काठमाडौं। जारी फिफा विश्वकप २०२२ को छनोट चरणको खेलअन्तर्गत बलियो टोली नेदरल्यान्ड्सले मोन्टेनेग्रोलाई ४-० गोलले पराजित गरेको छ।
नेदरल्यान्ड्सको घरेलु मैदान फिलिप्स स्टेडियममा भएको समूह ‘जी’को खेलमा घरेलु टोलीले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफको ३८औं मिनेटमा स्ट्राइकर मेम्फिस डिपायले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा एक गोलको अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा अर्को तीन गोल थप्यो। खेलको ६२औं मिनेटमा मेम्फिसले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए।
त्यसपछि खेलको ७०औं मिनेटमा डच मिडफिल्डर जर्जिनियो वाइनाल्डमले अर्को गोल थपे। नियमित कप्तान भर्जिल भ्यान डाईकको अनुपस्थितिमा कप्तानी जिम्मेवारी सम्हालेका वाइनाल्डमले खेलमा तेस्रो गोल गरेका थिए।
त्यस्तै खेलको ७६औं मिनेटमा डच स्ट्राइकर कोडी गाक्पोले गोल गर्दै घरेलु टोलीलाई चार गोलको अग्रता दिलाउन सफल भएका थिए। यस सहज जितसँगै नेदरल्यान्ड्स समूह ‘जी’को दोस्रो स्थानमा रहेको छ। पाँच खेलमा १० अंक रहेको नेदरल्यान्ड्सभन्दा एक अंकमाथि टर्की रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया