वर्षायाममा अचारमा ढुसी लाग्न कसरी नदिने

लोकपथ
665
Shares

खाना खाँदा अचार नखाने को होला र रु अचार देख्ने बित्तिकै कतिलाई भोक जाग्छ भने कतिपयलाई अचारले खाना स्वादिष्ट बनाएर खाना अझ रुचिकर समेत बनाउँछ ।

नेपाली भान्छामा अचार मुख्यतया दुई किसिमका हुन्छ एक ताजा र अर्को बासी । ताजा र बासी अचारको पनि आ–आफ्नै किसिमको स्वाद हुने गर्छ । जसको कारण कतिपयलाई ताजा अचार मन पर्छ भने कतिपयलाई बासी अर्थात् खाँदेर बनाएको ।

यसरी लामो समय राखेर खान मिल्ने अचारलाई बर्षायाममा भने जोगाउन अप्ठ्यारो नै पर्ने गर्छ । खाँदेर बनाइएका अचरलाई बर्षायाममा हुने मुख्य समस्या भनेकै त्यसमा ढुसी पर्नु नै हो । कुनै पनि खानेकुरामा ढुसी आयो भने यसले त्यो खानाको स्वाद नै बिगार्ने गर्छ भने यसको सेवन गरेमा शरीरलाई थप हानी पनि गर्छ । त्यसैले बर्षायाममा यस्ता परिकारलाई ढुसी लाग्न बाट जोगाउनु अप्ठ्यारो नै हुन्छ । लामो समय राखेर खाने किसिमका अचारलाई वर्षायाममा ढुसी लाग्न बाट जोगाउन पनि सकिन्छ ।

राम्ररी सुकाएर मात्र बनाउने

लामो समय खान मिल्ने अचार अर्थात् खाँदेर बनाउने अचार बनाउनु भन्दा पहिला नै सावधानी अपनाउनु पर्छ । खाँदेर बनाउने अचार तयार गर्दा तपाईँले त्यसमा प्रयोग हुने सामग्रीहरू सुख्खा किसिमको हुनुपर्छ । यदि सुख्खा छैनन् भने घाममा राम्ररी सुकाएर मात्र बनाउनु भयो भने बर्षायाममा त्यस्ता अचारमा ढुसी लाग्दैन । बर्षायाममा बाहिरको वातावरण ओसिलो हुने हुनाले खाँदेको अचारमा पानी आउने सम्भावना बढी हुन्छ । यसरी खाँदेको अचारमा पानी आयो भने त्यसमा ढुसी पर्न सक्छ । त्यसैले बर्षायाममा यस्ता किसिमका अचारलाई सुरक्षित राख्ने हो भने बेला बेलामा घाममा राख्ने गर्नुपर्छ ।

तेल र नुन थप्ने

लामो समय खाने भनेर बनाउने अचारमा कहिले काहीँ तेल र नुनको कमी भएको कारणले पनि ढुसी आउन सक्छ । यो बाहेक अचार बनाउन प्रयोग भएका सामग्रीमा राम्ररी तेल नलाग्नाले पनि ढुसी पर्ने समस्या हुनसक्छ । यदि लामो समय खाने भनेर बनाइने अचारलाई ढुसी पर्न नदिने हो भने त्यसमा तेल र नुनको मात्रा राम्ररी मिलाइएको हुनुपर्छ । सकभर खाँदेको अचारलाई तेलमा राम्ररी डुबाउन सकियो भने त्यसमा ढुसी लाग्दैन ।

यसरी गर्नुहोस् स्टोर

खाँदेको अचारलाई ढुसी पर्न वाट जोगाउने हो भने यसलाई राख्ने ठाउँको वातावरणलाई पनि ध्यान दिनु पर्छ । यस्तो किसिमको अचारलाई सबैभन्दा राम्रो सिसाको भाँडोमा राख्नु नै हुन्छ । यदि सिसाको भाँडो छैन भने सेरामिकको भाँडोमा पनि राख्न सकिन्छ । यस्ता किसिमका अचारलाई कहिल्यै पनि प्लास्टिकको भाँडोमा राख्नु हुँदैन । यस्ता किसिमका अचारलाई प्लास्टिकको भाँडोमा राख्दा प्लास्टिकको भाँडोसँग यसको रियाक्सन हुन्छ जसको कारण अचारमा अर्कै गन्ध आउनुका साथै ढुसी पनि पर्न सक्छ ।

यो कुरालाई पनि ध्यान दिऔँ

यस्ता किसिमका अचार लामो समयसम्म खाइने हुनाले हामीले पटक पटक निकाल्ने गर्छौ । यसरी अचारलाई निकाल्दा प्रयोग गर्ने चम्चा सधैँ सुख्खा बनाएर मात्र झिक्ने गर्नुपर्छ । यस्ता किसिमका अचारलाई मुख्य भाँडोबाट पटक पटक झिक्नु भन्दा एकै पटक १–२ दिनलाई पुग्ने गरेर झिक्ने गर्नुपर्छ । यदि यस्तो किसिमको अचार थोरै मात्रामा छ भने त्यस्तो अचारलाई फ्रिजमा राखेर पनि त्यसलाई ढुसी पर्न वाट जोगाउन सकिन्छ । तपाई पनि यस्ता किसिमको अचार बनाउदैं हुनुहुन्छ यसमा प्रयोग गरिने मसलाहरूलाई एक पटक हल्का भुटेर बनाउनु भयो भने यसमा ढुसी पर्ने सम्भावना धेरै कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?