फुटबल विवाद: छानविन समितिको निष्कर्ष, अल्मुताइरीले आचरण सुधार गर्नुपर्ने

काठमाडौं। निकै लामो समयदेखि चल्दै आएको फुटबल विवाद बारे राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छानविन समितिले निष्कर्ष निकालेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद बारे छानविन गर्न गठन भएको समितिले प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालबाट विवादास्पद पोस्ट हटाउनु पर्ने निष्कर्ष निकालेको छ।

अल्मुताइरीले फेसबुक मार्फत वरिष्ठ उपाध्यक्ष नेम्बाङ माथि आफूलाई काम गर्न नदिएको र लामो समयदेखि आफ्नो काममा हस्तक्षेप गरेको भन्दै आरोप लगाएका थिए। त्यसपछि निकै गम्भीर मोड लिएको फुटबल विवाद सुल्झाउन एन्फाले खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो।

मन्त्रालयको निर्देशन अनुसार राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेको नेतृत्वमा गठन भएको सात सदस्सीय समितिले बुधवार बुझाएको प्रतिवेदनमा प्रशिक्षक अल्मुताइरीले विवाद सिर्जना हुने कुनै पनि प्रकारका गतिविधि गर्न नपाउने निर्देशन दिएको छ। समितिले बुधवार राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको थियो।

त्यस्तै समितिले अल्मुताइरीलाई एन्फासँगको सम्झौता बमोजिम कार्य गर्न, सामाजिक सञ्जालमा कोही पनि व्यक्तिप्रति लक्षित गरेर आफ्नो धारणा नराख्न तथा विवादास्पद कुरा सिर्जना हुने प्रकारका काम नगर्न सुझाव समेत दिएको छ। समितिले प्रशिक्षकको गुनासो तथा समस्यालाई टिम म्यानेजरले तुरुन्तै सम्बन्धित निकायमा पुर्याउनु पर्ने जानकारी पनि दिएको छ।

ANFA row surfaces after Almutairi fiasco - The Himalayan Times - Nepal's  No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business,  World, Sports, Entertainment, Travel, Life Style News

समितिको प्रतिवेदनमा भविष्यमा कुनै पनि प्रकारको विवाद सिर्जना भए एन्फा आफैंले समधान गर्नुपर्ने उल्लेख गरिएको छ। त्यसैगरी एन्फाका सम्पूर्ण सदस्यले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखी कार्य गर्न पनि समितिले सुझाव दिएको छ।

समितिले प्रशिक्षक र पत्रकारबीचको विवाद भने एन्फाले एक साता भित्र आँफै समाधान गर्नुपर्ने जानकारी दिएको छ। त्यस्तै समितिले भविष्यमा थप विवाद तथा समस्या सिर्जना नहोस् भनेर एन्फालाई आचार संहिता बनाएर १५ दिन भित्र राखेपको स्वीकृति लिई लागू गर्न निर्देशन पनि दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?