पछिल्लो समय कम उमेरका व्यक्तिहरूमा पनि हृदयाघातको खतरा बढ्दै गएको मुटु रोग विशेषज्ञहरूले बताउन थालेका छन् । कम उमेरमा हृदयाघात हुनुको मुख्य कारणमा वंशाणुगत गुण, अव्यवस्थित खानपिन र खराब जीवन शैलीलाई नै प्रमुख कारण बताइने गरेको छ ।
हृदयाघातको खतरा कम उमेरका व्यक्तिहरूमा हुने सम्भावना बढ्दै गएपछि चिकित्सकहरूले उनीहरूमा हृदयाघातको खतरा किन बढेको र यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर केही सुझावहरू दिएका छन् ।
ध्रुमपानको सेवन
आजकाल युवा पुस्तामा फेसनको रूपमा ध्रुमपान गर्ने चलन बढिरहेको छ । फेसनको रूपमा विकास भएको ध्रुमपान कतिपयलाई युवा अवस्थामै लत लागिसकेको हुन्छ । ध्रुमपानको सेवनले मुटुमा विभिन्न किसिमका समस्याहरू उत्पन्न हुन्छ । ध्रुमपानको सेवनले मुटुमा कोरोनरी समस्याहरू ल्याउने र जसको कारण हृदयाघात हुने सम्भावना बढी हुने गर्छ । त्यसैले ध्रुमपानको लतलाई छोड्नु नै सबैभन्दा राम्रो उपाय मानिन्छ ।
मदिरा सेवन
कम उमेरमै हृदयाघात हुनुको अर्को प्रमुख कारणमा मदिरा सेवन पनि रहेको छ । युवा पुस्तामा मदिरा सेवन गर्ने चलन पछिल्लो पटक अत्यधिक बढ्दै गएको छ । मदिराको सेवनले रक्तचाप (ब्लड प्रेसर) बढाउँछ जसको कारण मुटुका धमनीहरूमा असर गर्छ । रक्तचापको अस्वाभाविक वृद्धि हुँदा हृदयाघात हुने सम्भावना पनि बढी हुने गर्छ ।
जङ्क फुडको सेवन
जङ्क फुड स्वादिलो हुने हुनाले यसले फरक फरक उमेर समूहका व्यक्तिहरूलाई लोभ्याइरहेको हुन्छ । युवा पुस्तामा पनि अहिले घरको खाना भन्दा पनि जङ्क फुड वा बाहिर बनाएको खानेकुरा खाने चलन बढिरहेको छ । हाम्रो जस्तो विकाशिल देशमा बाहिर बनाइएको खानेकुराहरू चिल्लो र मसलादार बढी हुने हुनाले स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन । त्यसैले यस्ता कुराहरूको अत्यधिक सेवनले हृदयाघातको खतरालाई बढाउने गर्छ ।
अत्यधिक काम गर्नु
युवापुस्तामा अत्यधिक काम गर्ने जोस जाँगर रहेको हुन्छ । यो बाहेक अहिले सबै क्षेत्रमा प्रतिस्पर्धा भएको कारण काम बढी नै गर्नु पर्ने हुन्छ । कामको दबाब र प्रतिस्पर्धाले गर्दा धेरै युवाहरूले आफ्नो खानपिन र आरामको समेत बेवास्ता गर्छन् । यो बाहेक अहिलेको काम भनेको अत्यधिक समय कम्प्युटरको अगाडी बसेर गर्ने किसिमका छन् । लामो समय एकै ठाउँमा बसेर काम गर्दा धेरै व्यक्तिहरूलाई युवापुस्तामै विभिन्न किसिमका समस्याहरू देखा पर्न थालेको छ । जसमा अत्यधिक कामको चाप लिएर काम गर्दा रक्त नलीहरूमा असर गरिरहेको हुन्छ ।
तनाव
करिअर, शिक्षा, आम्दानी आदीले गर्दा युवापुस्तामै धेरैलाई तनाव दिइरहेको हुन्छ । तनावको कारण मन र मस्तिष्क सधैँ असर गरिरहेको हुन्छ । त्यसैले मुटु र मस्तिष्कलाई स्वस्थ राख्नुको एउटा राम्रो उपाय भनेको तनाव नलिनु नै हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया