन पाटनको मतःया यात्रा

बिहानदेखि बेलुकासम्म बौद्ध बिहार, चैत्य, बहाल, बहिललगायत पाटन सहरका चर्चित चार अशोक स्तूपा र मठमन्दिरहरू घुम्ने गरिन्छ ।

यसमा सहभागीहरू कतिपयले गुँला बाजा बजाउँदै, कोही राँगाको सिङ (न्यकू) बजाउँदै, कोही नेवारहरूको लोक सङ्गीतको धुन बजाउँदै सहभागी हुन्छन् । पुरानो पाटनअन्तर्गत १० वटा टोलले पालैपालो यो यात्राको नेतृत्व गर्छन् । यसको सञ्चालनका लागि पहिले गुठी थियो अहिले छैन । त्यसैले अहिले चन्दा उठाएर सञ्चालन गर्ने गर्छन् ।

यो यात्रामा बत्ती बाल्दै जानुको अर्थ दिवंगत आत्माहरूले सही बाटोको पहिचान गर्न सकून् भन्ने जनविश्वास रहेको पाइन्छ ।

यात्रामा सहभागी हुनेहरू हातमा धुपबत्ती बाल्दै, पूजा गर्दै यात्रामा सरिक हुन्छन् । नेपाल भाषामा ‘मत’को अर्थ बत्ती र ‘या’को अर्थ यात्रा भन्ने बुझिन्छ ।

हो, आज हामी पाटनको मतःयात्राको कुरा गर्दै छौँ । जात्राजस्तो यो यात्राले पाटनवासीको पहिचान बोकेको छ । विशेषतः जनैपूर्णिमापछि मनाइने यो यात्राको आफ्नै मौलिकता छ । यो मौलिकता त्यसै बनेको होइन । यो पर्व लिच्छिविकालभन्दा पनि पहिलेदेखि सुरु भएको मानिन्छ । हरेक नेवारी बाजाहरू यस यात्रामा सहभागी हुन्छन् ।

यो जात्रालाई कुन टोलले कति भव्य बनाउने भन्ने विषयमा प्रतिस्पर्धा चल्ने गर्छ । पाटनका गल्लीहरूमा साना-ठूलाहरू थुप्रै देवस्थलहरू छन् । ती सबै देवस्थलहरूको परिक्रमा गर्ने गर्छन् ।

एउटा टोलले अर्को टोललाई पालो दिने बेलामा एउटा रोटी दिएर पालो हस्तान्तरण गर्ने चलन छ । दशौँ हजार मानिस सहभागी यो यात्रामा हिँड्न नसकेर कतिपय बिरामी समेत हुन्छन् ।

यो यात्रा व्यक्तिको इज्जतसँग पनि जोडिएको छ । मतःया जाने भनेपछि बलवान् व्यक्ति भन्ने चलन छ । मतःया जान सकेन भने बलवान् नभएर कमजोर ठान्ने चलन छ । त्यसो त पाटनबाट काठमाडौं, भक्तपुर, चित्लाङलगायतका ठाउँमा पुगेकाहरू पनि यो जात्रामा सहभागी हुन्छन् ।

यो यात्राको सीमाना पूर्वमा ग्वार्को, पश्चिममा पुल्चोक, उत्तरमा शंखमुल र दक्षिण लगनखेलसम्म हुन्छ । यो सीमानाभित्रका देवदेवताहरू मात्रै घुम्ने गरिन्छ ।

यो हिन्दू, बुद्ध समुदायको पर्व हो । पालो परेको टोललाई धेरै जिम्मेवार हुन्छ । सहभागी सबैलाई टीका लगाइदिनेदेखि स्वंयसेवक परिचालन समेत गर्नुपर्ने हुन्छ ।

यो यात्रामा सहभागी हुन लाइन बस्नुअघि वाग्मतीको पानीमा नुहाउनुपर्छ । अहिले वाग्मतीमा स्थानीयले नुहाउनलाई छुट्टै ट्याङ्की राखेका छन् । यो यात्रामा एक जना सहभागी हुँदा परिवारका सबैको साथ चाहिन्छ ।

 

यात्रामा सहभागी हुनेले मन्दिरमा के चढाउने हो उक्त सामग्री सकेजति लिएर जानुपर्छ । आफूले लिएर गएको सामग्री जहाँसम्मलाई पुग्छ सो ठाउँमा परिवारका अन्य सदस्यलाई सामग्री लिएर बस्न भनिन्छ । यसरी मतःया जाँदा थुक पनि निल्नु हुन्न भन्ने मान्यता छ ।

यहाँ सहभागी हुनेहरूमध्ये साष्टाङ्ग दन्डवत् गर्दै जानेहरू पनि हुन्छन् । यसका लािग एकदम बलियाहरू मात्रै जान सक्छन् । उनीहरू हरेक स्तूपामा पुगेर साष्टाङ्ग दन्डवत् गर्ने गर्छन् । एउटा स्तूपामा एक पटक दण्डवत् गर्नुपर्छ । जस्तो नः बहालमा ५० वटा स्तूपा छ भने ५० चोटी गर्नुपर्‍यो । कहाँदेखि त्यसो गर्ने भनेर तोकिएको छ । उनीहरूले नै मतःया सुरु गरेका हुन् कि भन्ने लाग्छ ।

मतःयामा मृतक परिवारबाट अनिवार्य जानुपर्छ । मतया सबैले मान्छन् तर गाईजात्रा सबैले मनाउँदैनन् । ५ थरी श्रेष्ठ, महर्जन, राजोपाध्यायले मात्रै मान्छन् । शाक्य, बज्राचार्य, शिलाकारलगायतले गाईजात्रा मनाउँदैनन् ।

मतःयाका लागि बजेट पनि धेरै चाहिन्छ । दुई हप्ताअघिदेखि नै बाजा बजाएर जानुपर्छ । ४० दिन युवाहरूलाई मतःयाकै लागि ‘धा’ बाजा बजाउने तालिम दिनुपर्छ । पूजा सामग्री उत्तिकै महँगो हुन्छ । जलदान, पञ्चधारालगायतका पूजा आवश्यक हुन्छ ।

अहिले हरेक वर्ष मन्दिरको संख्या बढ्दै गएको छ । ८०, ९० वर्षअघि ५ सय जति मात्रै मन्दिर थिए तर अहिले झन्डै ५ हजार पुगिसकेका छन् ।

अनौठो कुरा त के भने देवताको फोटो राखेर नाङ्लो मात्रै राखे भने पनि त्यहाँ पूजा सामग्री चढाउनै पर्छ । हामी सानो हुँदा पनि त्यही गथ्र्यौँ । अचेल रमाइला सामग्री भएकाले त्यस्तो कम हुन्छ । त्यतिबेला मतःया कुरेर बस्थ्यौँ । त्यतिबेला पाँच पैसा चढाउने जमानामा पनि एक सय रुपैयाँ हुन्थ्यो । चामल नै एक बोरा हुन्थ्यो । त्यतिबेला चामल चढाउने गरेकोमा अहिले चकलेट चढाउने चलन आयो । अहिले आफ्नो मृतक व्यक्तिको श्रद्धाञ्जली छापेर चढाउने चलन आएको छ । अचेल देवता धेरै नै बढेकाले मतःया संघमा दर्ता गर्ने नियम बनाइएको छ । दर्ता भएका मन्दिरहरूमा मात्रै पूजा गर्ने नियम बनाएको छ ।

एउटा टोल घुम्न नै एक घण्टा लाग्छ । बलिया मान्छे पूरा पाटन घुम्ने हो भने ८ घण्टा लाग्छ । कतिवटा गल्ली छ भन्नेचाहिँ थाहा छैन । तर कतै ४ वटा घरकै एउटा गल्ली हुन्छ । कतै २० वटा घरकै एउटा टोल हुन्छ । कतै ३ फिटको गल्ली पनि छन् । पूरै पाटनको देवस्थल घुम्नलाई लगभग ८ घण्टा लाग्छ ।

मतःया जाँदा पुरानो रुटका गल्लीहरू मात्रै घुमिन्छ । गाबहालबाट सुरु भयो भने उत्तरको पिम्बहाल हुँदै अन्त्यमा पुल्चोक भएर फर्किन्छ । मतःया जहिले पनि सुल्टो घुमिन्छ, उल्टो फर्किन मिल्दैन । जस्तै यसपटक ५ नम्बर टोलको पालो भए ६, ७, ८, ९, १०,१ २, ३ हुँदै समापन हुन्छ । ५ नम्बर टोलको पालो हुँदा ४, ३, २, १ भएर यात्रा गरिँदैन ।

मतःया यात्रामा लगनखेल समावेश छ तर जावलाखेल समावेश छैन किनकि जवालखेल पहिले जंगल थियो ।

मतःया जात्रामा जाँदा मैले सबै देवता घुमेँ अब मलाई आशीर्वाद आउँछ भन्ने आस्था हुन्छ ।

मतःया गएर बीचबाट फर्किनु पर्‍यो भने इज्जत नै गएको जस्तो हुन्छ । बल कम भयो भन्ने अनुभूति हुन्छ । नसक्ने भएछु भन्ने मनोभाव उत्पन्न हुन्छ । यसले मान्छेको आत्मबल घट्न सक्छ । यसलाई नियन्त्रण गर्न सकिएन भने मृत्यु पनि हुन सक्छ ।

मतःया जानेभन्दा तीन/चार दिनअघि तागतिलो पदार्थ खाने चलन छ । अचेल भिटामिनको सुई लिने चलन पनि छ । मतःयामा चिसो जुसहरू धेरै बिक्छ । पहिले-पहिले टोल र चोकहरूमा घैँटामा पानी राखेर पिलाउनेहरू हुन्थे, टोल-टोलहरूमा बसेर पिच्कारी हान्ने चलन थियो ।

वर्षभरि नहिँड्नेहरू एकैपटक ५/६ घण्टा हिँड्दा त धेरै गाह्रो हुन्छ । त्यसकारण अचेल यसको अभ्यास अर्थात् वार्मअप पनि गरिन्छ । केही दिनअघि चारवटा थुर घुम्ने गरिन्छ । पुल्चोकबाट सिधा लगनखेल, सिधा ग्वार्को, सिधा शंकमुल, सिधा पुल्चोक फर्किन्छ । मतःयाको दिनचाँहि यो चार थुरभित्रका गल्लीहरू घुम्नुपर्छ । यो एकदमै वैज्ञानिक लाग्छ ।

पाटनमा पनि धनी र गरिब टोल छ । शाक्यहरू अलि धनी छन् त्यही भएर मतःया पनि विशेष प्रकारले मनाउँछन् । मन्दिरहरूमा महँगा महँगा कुराहरू चढाउँछन् । मान्छे पनि धेरै जुटाउँछन् । भक्तपुर, ठिमी, काठमाडौं सबैतिरबाट धेरैभन्दा धेरै मान्छे जुटाउँछन् इज्जत राख्नका लागि । ड्रेस बनाउँछन् ।

मतःया जो गए पनि हुन्छ । तर मृतकको परिवारले मतःया जानुअघि गाईजात्राको राति ४ वटा स्तूूपा घुम्नैपर्छ । लगनखेल, पुल्चोक, ग्वार्को र शंखमूल स्तूपा । पहिले-पहिले हिँडेर जानुपर्ने हुँदा साह्रै गाह्रो हुन्थ्यो अचेल त बाइकबाट जान्छन् । यसरी जान कतिपयको छोरामान्छे भएन भने नजिकका आफन्तलाई बोलाएर भए पनि पठाउने चलन छ ।

मतःया जाने सेतो वस्त्र लगाएर नबोली साष्टाङ्ग दण्डदवत् गर्नेहरूलाई चाहिँ गाह्रो हुन्छ । उनीहरूचाहिँ वास्तविक मतःया हुन् । मतःया बच्चा, महिला पुरुष भेदभाव छैन । तर साष्टाङ्ग प्रणामका लागि चाहिँ पुरुषहरू मात्रै जान्छन् ।

मतःया जाँदा बाजावालाहरूचाहिँ जान मिल्ने ठाउँमा मात्रै जान्छन्, गुरुजुहरू र साष्टाङ्ग गर्नेहरूचाहिँ सबै गल्लीमा अनिवार्य जानै पर्छ । उनीहरू नै २ सय जनासम्म हुन्छन् । लाइनमा आयोजक टोलको मुख्य गुरुजु सबैभन्दा अगाडि जान्छन् । ४ जनाले जलधारा हालेर मात्रै पूजा गरिन्छ । उनीहरू हरेक स्तूपामा मन्त्र पढ्ने र नखाई जानुपर्ने हुन्छ ।

मतःयामा पहिले र अहिलेमा भिन्नता

पहिले पहिले जडीबुटी चढाउने चलन थियो अचेल चकलेट चढाउने चलन आयो । पहिले हर्रो चढाइन्थ्यो, गेडागुडी, चामल चढाइन्थ्यो । पहिले हरेक नाङ्लोमा भोज राख्नु पथ्र्यो । ०४६ सालसम्म यस्तो भोज थियो त्यसपछि धेरै खर्च भएर हराउन थाल्यो ।

अचेल पनि हर्रो दिने गरिन्छ । यो निकै काम लाग्ने जडीबुटी हो । अचेल गर्लफ्रेण्ड ब्वायफ्रेण्ड लिएर घुम्न थाले । आइस्क्रिम खाँदै घुम्छन् । अचेल मृतक व्यक्तिको श्रद्धाञ्जली पम्पलेट छापेर बाँड्ने चलन छ । यो चलन पहिले थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?