वर्षाले कञ्चनपुरमा एक करोडको काँचो इँट्टा नष्ट

कञ्चनपुर, २६ चैत । लगातारको वर्षाका कारण कञ्चनपुरमा रु एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ । सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँट्टा वर्षाको पानीले भिजेर क्षति भएको हो ।महाकाली इँट्टा टायल उद्योग व्यवसायी संंघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार यहाँ सञ्चालित ३९ उद्योगका झण्डै दश लाखभन्दा बढी इँट्टामा नोक्सानी पुगेको छ । प्रतिइँट्टाको लागत रु नौदेखि रु १२ सम्म पर्ने गरेको छ । इँट्टा उत्पादनका लागि पानी नपर्ने गरेका कारण चैत महिनालाई उपयुक्त महिनाका रूपमा लिइने गरिन्छ ।“लगातार वर्षा होला भनेर सोचेका थिएनौँ”, अध्यक्ष बुडालले भने, “भारतबाट इँट्टा बनाउने मजदुर झिकाएर धमाधम इँट्टा तयार पार्दै थियौँ वर्षाले गर्दा सबै नोक्सानी भएको छ ।” लाखौँका तयारी इँट्टामा प्राकृतिक विपद्बाट नोक्सानी भएपछि मर्कामा परेको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?