अल्जेरियामा सैनिक विमान दुर्घटना २५७ जनाको मृत्यु

अल्जेरिया, २८ चैत – चालक दलका १० सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान वुधबार दुर्घटना भएको छ ।राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट दक्षिणपश्चिम अल्जेरियाको टिन्डोफका लागि उडेको केही बेरमै विमान दुर्घटनामा परेको अल्जेरियाली अधिकारीले बताएका छन् ।इल्युशिन २–७६ विमानमा यात्रारत अधिकांश सैनिक अधिकारी र उनीहरूका परिवारका सदस्य रहेका र दुर्घटनामा सम्पूर्ण व्यक्तिको निधन भएको अल्जेरियाली अधिकारीले जनाएका छन् ।घटनास्थलमा पुगेका एएफपी फोटो पत्रकारले अल्जेरियाको बोफारिक हवाई शिविर नजिकै विमान जलेर ध्वस्त भएको अवस्थामा देखेको बताएका छन् ।अल्जाएर्सको दक्षिणपश्चिमी क्षेत्रबाट घटनास्थलतर्फ सयौँ एम्बुलेन्स तथा दर्जनौँ दमकल साइरनसहित गएका उनले बताए ।अल्जेरियाका रक्षामन्त्रीले एक विज्ञप्ति जारी गरी विमानमा यात्रारत १० जना चालक दलका सदस्यसहित २४७ यात्रुको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।उपरक्षामन्त्री जनरल अहमद गाइद सालेहले विमान दुर्घटनास्थलमा पुगी घटनाको विवरण लिनुभएको रक्षा मन्त्रालयले बताएको छ ।अल्जेरियाको कोन्सटेन्टाइनमा यस पहिले सन् २०१४ को फेब्रुवरीमा भएको विमान दुर्घटनामा ७७ जनाको मृत्यु भएको थियो भने सोही बर्ष जुलाईमा भएको अर्को अल्जेरियाली विमान दुर्घटनामा ११६ जनाको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?