‘हजुरबा, हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्छ’– सुनिल क्षेत्री

काठमाडौं। नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि भारतीय फुटबल टोली आज (सोमवार) नेपालको राजधानी काठमाडौं आइपुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुलीसहितको टोलीले भारतीय फुटबल टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो। भारतीय टोली सोमवार अपरान्ह काठमाडौं आइपुगेको हो।

विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा र आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने कुरा बताए । त्यस्तै उनले नेपाली टोलीको खेलको प्रशंसा पनि गरे । सुनिल र सञ्चारकर्मीबीचको अन्तर्वार्ताको सम्पादित अंश यस्तो रहेको छ ।

May be an image of 2 people, people standing and text that says "SONY"

नेपालमा आएर मैत्रिपूर्ण खेल खेल्दै हुनुहुन्छ । साफ अगाडिको तयारी खेललाई कसरी लिनु भएको छ ?

नेपालमा आएर खेल्न पाउँदा खुसी छौं । नेपालसँग मैत्रिपूर्ण खेल खेल्न सहज छैन । नेपालले निमन्त्रणा गरेकोमा धन्यवाद दिन चाहन्छु । यसको निकै महत्व छ । अहिले कोभिडका कारण अवस्था कठिन छ । यस्तो अवस्थमा पनि नेपालले राम्रो हस्पिटालीटि दिएर बोलाउनु भएकोमा धन्यवाद दिन चाहन्छौं ।

नेपाली टोलीलाई कसरी हेर्नुहुन्छ ?

यसअघि पनि नेपालसँग खेलेका छौं । नेपाल बलियो टोली र कठिन प्रतिद्वन्द्वी हो । पछिल्लो समय राम्रो नतिजा निकालेर राम्रो प्रदर्शन गरिरहेको छ । एएफसीमा आर्मीले राम्रो गरेको छ । नेपालले संधै राम्रो खेल्ने गर्छ । अहिलेको अवस्थामा नेपाली टोली बलियो रहेको छ । टोली फर्ममा छ । राम्रो गर्ने टोली छ ।

May be an image of 1 person, sitting and standing

कोरोना महामारीको कठिन अवस्थामा भारतले साफ तयारीलाई कसरी अगाडि बढाएको छ ?

अहिले हाम्रो अवस्था निकै कठिन छ । कठिन तरिकाले हामी अगाडि बढिरहेका छौं । किनभने भने हाम्रो लिग खतम भइसकेको छ । दुई क्लबले मात्र अभ्यास गरिरहेका छन् । साफका लागि खेलाडी पर्याप्त मात्रामा अभ्यासमा थिएनन् । दुई हप्तादेखी तयारी गरेका छौं । सिनियर खेलाडी पनि कमैमात्र छन् । नेपालसँग हुने दुई मैत्रिपूर्ण खेल हाम्रो लागि निकै महत्वपूर्ण छन् । यी दुई खेलपछि हामी साफका लागि माल्दिभ्स जाने हो । अहिलेको अवस्थामा धेरै सिनियर खेलाडी एएफसी कपमा खेलेका छन् । दुईवटा क्लबका ८ खेलाडी माल्दिभ्समा खेलिरहेका छन् । जसका कारण हामीले समयमा नै अभ्यास थाल्न सकेनौं । जुनियर खेलाडी टोलीमा समावेश भएका छन् । उनीहरुको प्रदर्शनबाट कोच सन्तुष्ट छन् । राम्रो भन्दा राम्रो खेल्ने हाम्रो लक्ष्य छ । म पनि पछिमात्र टोलीमा आबद्ध भएको हुँ । कोचलाई मात्र थाह छ, को खेलाडी खेलाउने, को खेलाडीलाई नखेलाउने भन्ने बारे ।

सुनिल क्षेत्रका फ्यान नेपालमा पनि धेरै छन् । नेपालमा खेल्दा कस्तो अनुभव हुन्छ ?

नेपालमा खेल्न पाउँदा मलाई निकै खुसी लाग्छ । एउटै भाषा छ । हजूरबा, हजूरआमा यहींबाट हुनुहुन्थ्यो । ममी पनि यहीबाट हुनुहुन्छ । यस्तो अवस्थामा पनि सबैजना सुरक्षित हुनुहुन्छ । सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु ।

May be an image of 2 people and people standing

नेपाल र भारतबीचको खेल भदौ १७ र २० गते काठमाडौंस्थित दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ५:३० बजे खेलिने तालिका रहेको छ। साफ च्याम्पियनसिपको तयारीका लागि दुवै टोलीले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। नेपालले पछिल्लो पटक भारतसँग सन २०१८ को विश्वकप छनोट अन्तर्गतको खेलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?