आईपीएलमा दिल्लीको लगातार दोस्रो पराजय

काठमाडौं, २९ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो पराजय भोगेको छ ।जयपुरमा भएको खेलमा दिल्ली राजस्थानसँग डकवर्थ लुइस नियमका आधारमा १० रनले पराजित भएको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर एक सय ५३ रन बनाएको अवस्थामा भारी वर्षा भएपछि खेल रोकिएको थियो ।राजस्थानका लागि कप्तान अजिन्क्या राहानेले ४५ तथा सन्जु सामसनले ३७ र जोस बटलरले २९ रनको योगदान गरे । यस्तै बेन स्टोकले १६ रन थपे ।लामो समय पानी परेपछि दोस्रो इनिङको खेल ६ ओभरमा झारेर खेलाइएको थियो ।जवाफमा ६ ओभरमा ७१ रनको लक्ष्य पाएको दिल्लीले ४ विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो । उसका लागि ग्लेन म्याक्सवेल र क्रिस मोरीसले समान १७ – १७ रन बनाए भने ऋसब पन्तले २० रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?