काठमाडौं। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (आईतबार) खेलिँदै छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुई छिमेकी राष्ट्रबीचको खेल साँझ ५:३० बजे सुरु हुने तालिका रहेको छ। आजको खेलमा दुवै टोली जितको लागि मैदान प्रवेश गर्नेछन्।
पहिलो खेल १-१ गोलको बराबरी खेलेका दुवै टोलीले खेलमा निर्णायक गोल गर्न सकेका थिएनन्। पहिलो हाफको ३६औं मिनेटमा स्ट्राइकर अन्जन विष्टको गोलमार्फत अग्रता लिएको नेपालले सुरुवाती ४५ मिनेट आफ्नो पक्षमा पार्न सफल भएको थियो।
यद्यपि दोस्रो हाफको सुरुवातमा नै चार खेलाडी परिवर्तन गरेको भारतले त्यसपछि खेलमा बराबरी गोल गरेको थियो। खेलको ६०औं मिनेटमा भारतका लागि प्रतिस्थापन भएर मैदान प्रवेश गरेका अनिरुद्ध थापाले बराबरी गोल गरेका थिए।
खेलमा दुवै टोलीले अग्रता लिने केही राम्रो मौकाको सदुपयोग गर्न नसक्दा पहिलो खेल १-१ गोलको बराबरीमा अन्त्य भएको थियो। खेल पछिको ‘पोस्ट म्याच कन्फरेन्समा’ दुवै टोलीका प्रशिक्षकले आ-आफ्नो टोलीले खेलमा जित निकाल्नु पर्ने र अर्को खेलमा अवश्य पनि जितकै लागि खेल्ने धारणा व्यक्त गरेका थिए।
फिफा वरियतामा १०५औं स्थानमा रहेको भारतले आफ्नो स्तरअनुसारको खेल प्रस्तुत गर्न सकेको थिएन। तर दोस्रो खेलमा भने भारत आक्रामक रणनीतिसहित जितको लागि मैदानमा उत्रने साफ देखिन्छ। त्यस्तै पहिलो खेलमा दशरथ रंगशालामा डेब्यू गरेका नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि आजको खेलमा जितकै खोजीमा हुनेछन्।
यो पनि: दोस्रो खेलमा नेपालले गर्नुपर्ने परिवर्तन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया