नवराज भट्ट / काठमाडौं । प्रजातान्त्रिक जनआन्दोलन र गणतान्त्रिक जनआन्दोलन गरेर नेपालमा ठूलाठूला तीनवटा जनआन्दोलन भए। यी तीनवटै जनआन्दोलनको नेतृत्व गर्ने अन्य कुनै दल जन्मिएन। सत्याग्रहजस्ता अन्य थुप्रै आन्दोलनहरु भए लोकतन्त्रका लागि र ती आन्दोलन एक्लैले गर्न कांग्रेस बाध्य भएको थियो।
२०३७ को जनमत संग्रहमा त अन्य राजनीतिक दलहरुको सहयोग नपाएको मात्र होइन, नीलोमा मत हाल्ने कांग्रेस मात्र एउटा पार्टी थियो। पञ्चहरुले २४ लाख भोट पाउँदा पञ्चायतको विरुद्धमा बीस लाख नेपाली छन् भनेर देखाउने एउटै मात्र पार्टी नेपाली कांग्रेस थियो। अर्थात् नेपालमा लोकतन्त्रको बीउ जोगाएर राख्नका लागि कांग्रेस नै चाहिन्छ, त्यसैले कांग्रेस बचाऊ भन्ने आग्रह गर्नुपरेको हो।
मैले सन् १९९० मा एक जना विचित्रका युवा भेटेको थिएँ। उनी भनिरहेका थिए– मैले वीपी कोइरालालाई चुनावमा सघाएको छु, उनले मलाई मोटरसाइकलमा एक महिना तेल हाल्न पुग्ने पैसा दिए। बुझ्नेहरु हाँसिरहेका थिए, नबुझ्नेहरु विश्वासका साथ अँअँ भन्दै टाउको हल्लाइरहेका थिए। मैले नाम बिर्सेको भन्ठानेर सच्याउने मनसायले भनेँ, ‘भाइले भनेको गिरिजा या सुशील कोइराला हुनुपर्छ । वीपी कोइराला त म पनि सानै छँदा बितेका ।’
नेविसंघको जिल्ला नेतृत्त्वमा काम गरिसकेको त्यो भाइको जवाफले नेपाली समाजवादी राजनीतिको स्तर बताउँथ्यो। उसले मतिर हेरेर प्रश्न तेर्स्यायो, ‘नेपालमा कोइराला पनि राजाजस्तै दुईरतीनटा थियो र ?’ म उठेर हिँडेँ, स्वर्गीय गोविन्द वर्तमानले एउटा साहित्यिक कार्यक्रममा गोपालप्रसाद रिमालको नाम नसुन्ने रिपोर्टरलाई कठालो समातेर निकालेको घटना दिमागमा खेलाउँदै।
जब वीपी कोइरालाको दर्शन त के, सामान्य चिन्तन पनि थाहा नभएकाहरु कांग्रेसका अगुवा कार्यकर्ता हुन्छन् र मदन भण्डारी भनेको विद्या भण्डारीको श्रीमान्का रुपमा चिन्ने राजनीतिक कार्यकर्ता बहुमतमा पुग्छन्, त्यसबेला पुष्पलाल र गणेशमान सिंहको सादा जीवन इतिहासको पनि कुनामा थन्किँदो रहेछ।
भीमबहादुर तामाङभन्दा खुमबहादुर र जोशीहरु पूजनीय हुन्छन् अनि टङ्क कार्की र महेश बस्नेतको मूल्य एउटै तराजुमा राखेर तय गरिन्छ। राजनीतिको एउटा विश्वव्यापी अनुभवले के देखाएको छ भने, कुनै पनि देशको एउटा ठूलो शक्ति या प्रमुख हिस्सा जति प्रस्ट छ, अन्य शक्तिहरु पनि उसको मार्गमा धेरथोर हिँडेकै हुन्छन् । र, प्रमुख शक्ति या तिनका बहुसंख्यक कार्यकर्ताको पंक्ति गलत छ भने त्यसको असर अन्य राजनीतिक दल र आम जनतामा परेकै हुन्छ।
लोकतन्त्रका लागि नेपाली जनताको ढुकढुकी नेपाली कांग्रेस नै हो। विकास र समृद्धि कांग्रेसबाट मात्रै सम्भव छ भन्ने विश्वास अझै छ नेपाली जनतामा। अझ त्यसलाई पुष्टि गर्न केपी ओलीका क्रियाकलापले सहयोग गरेको अवस्था छ।
जनताको यो आस्था, विश्वास र भरोसालाई कांग्रेसको नेतृत्व र नेतागणले कदापि मर्न दिन हुँदैन। जनताको संवेदनालाई नेताहरुले मनन गर्नेछन् भन्ने विश्वास जनतामा मरिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया