काठमाडौं, २९ चैत । दुई वर्षे प्रतिबन्धपछि यसै वर्ष इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा फर्किएको चेन्नई सुपर किङ्सलाई अर्को झट्का लागेको छ ।उसले अब प्रतियोगिताका खेल घरेलु मैदानमा खेल्न नपाउने भएको छ । सुरक्षाको कारण देखाउँदै आयोजकले चेन्नेइमा हुने सबै खेल पुणेमा खेलाउने निर्णय गरेपछि चेन्नईले घरेलु मैदान र समर्थकको साथ नपाउने भएको हो ।काभेरी नदीको पानी सम्बन्धि विवाद र त्यसका क्रममा भइरहेको प्रदर्शनका कारण सुरक्षा खतरा बढेको भन्दै आयोजकले चेन्नईमा हुन बाँकी ६ वटै खेल पुनेमा खेलाउने निर्णय गरेको हो ।मंगलबार पनि चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्सबीचको खेलअघि पनि रंगशालाबाहिर ठूलो प्रदर्शन भएको थियो ।भारतका २ छिमेकी राज्य तामिलनाडु र कर्नाटकबीच काभेरी नदीको पानीसम्बन्धी विवादमा चेन्नईमा प्रदर्शन जारी छ ।चेन्नई सुपरकिङ्सका मुख्य कार्यकारी अधिकृत काशी विश्वनाथनले आईपीएलका आयोजकलाई भेटी बाँकी खेल पुणेमा सार्न आग्रह गरेका थिए । पुणेको मैदान चेन्नईका कप्तान महेन्द्रसिंह धोनी र प्रशिक्षक स्टेफेन फ्लेमिङका लागि भने परिचित मैदान हो ।आईपीएलका अघिल्ला २ संस्करणमा धोनी पुणेका कप्तान र फ्लेमिङ प्रशिक्षक थिए । सन् २०१४ को आईपीएलमा पनि चेन्नईले चारवटा खेल घरेलु मैदानमा खेल्न पाएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया