कुन मेनपावर कम्पनी कस्तो ? अनलाइनबाट नै पत्ता लगाउनुहोस्

काठमाडौं, २९ चैत्र- बैदेशिक रोजगारमा कामदार पठाउने मेनपावर कम्पनीहरुको स्तर निर्धारण गर्ने वेभसाइट सुरु भएको छ । यो वेभसाइटले बैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्वन्धित मेनपावर कम्पनीको स्तर निर्धाण गर्नेछ । अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ(आइटीयूसी) ले सुरु गरेको वेभसाइट www.recruitmentadvisor.org ले मेनपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिने भएको हो । यो वेभसाइट नेपालसँगै ईण्डोनेशिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ सुरु भएको छ । यस वेभसाइटमा हरेक मुलुकका लागि अलग्गै भाषामा पेजहरु रहेका छन् । यो वेभसाइट निर्माणमा नेपालबाट नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) ले आइटीयूसीसँग सहकार्य गरेको छ । आइटीयूसीको माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर(एमआरए) परियोजनाकी व्यवस्थापक ईरा रच्मावतीका अनुसार यस वेभसाइटले बैदेशिक रोजगारमा जान चाहनेहरुलाई सही मेनपावर कम्पनीको छनौट गर्न मद्धत गर्नेछ । उनले बैदेशिक रोजगारका क्रममा रहेकाहरु वा बैदेशिक रोजगारबाट फर्केकाहरुकै मूल्याङ्कनका आधारमा सम्वन्धित मेनपावर कम्पनीहरुको स्तर निर्धारण हुने भएको र सो जानकारीले बैदेशिक रोजगारमा जान चाहनेहरुलाई सही मेनपावर कम्पनी छनौट गर्न सहयोग गर्ने बताइन् । त्यसैले बैदेशिक रोजगारका लागि कुनै मेनपावर कम्पनीको सेवा लिइसकेकाहरुलाई आफ्नो अनुभवका आधारमा फर्म भरेर सहयोग गर्न उनले आग्रह गरेकी छन् । नेपालमा हाल १ हजार भन्दा धेरै मेनपावर कम्पनीहरु छन् । ति सवै मेनपावर कम्पनीको नाम सहितको लिष्ट www.recruitmentadvisor.org को वेभसाइटमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?