सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान नदिए पछुताउनुपर्ला !

लोकपथ
294
Shares

काठमाडौं । पछिल्लो समय सेयर बजारमा युवापुस्ताको क्रेज बढ्दो छ । बजारमा दिनहुँजसो नयाँ लगानीकर्ता भित्रिने क्रम बढ्दो छ भने सेयर बजारप्रति आम लगानीकर्ताको चाँसो बढ्न थालेको छ । हालसम्म हितग्राही खाता (डिम्याट अकाउन्ट) खोल्नेको संख्या ४२ लाख नाघिसकेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का अनुसार हालसम्म डिम्याट अकाउन्ट खोल्नेको संख्या ४२ लाख ६८ हजार नाघेको छ ।

पछिल्लो समय निष्काशन हुने गरेका प्राथमिक सेयर (आईपीओ) मा पनि लगानीकर्ता झुम्मिने गरेका छन् । एउटै कम्पनीको आईपीओमा २४ लाखसम्म पर्ने गरेको उदाहरणले नै पछिल्लो समय युवापुस्तामा सेयर बजारमा बढेको क्रेजलाई पुष्टि गर्छ । पहिलेपहिले कम्पनीहरुलाई साधारण सेयर बेच्न समेत हम्मेहम्मे पर्थ्यो भने अहिले लगानीकर्तालाई कम्पनीको १० कित्ता आईपीओ पाउन हम्मेहम्मे पर्छ । पछिल्लो समय कुनै कम्पनीको आईपीओ पाउन भाग्य कै भर पर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

यो त भयो प्राथमिक बजारमा कुरा । अब कुरा गरौँ धितोपत्र दोस्रो बजार अर्थात् सेकेण्डरी मार्केटको । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा पनि लगानीकर्ताको क्रेज उस्तै छ । सेयर बजार पनि दिनहुँ ऐतिहासिक बाटोतर्फ लागिरहेको छ । एक वर्ष अगाडीसम्म १२/१३ सयको विन्दुमा घुमिरहेको बजारले एक वर्षको अवधिमै ३२ सयको विन्दु छोइसकेको छ । त्यस्तै कारोबार रकम पनि ३/४ अर्बबाट बढेर २२ अर्ब को हाराहारीमा पुगिसकेको छ । यहींबाट नै पुष्टि हुन्छ कि पछिल्लो समय नेपाली सेयर बजार बुलिस ट्रेन्डतिर लागिरहेको छ ।

बजारमा नयाँ लगानीकर्ताहरु भित्रिने क्रम बढ्दो छ । कतिपय नयाँ लगानीकर्ताहरुलाई बजारमा कसरी लगानी गर्ने, कसरी प्रोफिट बुक गर्ने, कसरी सेयर बजारबाट मन्यग्य कमाउने, घाटा हुनबाट कसरी बच्ने ? यो बारे थाहा नहुन नि सक्छ । किनभने उनीहरु हल्लाको भरमा बजारमा लगानी गरिरहेका हुन्छन् । पछिल्लो समय बजार हल्लाको भरमा चलिरहेको छ । जसले गर्दा बजारमा जोखिम पनि बढिरहेको छ । त्यसैले सेयर बजारमा लगानी गर्नुपूर्व धेरै कुरामा विचार पुर्याउनुपर्ने हुन्छ । सेयर सेयर बजारमा लगानी गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरु के-के हुन त यो बारे हामी जानकारी गराउँदै छौं ।

सेयर बजारमा लगानी गर्दा ध्यान दिनैपर्ने कुराहरु यसप्रकार छन्:-

१. हल्लाको पछाडी नलाग्ने

कतिपय लगानीकर्ताहरु हल्लाको भरमा बजारमा लगानी गरिरहेका हुन्छन् । यसरी लगानी गर्दा लगानी डुब्ने प्रबल सम्भावना हुन्छ । हल्लाको भरमा गरिएको लगानी क्षणभरमै खरानी पनि बन्न सक्छ । हल्लाको पछि लाग्दा जोखिम बढी हुन्छ । त्यसैले सेयर बजारमा लगानी गर्नुपर्व अध्यनशील हुनु अत्यन्तै जरुरी हुन्छ । बजारको बारेमा राम्ररी बुझेर उपयुत्क कम्पनीको छनोट गरी लगानी गर्ने गर्नुपर्छ । यसो गर्दा कम जोखिम रहन्छ ।

२. कम्पनीको बारेमा जानकारी 

आफूले लगानी गर्न लागेको कम्पनी कस्तो छ ? यसको व्यवस्थापन समूह कस्तो छ ? कम्पनीको वित्तीय अवस्था कस्तो छ ? यी सबैको बारेमा अध्ययन गर्नुपर्छ । कम्पनीको सबै पक्ष ठिक छ भन्ने निचोड निकालेपछि मात्र त्यस्तो कम्पनीमा लगानी गर्नु उपयुक्त हुन्छ ।

३. जोखिम बहन गर्न सक्ने क्षमता 

कतिपय व्यक्तिहरु सेयर बजारमा लगानी गर्ने वित्तिकै मालामाल भइन्छ भन्ने भ्रममा छन् । त्यसैले उनीहरु आफ्नोई जोखिम बहन गर्ने सक्ने क्षमताको मूल्यांकन नै नगरी बजारमा लगानी गरिहाल्छन् । जसले गर्दा पछुताउनुपर्ने अवस्था आउन पनि सक्छ । बजार सधैँ बढिरहन्छ भन्ने छैन कहिकाही सेयर बजारमा ठुलै करेक्सन आउन पनि सक्छ । त्यसैले लगानी गर्दा आफ्नो जोखिम बहन गर्न सक्ने क्षमतालाई मुल्याकन गरेर मात्र लगानी गर्नुपर्छ ।

४. वित्तीय विवरणको अध्ययन गर्ने 

सेयर बजारमा लगानी गर्नु जोखिम कुरा हो । यहाँबाट छिनमै कमाउन पनि सकिन्छ भने छिनमै डुब्न पनि । त्यसैले कम्पनीले प्रकाशन गर्ने हरेक त्रैमासिक वित्तीय विवरणको अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ । लगानीकर्ताले जहिलेपनि पिई रेसियो कम भएको र प्रतिसेयर आम्दानी बढी भएको कम्पनीमा लगानी गर्नुपर्छ ।
त्यसैगरी, कम्पनीले कति खुद नाफा आर्जन गरेको छ, वितरणयोग्य आम्दानी कस्तो छ ? सो बारे पनि अध्ययन गर्नुपर्ने हुन्छ । कम्पनीको लाभांश वितरण गर्न सक्ने अवस्थाको पानो अध्ययन गर्नुपर्छ । कम्पनीको समग्र वित्तीय अवस्थाको अध्ययन गरेर लगानी गर्नु ठिक छ या छैन भन्ने निष्कर्ष निकालेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ ।

५. कुन बेला किन्ने, कुन बेला बेच्ने ? 

कतिपय लगानीकर्ताहरु बजार घट्ने बित्तिकै आत्तियर बेचिहाल्ने प्रवित्तिका हुन्छन् । यसो गर्दा घाटा पनि व्यहोर्नुपर्ने हुन्छ । बजार बढ्नकै लागि घटेको हुन्छ । घटिरहन्छ नै भन्ने हुँदैन । एउटा निश्चित विन्दुमा पुगेपछि पनि बजारले पुन गति लिन्छ । त्यसैले बजार घट्ने बित्तिकै बेचिहाल्नु हुँदैन । कतिपय लगानीकर्ताहरु अझै नाफा कमाउने लोभमा बजारमूल्य बढेको बेला पनि होल्ड गरेर राख्छन् यसो गर्दा पनि जोखिम नै हुन्छ । किनभने बजार एउटा निश्चित विन्दुमा पुगेपछि पुनः करेक्सन आउँछ । आफुले किनेको सेयर नाफामा गएपछि प्रोफिट बुक गरिहाल्नुपर्छ । बजार बढ्दा बेच्ने र बजार घट्दा किन्ने गर्नु उपयुक्त हुन्छ ।

६. अध्यनशील हुने 

लगानी गर्नुपूर्व जहिले पनि सेयर बजारको पछिल्लो अवस्था, आफुले लगानी गर्ने कम्पनीको अवस्था लगायत सम्पूर्ण अवस्थाको अध्ययन गर्नुपर्छ । बजार सधैं एकनास हुँदैन । बढ्ने र घट्ने बजारको नियम नै हो । त्यसैले लगानी गर्नुपूर्व यी कुराहरुमा सधैँ चनाखो बन्नुपर्छ ।

यद्यपि बजारमा लगानी गर्दा स्वविवेक प्रयोग गर्नु नै उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?