काठमाडौं। इटालियन सिरी-ए अन्तर्गत गए राति खेलिएको खेलमा एसी मिलानले कालियारीलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
मिलानको घरेलु मैदान सान सिरोमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफको १२औं मिनेटमा अग्रता लिन सफल भएको थियो। मिडफिल्डर सान्ड्रो टोनालीको गोलमा अग्रता लिएको मिलानले खेलको १५औं मिनेटमा गोल खान पुग्यो।
कालियारीका मिडफिल्डर अलेसान्द्रो डेइओलाले गोल गर्दै पाहुना टोलीलाई बराबरीमा पुर्याएका थिए। तर त्यसको दुई मिनेट पछि नै मिलानले खेलमा पुनः अग्रता लिन सफल भयो।
फूल ब्याक थियो हरनान्डेजको हासमा स्ट्राइकर राफाएल लियोले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। पहिलो हाफको २४औं मिनेटमा मिलानले अग्रता दोब्बर बनायो।
चेल्सीबाट यसै सिजन मिलानमा अनुबन्ध भएका स्ट्राइकर ओलिभियर जिरूले क्लबको लागि पहिलो आधिकारिक गोल गर्दै मिलानको अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमा मिलानले अर्को गोल पनि थप्यो।
जिरुले खेलको ४३औं मिनेटमा पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो तथा मिलानको चौथो गोल गर्न सफल भएका थिए। पहिलो हाफमा ४-१ गोलले अगाडि रहेको मिलानले दोस्रो हाफमा कुनै पनि गोल थप्न सकेन।
उता कालियारीले पनि खेलमा कुनै गोल थप्न नसक्दा मिलानले सहज जित दर्ता गरेको छ। यस जितसँगै मिलानलाई दुई खेलमा दुई जित प्राप्त भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया