अझै केही दिन निरन्तर वर्षा हुने, सतर्क रहन आग्रह

लोकपथ
112
Shares
निरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका–६ काˆलेफाँटका घर । पहिरोका कारण यहाँका दुई घर जोखिममा परेको छ । तस्वीर : कृष्ण न्यौपाने-रासस

काठमाडौं – केही दिनदेखि अविरल परेको वर्षात्का कारण बाढी पहिरोको जोखिम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले केही दिनदेखि भइरहेको वर्षात्को कारण जमिनको सतह निकै गलेको र कमजोर भएका कारण अझै केही दिन निरन्तर हुने वर्षात्ले बाढी पहिरोको जोखिम हुने जानकारी गराउँदै सतर्क रहन भनेको हो । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको कारण निरन्तर वर्षा भइरहेको हो ।

महाशाखाका अनुसार आज पनि देशैभर रातिबाटै वर्षा भइरहेको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्म निरन्तर वर्षा हुने जानकारी गराउँदै थप सतर्कता अपनाउन भनेको छ । अविरल वर्षाका कारण साना ठूला खोला, खोल्सा तथा नदीहरुमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।

तराईका विभिन्न ठाउँ डुबानमा परिरहेका छन्। देशका अधिकाशं राजमार्गहरू अवरुद्ध भैरहेका छन्। पहाडी भूभागमा भू क्षय र साना ठूला बाढीपहिरो गइरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ।

कहाँ – कहाँ हुँदै छ भारी वर्षा ? 
आज देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्सहित भारी सम्भावना रहेकोले थप सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

दर्जन घरमा क्षति
बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जनबढी घरमा क्षति पुगेको छ। चुरे पहाडबाट खसेको पहिरोले स्थानीय मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा क्षति पुर्याएको हो । बिहान ६ बजेको समयमा पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएको कारण मानवीय क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याएको छ । त्यहाँको बाटो आवागमन अवरुद्ध भएको छ । त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ।

जुडीफाँट चिसापानी खण्डमा दर्जन पहिरो 
अविरल वर्षाका कारण तनहुँ र स्याङजा जोड्ने शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट(चिसापानी सडकखण्डमा एक दर्जन पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध भएपछि चिसापानी आसपासबाट चल्ने सवारीसाधन भानुमती उक्लेर भीमाद हुँदै गुडिरहेको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताइन् ।

सडक अवरुद्ध हुदाँ दुई जिल्लाको जनजवीन प्रभावित बनेको छ ।गत असारमा पनि पहिरो खसेको थियो । एक हप्तापछि पहिरो हटाएर सडकमा सवारी चल्न थालेका थिए । तर, फेरि पहिरो खसेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका(१० जुडीफाँटदेखि स्याङजाको हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने यो सडक कालोपत्रेको काम भइरहेको छ । प्रदेश सरकारको लगानीमा क्याङदी खोलमा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो । ३२ करोड ६५ लाख रुपैयाँमा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरेको छ ।

हेलम्बु राजमार्ग अवरुद्ध
लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका – १३ मेलम्ची – जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन केहि समय लाग्ने प्रहरीको भनाइ छ । पहिरो पन्छाउने कामका लागि वर्षाका कारण झनै समस्या परेको छ ।

पैराबारीका घर जोखिममा
बाटो माथिबाट पहिरोसँगै ढुङ्गा खस्दा मेलम्ची–१० रामपुर पैराबारीका घर जोखिममा परेका छन् । गत वर्षदेखि नै पैराबारी ज्यामिरे बाटो खन्ने क्रममा ढुङ्गा खसेर बसेको र यस वर्ष पनि ढुङ्गा खस्ने क्रम जारी रहेको स्थानीयवासी प्रशान्त कार्कीले जानकारी दिए । बाटोमुनि तीन भूकम्पपीडितको राहत घर र अन्य दुई घर रहेको उनले जानकारी दिए ।

ढुङ्गा खसेर दुर्घटना हुने डरले आनन्दले बस्न सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ। ढुङ्गा ठूलो रहेको र पहिरो पनि आइरहेको जानकारी पोहोरदेखि नै नगरलाई गराए पनि चासो नदिएको उनले दुःखेसो गरे। सिन्धुपाल्चोकको भोटेकोशी, जुगल र बाह्रबिसे क्षेत्रमा नै लगातार पहिरो गइरहेको छ ।

रुपन्देहीका उद्योगमा बाढी पस्दा करोडौंको क्षति
अविरल वर्षापछि आएको बाढीले रुपन्देहीका दर्जनौं उद्योगमा क्षति पुर्याएको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फ भैरहवासम्म र भैरहवा–परासी कोरिडोरका उद्योगहरुमा बाढीले बढी क्षति पुर्याएको हो ।

तिलोत्तमास्थित पञ्चकन्या समूहका प्लास्टिक र स्टिल उद्योगमा बाढी पस्दा करीब १० करोड रुपैयाँको क्षति भएको पञ्चकन्या समूहका नायब महाप्रबन्धक देवेन्द्र साहुले बताए । उद्योगमा उत्पादनका लागि तयारी अवस्थामा राखिएका कच्चा पदार्थ ­९प्लास्टिक दाना, उत्पादित सामग्री, मेसिनरी तथा विद्युतीय उपकरणलगायतमा क्षति पुगेको उनको भनाइ छ । ‘दुईवटा उद्योगमा करीब १० करोडको क्षति पुगेको अनुमान छ’ साहुले भने ।

उद्योग परिसर डुबानमा परेकाले उद्योग सञ्चालन हुन केही दिन लाग्ने उनले बताए ।सोही कोरिडोरमा रहेका एभरेष्ट रोलिङ इण्डष्ट्रिज, पूजा प्लास्टिक, श्याम मोडर्न दाल मिल, रत्ना आइरन लगायतका उद्योग पनि डुबानमा परेर क्षति भएको छ । एभरेष्ट रोलिङमा डेढ करोड भन्दा बढीको नोक्सानी भएको सञ्चालक अरुण कुमार गोयन्काले बताए । यस्तै आवास ग्रुपद्वारा तिलोत्तमा–१७ कोटिहवामा सञ्चालित आधा दर्जन उद्योगहरुमा करीब ५ करोड क्षति भएको सञ्चालक महेश थैवको दाबी छ ।

यो ग्रुपबाट सञ्चालित शुभलक्ष्मी पोलिमर्स इन्डष्ट्रिज, एभरेष्ट फूड एण्ड बेभरेज इन्डष्ट्रिज, लक्ष्मी स्टिल इन्डष्ट्रिज, नेशनल रबर इन्डस्ट्रिज, मिराज इन्डस्ट्रिज र निर्माणाधीन ज्याकर पाइप्स एण्ड फिटिङ इण्डष्ट्रिजमा क्षति पुर्याएको थैवले बताए । यस्तै भैरहवा–परासी कोरिडोरका सिद्धि विनायक एग्रो इण्डष्ट्रिज, श्री स्टिल, शंकर ग्यास उद्योग, जय माता दी पाइप उद्योगलगायतका आधा दर्जन बढी उद्योगहरुमा पनि लाखौंको क्षति भएको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले बताए ।

तानसेनमा घर भत्किंदा बालिकाको मृत्यु
अविरल वर्षाका कारण पाल्पाको तानसेनमा घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका ५ कैलाशनगरमा एकतले कच्ची घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वषिर्या छोरी नैना दर्जीको मृत्यु भएको हो । रातको साढे २ बजे घरपछाडिको गारो भत्किएर पुरिँदा गम्भीर घाइते भएकी बालिकालाई उपचार गर्न मिसन अस्पताल तानसेनमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले बताए ।

पहिरोले सडक अवरुद्ध
भारी वर्षापछि पहिरो खस्दा पाल्पामा पर्ने सिद्धार्थ राजमार्गको एक दर्जन स्थानमा सडक अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-५ जोरधारा, तानसेन नगरपालिका-७ बर्तुङ, बगनासकाली गाउँपालिका-३ धैरेनी, बगनासकाली गाउँपालिका-४ शेरा, तिनाउ गाउपालिकाको सिद्धबाबा, केराबारी, सिसुवा र हिउँदखोलामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । यस्तै तानसेन-११ सम्मोबारीमा पहिरो जाँदा तानसेन-रिडी सडकखण्ड र रम्भा-३ सीता पहाडमा पहिरो खस्दा बर्तुङ-रामपुर सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

निरन्तरको वर्षात्ले मुग्लिङ सडकको विभिन्न स्थानमा यसअघि ठूला पहिरो खसेको थियो भने अहिले पृथ्वी राजमार्गको केहि स्थानमा पहिलोको जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?