काठमाडौं। जर्मन बुन्डेस लिगा अन्तर्गत शुक्रवार राति भएको खेलमा बलियो टोली बोरुसिया डर्टमन्डले होफनहाइमलाई ३-२ गोलले पराजित गरेको छ।
बोरुसिया डर्टमन्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा २५ हजार दर्शकबीच भएको खेलमा दुवै टोलीले गोलरहित बराबरीको पहिलो हाफ खेलेका थिए। दोस्रो हाफको ४९औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए।
खेलको ६१औं मिनेटमा पाहुना टोली खेलमा फर्कियो। क्रिस्टोफ बाउमगार्टनरको गोल मार्फत होफनहाइम खेलमा फर्किएको थियो। तर त्यसको केही बेरमै डर्टमन्डले खेलमा फेरि अग्रता लिन सफल भयो।
यस पटक युवा इंग्लिश स्टार जुड बेलिङघमले डर्टमन्डका लागि गोल गर्न सफल भएका थिए। निकै नै रोमाञ्चक दोस्रो हाफको ९०औं मिनेटमा पाहुना टोलीले बराबरी गोल फर्कायो। मुनास दाबुरको गोल मार्फत होफनहाइमले खेलमा दोस्रो पटक बराबरी गर्न सफल भएको थियो।
तर खेलको इन्जुरी समयमा बोरुसिया डर्टमन्डका स्टार स्ट्राइकर अरलिङ हाल्यान्डले निर्णायक गोल गर्न सफल भए। उनले खेलको ९१औं मिनेटमा गोल गर्दै डर्टमन्डको जित सुनिश्चित गरेका थिए।
यस जितसँगै डर्टमन्डले तीन खेलमा दुई जित निकाल्न सफल भएको छ। उता होफनहाइमले भने तीन खेलमा चार अंक बटुलेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया