काठमाडौं । पछिल्लो केही समययता सेयर बजारमा भारी गिरावट आइरहेको छ । आज आइतबार सेयर बजारमा ठूलो गिरावट आएको छ । आज सेयर बजारमा एक सयभन्दा बढी अंकको गिरावट आएको हो ।
आइतबार सेयर नेगेटिभ सर्किट नै लागेर ४० मिनेटसम्म कारोबार बन्द गरिएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ बिन्दुमा पुगी बजार बन्द भएको छ । आज नेप्से ३.७० प्रतिशतले घटेको हो । ‘इन्ट्रा डे’ मा भने बजार प्रतिशतभन्दा धेरैले घटेको थियो । ‘इन्ट्रा डे’ मा बजार १४८ अंकले घटेर २७८० विन्दुमा पुगेको थियो । इन्ट्रा डे कारोबारमा हालसम्मकै उच्च गिरावट देखिएको हो । बजार बन्द हुँदा भने गत वर्ष मंसिर २१ मा नेप्से परिसूचक १२३ अंकले घटेको थियो ।
यता सेन्सेटिभ परिसूचक १९.७६ अंकले घटेर ४२२.०१ बिन्दुमा पुगेको छ । आज कुल २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर खरिदबिक्री गर्दा ११ अर्ब २४ करो ३ लाख ९१ हजार ४५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आइतबार कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर घटेको छ । आज एक दर्शन कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
नेपाल राष्ट्र बैंकले गत भदौ ८ गते मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका जारी गर्दै सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सीमित गरेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका सार्वजनिक गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए । योसँगै सेयर बजार निरन्तर आरालो लागिरहेको छ।
बजार आरालो लागेसँगै लगानीकर्ताहरु आक्रोशित बनेका छन् । नेपाल राष्ट्र बैंकबाट पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समयमा नियोजित रुपमा तयार गरिएका नीति कार्यक्रममा र कार्यनीतिहरुले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर अधिकारीको राजीमाना माग समेत गरेका छन् ।
केही लगानीकर्ताहरुले भने बजारमा बियरिस ट्रेन्डको सुरुवात भएको पनि संज्ञा दिन थालेका छन् । कतिपयले बजार अझै घट्ने अनुमान लगाउँदै अतालिएर बाहिरिन थालेका छन् भने कतिपय लगानीकर्ता भने पर्ख र हेरको अवस्था रहेका छन् ।
के सेयर बजार बियरिस ट्रेन्डमै गएको हो त ? यसबारे हामीले सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्याललाई प्रश्न गर्दा घट्ने र बढ्ने बजारको नियम नै भएकोले बजारमा करेसक्सन देखिएको उनले बताए । उनले भने, “केहि समयको लागि चाहिँ बजारमा केहि तलमाथि हुने भएकोले बियरिस ट्रेन्डतिर लागे जस्तो देखिएको हो, बजार पूरै बियरिस तिरै गइसक्यो भन्न मिल्दैन्, यो बजारको करेक्सन हो, २५ सयको विन्दुमा आयो भने पनि हामी सरप्राइज हुनुपर्ने आवश्यक छैन बजार फेरि बढ्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया