मनसुन पुनः सक्रिय

लोकपथ
91
Shares

काठमाडौं । भदौरे झरीले यसपाला तराई डुबानमा पर्ने खतरा बढेको छ । मनसुन सक्रिय रहने क्रममा यसपाला तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान बढाउने खतरा बढेको हो ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जलवाष्प मिसिएकाले नेपालमा मनसुन फेरि सक्रिय रहेको मौसमविद् मिनकुमार अर्यालले बताए ।

तराईमा केही दिन अधिक भारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी लुम्बिनी क्षेत्र आसपास तराईका जिल्लामा लगातारको वर्षा केही दिनदेखि नै भइरहेको छ । पहाडका केही भूभागमा पनि भदौरे झरीसहितको भारी वर्षा हुने सम्भावना छ । त्यसले बाढी र पहिरो निम्ताउन सक्ने भएकाले सतर्क रहन भनिएको छ । गण्डकी, बागमती तथा सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षाको आँकलन गरिएको छ ।

केही दिनयताको मनसुनी सक्रियताले देशका धेरै स्थानमा एक सय मिलिमिटरभन्दा बढी पानी परेको रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भदौरे झरीका कारण कोसी, नारायणीलगायतका ठूला तथा साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । त्यस्तै पहाड हुँदै बग्ने कर्णाली, त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, कालीगण्डकीलगायतका नदीको बहाव पनि सतर्कता तहभन्दा माथि हुने जनाइएको छ । तराई छोएका कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, राप्ती, बबईलगायतका ठूला नदीमा बहाव बढ्दा त्यहाँका बस्ती डुबानमा पर्ने सम्भावना रहेको औँल्याइएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?