काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहीवार) भारतविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ। नेपालले सन् २०१५ पछि पहिलो पटक भारतसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो।
आगामी अक्टोबर १ देखि माल्दिभ्समा आयोजना हुन लागेको साफ च्याम्पियनसिपको तयारीका लागि यी दुई देशले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। साफ च्याम्पियनसिपकै लागि भनेर विगत दुई महिनादेखि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले नेपाली खेलाडी शारीरिकसँगसँगै मानसिक रूपमा पनि बलियो भएको बताएका छन्।
किरणले बुधवार आयोजित प्रि-म्याच कन्फरेन्समा सबै नेपाली खेलाडी अहिले मानसिक रूपमा बलियो रहेको र भारतविरुद्ध जितकै लागि खेल्ने बताए। त्यस्तै नेपालको घरेलु मैदान दशरथ रंगशालामा डेब्यू गर्न गइरहेका नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि आफ्नो टोली जितकै लागि मैदान प्रवेश गर्ने बताएका छन्।
पहिलो पटक घरेलु दर्शकमाझ नेपाली भूमिमा डेब्यू गर्न गइरहेका अल्मुताइरीले समर्थकको अगाडि खेलिएको खेलको छुट्टै महत्व रहने पनि बताए। नेपाल सरकारको समन्वयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले ५१ सय दर्शकलाई मैदान प्रवेशमा अनुमति दिएको छ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले दर्शक प्रवेशका लागि सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरिएको पनि बताएका छन्। दर्शकले खेल हेर्न आउँदा खोप लगाएको प्रमाण देखाउनु पर्ने नियम लगाइएको छ। अथवा पीसिआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य रहेको बताइएको छ।
त्यस्तै सबै टिकेट ‘प्रभु पे’मार्फत अनलाइन किन्न सकिने छ। भीआईपी प्याराफिट तर्फको टिकेटको मूल्य २ हजार रुपैयाँ रहेको छ भने साधारण प्याराफिट तर्फको टिकट मूल्य १ हजार रुपैयाँ राखिएको छ।
साफ च्याम्पियनसिपको लागि गत अगस्ट १५ देखि तयारीमा रहेको भारतीय टोलीलाई भने नेपालविरुद्धको खेल अझै महत्वपूर्ण रहेको देखिन्छ। भारतको कोलकाता सहरमा आफ्नो अभ्यास थालेको भारतीय टोलीका धेरै जसो खेलाडी भने एएफसी कपमा सहभागी भएको कारण राष्ट्रिय टोलीको अभ्यासमा सहभागी हुन सकेका थिएनन्। बेंगलूरु एफसी तथा एटीके मोहन बगानका खेलाडी भने अगस्ट २९ मा मात्र राष्ट्रिय टोलीमा सम्मिलित भएका थिए।
यसैबीच भारतीय कप्तान सुनिल क्षेत्रीले भारतलाई नेपालविरुद्धको खेल निकै कठिन हुने बताएका छन्। उनले नेपालको घरेलु मैदानमा नेपालसँग प्रतिस्पर्धा गर्न सधैं गार्हो हुने बताउँदै नेपाली टोलीबाट उच्च स्तरीय खेलको अपेक्षा गरेको बताएका छन्। सन् २०१५ मा पछिल्लो पटक नेपाल भ्रमण गरेको भारतीय टोलीले त्यस बेला गोलरहित बराबरीको खेल खेलेको थियो।
भारतविरुद्ध नेपाल
समय: साँझ ५:३० बजे
स्थान: दशरथ रंगशाला, काठमाडौं
दशरथ: ५,१०० अपेक्षित
पछिल्लो पटक: भारत २-० नेपाल (जुन ६, २०१७ मुम्बई)
फिफा वरियता: भारत १०५, नेपाल १६८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया