टीकापुर । २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनाको झुठो मुद्दा सरकारले फिर्ता लिनुपर्ने थारु अगुवाहरुले बताएका छन् ।
थारु कल्याणकारिणी सभा कैलाली थरुहट थारुवान संघर्ष समिति र थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीले संयुक्तरुपमा आइतबार लम्कीचुहा नगरपालिकाको भल्कामा आयोजना गरेको टीकापुर थरुहट थारुवान विद्रोह दिवसको कार्यक्रममा थारु अगुवाहरुले उक्त झुठो मुद्दा सरकारले तत्काल फिर्ता लिनुपर्ने बताएका हुन् ।
थरुहट मोर्चाका केन्द्रीय सल्लाहकार एवं पूर्व माननीय कृष्ण कुमार चौधरीले टीकापुर घटनासँग जोडेर थारुमाथि झुठा मुद्दा लगाएर सरकारले फसाउने काम गरेकोले आपत्ति जनाउँदै झुठो मुद्दा फिर्ता लिनुपर्ने बताए ।
भदौ ७ गते अरुले कालो दिनको रुपमा लिन्छन् तर थारु समुदायको लागि त्यो दिन अधिकार प्राप्तिको दिन भएकोले विद्रोह दिवसको रुपमा मनाउने गरेको छ ।
सरकारले थारुका घर र पसल छानीछानी जलाएकोले हाम्रा लागि भदौ ८ गते कालो दिन भएको चौधरीले बताए ।
थरुहट थारुवान संयुक्त मोर्चा कैलालीका संयोजक माधव चौधरीले थारु समुदायको अधिकार र पहिचानसहित सांसद रेशम चौधरीको रिहाइको लागि विद्रोह दिवस मनाएको बताए ।
त्यसैगरी थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभाव कुमार चौधरीले सरकारले झुठा मुद्दा लगाएका ५८ जना मध्ये ८ जना अहिले पनि जेलमा रहेको बताए । १८ जना जेलबाट छुटेको र ३२ जना भगडौको लिस्टमा रहेकोले सबैको झुठो मुद्दा खारेज हुनुपर्ने उनले बताए ।
त्यस्तै थरुहट थारुवान महिला मोर्चा कैलालीकी संयोजक सुशिला चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका बालकलाई प्रहरीकै गोली लागेर ज्यान गएको बताइन् । पोष्टमार्टम रिपोर्ट अहिलेसम्म सार्वजनिक नगर्नुले पनि घटना प्रहरीबाटै भएको उनले दाबी गरिन् ।
अधिकार र पहिचानको नारासहितको प्लेकार्ड बोकेर र्यालीसहित आएका सहभागीहरुले टीकापुर घटनालाई लिएर सरकारले थारु समुदायलाई दमन गरेको बताएका छन् ।
२०७२ साल भदौ ७ गते थरुहट प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा ८ जनाको ज्यान गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया