‘अल्मुताइरीले मानसिक रूपमा बलियो बनाएका छन्’- किरण चेम्जोङ

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतविरुद्धको खेल कठिन हुने बताएका छन्।

बुधवार आयोजित प्रि-म्याच कन्फरेन्समा किरणले भारतविरुद्धको दुवै खेल कठिन हुने भएपनि नेपाली टोली जितकै लागि मैदानमा प्रवेश गर्ने बताए। उनले अहिले राष्ट्रिय टोलीका सबै खेलाडी शारीरिकसँगसँगै मानसिक रूपमा पनि बलियो भएको बताए।

“हामीले अल्मुताइरीसँग प्रशिक्षण गरेको लगभग ६-७ महिना भयो। अल्मुताइरी कोच मात्र नभएर बुवा समान छन्, उनको नेतृत्वमा हामी मानसिक रूपमा पनि बलियो भएका छौँ”, किरणले भने।

आगामी अक्टोबर १ देखि माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल आयोजन हुन लागेको हो। नेपालको लक्ष्य साफ च्याम्पिनसिप उपाधि नै भएपनि भारतविरुद्ध जितकै लागि खेल्ने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको भनाई छ।

“टेक्नोलोजीको जमानामा हामीलाई भारतको र भारतलाई हाम्रो बारेमा सबै कुरा थाहा छ। यी कुरा लुकाएर लुक्ने कुरा होइनन्, भारतविरुद्ध जितकै लागि खेल्नेछौँ, वीर गोर्खाली भएर खेलनेछौँ”, अल्मुताइरीका शब्द थिए।

त्यस्तै भारतका कप्तान सुनिल क्षेत्रीले पनि नेपाली टोलीको तारिफ गरेका छन्। उनले नेपालले आफ्नो घरेलु मैदानमा सँधै शानदार प्रदर्शन गर्ने गरेको पनि बताए। “नेपालसँग नेपालमै फुटबल खेल्न सजिलो हुँदैन, नेपाल बलियो टोली हो र हामीले भोलि पनि नेपालबाट कडा प्रदर्शनको अपेक्षा गरेका छौँ”, उनले भने।

भारतीय कप्तान क्षेत्रीले भारतले खेल जित्न सक्दो प्रयास गर्ने पनि बताए। “नेपालप्रति अवश्य पनि सफ्ट कर्नर छ, तर त्यो कुरा मैदान प्रवेश गर्न साथ मान्य गर्दैन, हामी जितकै लागि खल्नेछौँ।”

नेपाल र भारतबीचको पहिलो खेल भोलि बिहीवार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिने छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सबै स्वास्थ्य मापदण्ड पुरा गरी ५ हजार १ सय दर्शकलाई मैदानमा प्रवेश अनुमति गराउने जानकारी पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?