काठमाडौं। जारी यूएस ओपन २०२१ अन्तर्गत महिला विधातर्फ क्यानडाकी लेला फर्नान्डेजले साबिक विजेता नाओमी ओसाकालाई पराजित गरेकी छिन्।
अर्थुर आशे स्टेडियममा शनिवार बिहान सम्पन्न तेस्रो चरणको खेलमा लेलाले ओसाकालाई ५-७, ७-६ ७/२ र ६-४ को सेटमा पराजित गरेकी हुन्। निकै नै प्रतिस्पर्धात्मक पहिलो सेटमा पराजय भोगेकी लेलाले खेलमा शानदार पुनरागमन गरेकी थिइन्।
दोस्रो सेट पनि निकै नै प्रतिस्पर्धात्मक रहँदा लेलाले खेलमा टाई ब्रेकरमार्फत जित निकालेकी थिइन्। दोस्रो सेटको खेल सकिँदासम्म १-१ को बराबरीमा रहेको खेलको निर्धारित सेटमा लेलाले सहज जित दर्ता गरेकी हुन्।
खेलमा १५ एस निकालेकी ओसाकाको यस वर्षको ग्रान्ड स्लाम यात्रा अन्त्य भएको छ। सन् २०२१ मा ओसाकाको खराब प्रदर्शन यूएस ओपनमा पनि जारी नै रह्यो। यस वर्ष उनी खेलमा भन्दा बढी विभिन्न विवादमा नै संलग्न भइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया